महिला स्वयंसेविकालाई गाउँपालिकाको ६ हजार मासिक तलब

कालिकोट । जिल्लाको पलाता गाउँपालिकाले महिला स्वयंसेविकलाई मासिक ६ हजार तलब दिने भएको छ । यसअघि उनीहरूले एक खोप दिएबापत दुई सय पचास रुपयाँ पाउँदै आएका थिए । 

गाउँपालिकाले अबदेखि महिला सयंसेविकलाई मासिक रुपमै तलब दिने भएको हो । अबदेखि उनीहरुलाई मासिक तलब दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । 

‘हामी एक खोप लगाएबापत दुई सय पचास रुपैयाँ पाउँथ्यौं, गाउँपालिकाले अबदेखि मासिक रूपमा तलब दिने भएपछि काम गर्ने हौसला बढेको छ,’ वडा नम्बर ४ की महिला स्वयंसेविका सौपन्ना महताराले भनिन् । पहिलो गाउँ जाँदा स्वयंसेविका आइन् भनेर कुरा काट्नेहरू अहिले सरकारी कर्मचारीलाई जस्तो व्यवहार गर्ने गरेको वडा नम्बर ९ महिला स्वयंसेविका कृष्णा बमले बताइन् । 

गाउँपालिका अध्यक्ष बमका अनुसार मासिक ६ हजार तलब पाउने स्वयंसेविकाले दैनिक दुई घन्टा स्थानीय स्वास्थ्यकर्मीसँगको सहकार्यमा काम गर्नुपर्ने हुन्छ । उनले भने, ‘गाउँपालिकाको हरेक टोलमा स्वास्थ्य कार्यक्रम प्रभावकारी बनाउन यो योजना सुरु गरेका हौं ।’   

गाउँपालिकाभर अहिले ३० जना महिला स्वयंसेविका छन् । उनीहरूले मासिन ६ हजार तलबापत दैनिक दुई घन्टा स्थानीय स्वास्थ्यकर्मीसँग काम गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर