• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

धनुषाधाम : रामले तोडेको ‘धनुष’को टुक्रा झरेको ऐतिहासिक स्थल

जनकपुरधाम । त्रेता युगमा भगवान रामले सीता स्वयम्वरमा भगवान शिवको धनुष तोडेका थिए । भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजे पछि तीन टुक्रा भएको थियो । एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ । 

पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल हो धनुषाधाम । 

प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामबाट १५ किलोमिटरको दुरीमा रहेको धनुषाधाममा अवस्थित ‘धनुष मन्दिर’ पर्यटकीय दृष्टिले एकदमै महत्वपूर्ण स्थल हो । सोही स्थलका कारण यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भनिन्छ । धनुष मन्दिरमा दैनिक सयाँैको संख्यामा पर्यटकहरु पुग्नेगर्छ ।

त्रेता युगको इतिहास बोकेको सो स्थलको दर्शनका लागि नेपाल भारतको विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गर्छन् । शुरुमा खुल्ला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थल एक दशक अगाडी मात्रै मन्दिरको स्वरुप प्राप्त गरेको मन्दिरका महन्थ भरत दासले बताए । स्थानीय केही व्यक्तिहरुको व्यक्तिगत सहयोगबाट मन्दिर निर्माण गरिएको थियो ।

धनुष झरेको स्थलमा कालो सिमेन्ट झै ढुंगा झरेको देखिन्छ । धनुषको सो टुक्रा दिन दिनै बढ्दै गईरहेको शुरुमा सानै आकार रहेको सो टुक्रा अहिले सय मिटरसम्म फैलि सकेको छ । टुक्रा किन फैलि रहेको छ भन्ने अहिलेसम्म रहष्यमय नै छ ।  कालो ढुंगा जस्तै देखिने सो टुक्रा के हो भन्ने पुष्टी अहिलेसम्म वैज्ञानिकहरुले गर्न सकेका छैनन् । त्यो टुक्रा न ढुंगा, न काठ वा न त कुनै धातु नै रहेको अनुसन्धानबाट खुलेको थियो । 

धनुषाधाममा झरेको कालो शिलामाथि अहिले विशाल पिपलको बोट छ । सो पिपलको बोट ५ सय वर्षभन्दा बढी पुरानो रहेको स्थानीयवासीहरुको भनाई छ । सो पिपलको बोट मुनी नागको वास छ भन्ने किम्बदन्ती रहेको महन्थ दासले बताए । उनका अनुसार अमावस्याको राती धनुष मन्दिर हरियो रंगले चम्किरहेको हुन्छ । पिपलको बोट मुनी वास गरिरहेको नाग मणि सहित अमावस्याका राति बाहिर आउने गरेकोले मन्दिर चम्किने गरेको महन्थ भरत दासले बताए । 

मन्दिर भित्रै रहेको पिपलको बोटकै छेउमा सानो कुण्ड रहेको छ । सानै आकारको सो कुण्डको नाम पाताल गंगा छ । पाताल गंगाले प्रकृति र यो वर्ष कस्तो रह्ने भन्ने संकेत गर्छ । पानी धरती सतह भन्दा माथी हुन्छ भने वर्षभरी शुभ रह्ने र धरती सतहभन्दा पानी तल हुँदा अनिष्टको संकेत गर्दछ महन्थ भरत दासले बताए । यस वर्ष पानीको सतह तल रहेकोले अनिष्टको संकेत गरिरहेको बताए ।

हजारौ वर्षको इतिहास बोकेको सो  मन्दिरको सौन्दर्यीकरण तथा संरक्षणका लागि कुनै स्तरबाट पहल नभएको देखिन्छ । महन्थ दासले देश संघियतामा गएपनि स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्र सरकारले यस मन्दिरप्रति उदासिन रहेको आरोप लगाए । 

स्थानीय देवनारायण मण्डलले यो मन्दिरको संरक्षण एवं सम्बद्र्धन गर्न सकियो भने धनुषा जिल्ला वा प्रदेश दुईको मात्र नभई नेपालकै उत्कृष्ट गन्तव्य स्थलको रुपमा विकसित हुने दावी गरे । 

कसरी भयो पिनाक 'धनुष'को निर्माण
सत्ययुगको समयमा त्रीपुरा नामक दैत्यका कारण सबै आक्रान्त थिए । देवताहरु पनि त्राही त्राही गरिरहेका थिए । त्रीपुरा दैत्यको तीन ठाउँमा वास थियो । उसलाई भगवान शंकरले एउटै वाणबाट तीनै स्थलमा हत्या नगरेसम्म मृत्यु नहुने वरदान दिएका थिए । जस कारण उ अमरत्व नै प्राप्त गरि सकेको थियो । देवताहरु आफ्नो रक्षाका लागि भगवान शंकर समक्ष पुगे । भगवान शंकरले नै त्रीपुरा दैत्यको बध गर्नका लागि दधिची ऋषिको हाडबाट तीन अस्त्र निर्माण गर्न अढाएका थिए । 

विष्णु पुराणका अनुसार दधिची ऋषिको हाडबाट तीन अस्त्रको निर्माण गरिएको थियो । मेरुदण्डको हाडबाट बज्रको निर्माण गरियो जो ईन्द्रलाई दिइयो । भूजाको हाडबाट सारंग धनुष निर्माण गरियो र मस्तकको हाडबाट पिनाक धनुषको निर्माण गरियो जो स्वयं भगवान शिवले राखे । 

उनले पिनाक धनुषकै सहायताले त्रिपुरासुर संग्राममा विजय प्राप्त गरेका थिए ।  सो धनुष पछि शिवले प्रसन्न भएर परशुरामलाई दिएका थिए । धरतीमा क्षत्रीयहरुको अत्याचार बढ्न थालेपछि परशुरामले सोही धनुषबाट २१ पटक क्षत्रियहरुको बध गरेका थिए । पछि सो धनुष मिथिलाका राजा जनकलाई रक्षार्थ दिएका थिए । 

सो धनुष माता सीताले बायाँ हाथबाट उठाएपछि राजा जनकले सो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पुरुषलाई नै छोरी दिने प्रण गरे । पछि सीता स्वयम्बरमा रामले उक्त धनुषमा प्रत्यंचा चढाउन खोज्दा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वरम, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरधामको धनुषधाम क्षेत्रमा झरेको विश्वास छ । धनुषको टुक्रा पातालमा झरेको स्थल जनकपुरधाममा अहिले सो स्थलमै धनुषसागर पोखरी छ । धरतीमा टुक्रा झरेको स्थलमा नै अहिले धनुष मन्दिर रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर