गंगालाल हृदयरोग केन्द्रको जनकपुरधाममा शाखा विस्तार

एक अर्बभन्दा बढीको लागतमा अत्याधुनिक अस्पताल निर्माण गरिने : उपप्रधानमन्त्री यादव

जनकपुरधाम । सहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौंले प्रादेशिक शाखा विस्तार गर्ने क्रममा जनकपुरधाममा शाखा विस्तार गरेको छ । काठमाडौँबाहिर पनि हृदयरोगको उपचार सहज रूपमा होस् भन्ने उद्देश्यले जनकपुरधाममा शाखा विस्तार गरिएको हो । 

जनकपुर अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रमबीच पहिलो शाखाको रूपमा विस्तार गरिएको शाखाको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् । हृदयरोग केन्द्रको शाखाको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले जनकपुरधाममा बन्न लागेको हृदयरोग केन्द्र अस्पताल निकट भविष्यमै अत्याधुनिक सुविधासम्पन्न अस्पताल बन्ने विश्वास व्यक्त गरेका छन् । प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था देशमै सबैभन्दा खराब रहेको अवस्थामा यो हृदयरोग केन्द्र खुल्नु सुखद रहेको उनले बताए । 

मन्त्री यादवले प्रदेशमा कुपोषण, बाल मृत्युदर, मातृ मृत्युदर, नसर्ने रोगको रोगीहरु संख्या अत्यधिक हुनुमा प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था राम्रो नहुनु नै कारक रहेको बताए । प्रदेशमा अस्पताल मात्र खोलेर हुँदैन यहाँका स्थानीयवासीले आफ्नो आचरण र खानपिनमा समेत सुधार ल्याउनुपर्ने उनको भनाइ थियो । 

उपप्रधानमन्त्री यादवले जनकपुरधाममा निकट भविष्यमै मेट्रिनी अस्पतालको निर्माण गरिने घोषणासमेत गरे । उनले यसका लागि सरकारले १ अर्ब २५ करोड रुपैयाँ छुट्याइसकेको र जग्गा अधिग्रहणको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । उनले प्रदेश सरकारलाई जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल र प्रदेशको पूर्वी जिल्लामध्येको एक जिल्ला र पश्चिमको वीरगन्जमा एक–एकवटा विशिष्टीकृत अस्पताल निर्माणका लागि योजना बनाएर अगाडि बढ्न आग्रहसमेत गरे । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने लक्ष्यअनुरूप अगाडि बढिसकेको जानकारी दिएका छन् । उनले यसका लागि चाँडै नै मन्त्रिपरिषद्बाट निर्णयसमेत गरिने जानकारी दिए । अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । 

प्रदेशमा चिकित्सकहरूको अभाव रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दरबन्दी खडा गरेर पनि चिकित्सक अभाव हुन नदिने दाबी गरे । तर, चिकित्सक अभाव रहेको नाउँमा जथाभावी जोकोहीलाई पनि नराख्न निर्देशनसमेत दिए । 

सहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौँका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेशका मन्त्रीहरू नवलकिशोर साह, ज्ञानेन्द्र यादव, विजय यादवलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर