डिडिसिको दूध संकलमा गिरावट, दूध अभावले पाउडर उत्पादन बन्द  

विराटनगर । निजी डेरी उद्योगहरुले किसानलाई बढी मूल्य दिएर दूध किन्न थालेका छन् । दूधको उत्पादनमा गिरावट आएपछि निजी डेरीले प्रतिलिटर ३ रुपियासम्म बढी मूल्य दिएर खरिद गरिरहेका छन् । अतिरिक्त मूल्य दिएपछि कतिपय किसानले दुग्ध विकास संस्थानलाई दूध बेच्न छोडेका छन् । जसले गर्दा डिडिसिले संकलन गर्दै आएको दूधको परिमाण घटेको छ । 

दूध विकास संस्थानको विराटनगरमा रहेको दुग्ध वितरण आयोजनामा पनि दूध संकलन घटेको छ । देशैभरि दूध संकलनमा गिरावट आएपछि विराटनगरको पाउडर प्लान्टबाट पाउडर उत्पादन बन्द गरिएको छ । पाउडर उत्पादनकालागि यस क्षेत्रबाट संकलन हुने दूधले मात्र पुग्दैन ।

त्यसकालागि बुटवल र हेटौंडाबाट दूध ल्याउने गरिएको थियो । तर यति बेला काठमाण्डौ र हेटौंडाको माग पुरा गर्न विराटनगरले कच्चा दूध नै त्यस तर्फ निर्यात गर्नुपरिरहेको छ । 

चितवन, मकवानपुर, काभ्रे र भक्तपुर जिल्लाका किसानहरुको दूध काठमाण्डौ वरिपरिका डेरी उद्योगहरुले बढी मूल्यमा खरिद गरिरहेको संस्थानले जनाएको छ । प्रदेश १ का झापा, सुनसरी र मोरङमा रहेको निजी डेरीहरुले पनि अतिरिक्त मूल्यमा दूध किनेपछि अघिल्लो वर्षको तुलनामा संस्थानको संकलन अझ घटेको छ ।

‘अन्यत्रको तुलनामा विराटनगर आयोजनाको कभरेज एरियाबाट हुने संकलनमा थोरै मात्र गिरावट आएको छ,’ विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख निलकण्ठ गौतमले भने–‘अहिले विराटनगर आयोजनाले दैनिक ३० हजार लिटर दूध संकलन गरिरहेको छ ।’ 


विराटनगर आयोजनाले संकलन गरेको दूध यतिबेला धनुषाको ढल्केवर, हेटौंडा र काठमाडौं पठाइरहेको आयोजना प्रमुख गौतमले जानकारी दिए । ढल्केवरमा दैनिक ६ हजार लिटर, हैटौंडामा दैनिक ७ हजार लिटर र काठमाडौंमा दैनिक ९ हजार लिटर दूध पठाउदै आएको विराटनगर आयोजनाका प्रमुख गौतमले बताए । ‘हामीले जनकपुर, हेटौंडा र काठमाण्डौको आवश्यकता पुरा गर्न त्यता दूध पठाइरहेका छौं,’ उनले भने–‘असोज महिनासम्म दूधको अभाव नै हुन्छ त्यसपछि भने उत्पादन बढ्छ ।’

चैत्र महिनादेखि भदौसम्म दूध उत्पादनकालागि प्रतिकुल मानिन्छ । भदौ पछि गाई ब्याउने याम सुरु हुन्छ र उत्पादन पनि बढ्छ । 

भारत तथा तेस्रो मुलुकबाट भइरहेको पाउडर दूधको आयात रोकिएका कारणले पनि डिडिसिको दूध संकलनमा प्रभाव परेको छ । निजी डेरी उद्योगहरुले विगतमा पाउडर घोलेर बिक्री गर्ने गरेकोमा यस पटक किसानलाई बढी मूल्य दिएरै कच्चा दूध किनेका छन् । डिडिसिले माग अनुसार पाउडर उपलव्ध गराउन सकेको छैन । त्यसको प्रभावले गर्दा पनि दूध संकलन घट्न गई पाउडर प्लान्ट बन्द गर्नुपर्ने अवस्था आएको हो । प्रतिकुल समय मानिने यो अवधिमा दूधको उत्पादन घट्ने भएपनि अघिल्ला वर्षहरुको तुलनामा निकै बढी गिरावट अएको छ । विराटनगरमा अघिल्लो वर्षको अफ सिजनमा ४० हजार लिटर हाराहारीमा संकलन भइरहेको थियो तर अहिले घटेर ३० हजारमा झरेको छ । 

दुग्ध विकास संस्थानसँग यतिबेला धुलो पाउडर दूधको मौज्दात पनि निकै कम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ७ सय मेट्रिक टन धुलो दूध मौज्दात रहेकोमा अहिले मुस्किलले २ सय मेट्रिक टन मात्र छ । काठमाण्डौको माग धान्न भदौ र असोजसम्म पाउडर घोल्नु पर्ने अवस्था विद्यमान छ । डिडिसिसँग यतिबेला झण्डै ४ सय मेट्रिक टन बटर मोज्दात रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर