• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जाे शरणार्थी शिविरमा कष्टसाथ बाँचिरहेका छन्

झापा । ‘उमेरजति सन्तानको स्याहारसुसारमै बित्यो । उमेर ढल्किँदै गयो र सन्तानको स्याहार पाउने बेला भयो, तब एक्लै परियो,’ झापाको दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पुग्दा ८६ वर्षीय पूर्णबहादुर लिम्बूले यसरी दुखेसो पोखे ।

तीन दशकदेखि भुटानी शरणार्थी शिविरमा जीवन बिताइरहेका पूर्णबहादुर अहिले भने एक्लो भएको महसुस गरिरहेका छन् । बुढेसकाल बढ्दै गएपछि उनको पीडा पनि थपिँदै गएको छ । जीवनमा साथ दिने श्रीमतीको निधनपछि उनी अहिले एक्लै जीवन बिताइरहेका छन् । 

‘छोराले पनि छाडेर गयो, श्रीमतीले पनि संसार छाडी, जसोतसो एक्लै जीवन बिताइरहेको छु,’ पूर्णबहादुरले मधुरो स्वरमा आफ्नो पीडा सुनाए, ‘सके पकाएर खान्छु, नसके भोकै सुत्छु, यसरी नै सास अल्झिरहेको छ ।’ पूर्णबहादुरका छोरीहरू भने भुटानमै छन् । 

त्यस्तै, शिविरमा एक वृद्धा पनि त्यस्तै जीवन बाँचिरहेकी छिन् । शारीरिक रुपमा असक्त उनी राम्रोसँग बोल्नसमेत सक्दिनन् । उनको नाम कृष्णमाया खड्का रहेको छिमेकीले बताए । 

शरणार्थी शिविरमा यस किसिमको पीडा पूर्णबहादुरको मात्र होइन, शिविरमा रहेका भुटानी शरणार्थीमध्ये अशक्त, वृद्धवृद्धा तथा एक्लै बस्नेहरूको दैनिकी यसरी नै कष्टकर बन्दै गएको छ । सन्तानको स्याहारसुसार पाउने बेलामा धेरै वृद्धवृद्धा एक्लो जीवन बिताउन बाध्य छन ।

एक लाख १३ हजारभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना भएर बाँकी रहेका ६ हजार ६ सय ३४ शरणार्थीमध्ये ७ सय ३५ जना अपांगता भएका, आफन्त नभएका, असक्त तथा वृद्धवृद्धा छन् । उनीहरूका कोही आफन्त भुटानमै छन् । कोही तेस्रो मुलुक पुनःस्थापना कार्यक्रममार्फत अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुक पुगिसकेका छन् ।

आफन्त तथा परिवारका सदस्यबाट टाढिएका यी वृद्धवृद्धा शरणार्थीको दिनचर्या निकै नाजुक अवस्थामा पुगेको छ । तेस्रो मुलुक पुनःस्थापित भएका आफन्तले खोजखबरसमेत नगरेको उनीहरूको गुनासो छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर