• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अमेरिकी प्रतिबन्धका बाबजुद हुवावेको आम्दानीमा २३ प्रतिशत वृद्धि

एजेन्सी । प्रविधिको उत्कृष्टताको दौडमा चीन विश्वमै सबैभन्दा ठूलो फाइभ–जी नेटवर्क स्थापना गर्न आफूलाई सबैभन्दा अघि रहेको प्रमाणित गर्ने क्रममा छ । 

अमेरिकी प्रतिबन्धका बाबजुद पनि चिनियाँ कम्पनी हुवावेले  पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि गरेको छ ।

मंगलबार सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले बढोत्तरी भएको हो ।

अमेरिकी प्रतिबन्ध तथा अन्य पश्चिमा मुलुकहरुले समेत हुवावेका सेवा तथा उत्पादनको प्रयोगमा कडाइ गरिरहेको अवस्थामा समेत हुवावेको आयमा वृद्धि हुनुलाई सकारात्मक मानिएको छ ।

यही वर्षदेखि त्रैमासिक आर्थिक विवरण सार्वजनिक गर्न थालेको हुवावेका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा कम्पनीले ४ खर्ब १ अर्ब ३० करोड युआन अर्थात् ५८ अर्ब २८ करोड अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ । सन् २०१८ को पहिलो अर्धवार्षिकमा हुवावेले ३ खर्ब २५ अर्ब ७० करोड आम्दानी गरेको थियो ।

त्यस्तै यो वर्षको प्रथम अर्धवार्षिकमा हुवावेका ११ करोड ८० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी  हो ।

गत मे महिनाको मध्यबाट अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेसँगै हुवावेको आपूर्ति श्रृंखलामा उल्लेख्य रुपमा अवरोध आएको थियो । 

चीनले हुवावेका उपकरणलाई अन्य देशको जासुसीका लागि प्रयोग गरिरहेको हुनसक्ने र यसले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको आरोप अमेरिकाले लगाउने गरेको छ । तर, हुवावेले यी आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर