• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मिथिलाञ्चलमा झुलनाेत्सवको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका मठमन्दिरमा अहिले झुलनोत्सवको रौनक बढेको छ । जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइँदै छ । हरेक वर्षझैँ यो वर्ष पनि सनातन हिन्दू धर्मावलम्बी मठमन्दिरमा धुमधामका साथ झुला महोत्सव मनाइरहेका छन् । 

मिथिलाञ्चल क्षेत्र, भारतको विहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिरलगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाही जिल्लामा धुमधामसाथ झुलनोत्वसव पर्व मनाइने गरिन्छ ।

साउन शुक्ल तृतीयाबाट सुरु हुने झुलनोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुलनाेत्सवमा विशेषगरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । यस उत्सवमा जनकपुरधामका मन्दिरहरूबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ ।

यस पर्वमा भगवान् राम–जानकीलाई झुलामा राखी झुलाइने गरिनुका साथै नाटक, नाचगान, भजनकीर्तन र विभिन्न लोककथा सुनाइने गरिन्छ । 

रत्नसागर मन्दिरको झुला नाच सबैभन्दी बढी प्रसिद्ध रहेको यहाँका महन्थ वैकुण्ठ दास वैष्णव बताउँछन् । झुला र नाच हेर्नका लागि साँझ पर्नेबित्तिकै मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्दछ । महोत्सवभर जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोकगीत झुला र कजरी गाइन्छ । 

कसरी सुरु भयो झुल्नोत्सव ? 

जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासले गरेको बताइन्छ । दासको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिर स्थापना भएको र विभिन्न उत्सव मनाइने सुरु गरिएको बताइन्छ । सुरकिशोर दास माता जानकीलाई पुत्री मान्दथे । उनी कहिलेकाहीँ माता जानकीसँग कुराकानी गर्थे भन्ने जनविश्वास छ । 

माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेको बताइन्छ । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ वृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ । 

साओनमे उपवन वन फूले 
झुला झुले नन्दकिशोर 
कदमक डारीमे लागल हिडोला 
झहरय नभ घनघोर 

धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन गरे झुलाको प्रारम्भलाई संकेत गरिन्छ । साधुसन्त खुला चौर वा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् । 

जनकपुरधाममा झुलाको आकर्षण

मिथिलाञ्चलमा धान रोपाइँ सकिनेबित्तिकै झुला उत्सवको रौनकता सुरु हुन्छ । यस क्रममा हरेक मठ–मन्दिरमा कजरी र मलारजस्तो धार्मिक महत्त्व झल्किने गीत कर्णप्रिय आवाजमा सुन्न सकिन्छ । 
यस झुल्नोत्सवमा युवतीहरूले झुलाको गीत गाउने र भगवान्को पूजाअर्चना गरेपछि भक्तजनलाई पूmलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ । मिथिलाञ्चलका मठमन्दिरमा साउन महिनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रूपमा सम्पन्न गर्ने धार्मिक परम्परा छ ।

झुलनोत्सव अवर्णीय र अकथनीय रहेको छ । यसले एकातर्फ मानिसलाई आनन्दको अनुभूति गराउँछ भने अर्काेतर्फ हृदयलाई भक्तितर्फ ओतप्रोत गराउँछ भन्ने जनविश्वास छ । जनकपुर एवं मिथिला क्षेत्रको हरेक मठमन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर एवं राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु बन्ने गर्छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम–सीताको मूर्ति राखेर झुला झुलाउने परम्परा छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर