मैथिल महिलाहरुको पर्व मधुश्रावणी पर्व सम्पन्न

जनकपुरधाम । मैथिल नवविवाहिता महिलाहरुले मनाउने मधुश्रावणी पर्व टेमी विधि संगै आज सम्पन्न भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो वर्षमा मनाइने गरिन्छ । 

पर्वको अन्तिम दिन आज टेमी विधिसंगै सम्पन्न भएको हो । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । 

सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढिवादी परम्परामा आधारित भएको देखिएपनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यताको प्रतीकको रुपमा मानिन्छ । टेमी विधिले डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ ।

तेह्र दिनसम्म मनाइने यस पर्वमा विभिन्न गीत गाउँदै साथीहरूसँगै फूलबारीमा फूल टिप्दै पर्व मनाउने गर्छन् ।

वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिको प्रतीक भएकाले यो पर्वमा मुख्यतया शिव, पार्वती तथा नाग–नागिनको पूजा गरिन्छ । 

साउन महिनाको मौना पञ्चमीदेखि शुरु भएको यो पर्व साउन तृतीया तिथिका दिन समापन हुन्छ । यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिले मनाएका छन् । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथाहरु नवविवाहिता महिलाहरुलाई सुनाइने गरिन्छ । 

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद एवं मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले बताए  । 

१३ दिनसम्म मनाइएकमो यो पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मंगला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गंगा उत्पत्ति, गौरीको जन्म र कामको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बाल वसन्त र गोसाउनीको कथा, राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा सुनाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर