• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रचण्ड छोडेर वामदेव फेरि ओली कित्तामा !

काठमाडौं । प्रायःजसो गुट र उपगुटका शृंखला चल्नु नेपाली राजनीतिक दलहरूका लागि सामान्य नै भइसक्यो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा त शीर्ष तहका नेताहरूको आ–आफ्नै खेमाका विषयमा विभिन्न समाचार आइरहेका हुन्छन् । पार्टी एकताको काम पूर्ण रूपमा सम्पन्न नहुँदै नेताहरू कहिले यो त कहिले त्यो गुटमा प्रवेश गरेको कुराले नेकपाभित्र चर्चा पाएको छ ।

गुट–उपगुटको दलदलबाट माथि उठ्न नसकेको नेकपामा फेरि एक नयाँ अवस्था उत्पन्न भएको छ । पूर्वपर्यटनमन्त्री तथा कास्की जिल्लाबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको निधनपछि कास्की क्षेत्र नम्बर २ को सांसद पद रिक्त छ । 

नेकपा सचिवालय सदस्यसमेत रहेका बर्दिया १ बाट पराजित वामदेव गौतमको नाम बेलाबेलामा चर्चामा आउने गर्दछ । गौतमको नाम कहिले काठमाडौं ६ त कहिले डाेल्पा बाट चुनाव लड्ने चर्चा चलिसकेका छन् ।

नेकपाका प्रभावशाली नेतासमेत रहेका गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक कास्कीबाट चुनाव लड्न सुझाएका छन् । पछिल्लोपटक बसेको सचिवालय बैठकमा नेता गौतमलाई कास्कीबाट चुनाव उठ्न प्रधानमन्त्रीले नै आग्रह गरेको बालुवाटारनिकट स्रोतको दाबी छ । 

सरकारमाथि भइरहेको निरन्तरको प्रहार, नेकपाभित्रका आन्तरिक राजनीतिमा खेप्नुपर्ने अल्पमतको दबाब तथा आफूविरोधी खेमालाई कमजोर बनाउने रणनीतिस्वरूप प्रधानमन्त्री ओलीले नेता गौतमलाई कास्कीबाट संसद् भवन प्रवेश गराउने प्रस्ताव गरेका हुन् ।

केही दिनअघि निर्वाचन आयोगले उपनिर्वाचनका लागि गरेको सिफारिस र पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोकेसँगै यतिबेला वामदेव पुनः चर्चामा आएका छन् । 

रवीन्द्र अधिकारीकी पत्नी विद्यालाई राष्ट्रियसभामा ल्याउने तयारी

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई राष्ट्रियसभामा ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ । नेकपानिकट स्रोतका अनुसार  रवीन्द्रको निर्वाचन क्षेत्र कास्की २ बाट वामदेवलाई लड्न लगाएर प्रधानमन्त्री ओली पार्टीभित्र आफू बलियो हुने अनुमान गरेका छन् । 

विद्याले यसअघि प्रतिनिधिसभाकै लागि चासो देखाए पनि अध्यक्ष ओलीले उनलाई राष्ट्रिय सभाको आश्वासन दिएका छन् । चुनाव लडेर जित्नुपर्ने राष्ट्रिय सभामा अहिले भने कुनै पनि पद खाली छैन । दुई वर्ष कार्यावधि रहेका सांसदको समयावधि सकिएर खाली भएको पदमा हुने निर्वाचनमा विजयी भएर सांसद हुने व्यवस्था छ ।

विद्यार्थी राजनीतिमा सक्रिय भएकी विद्यालाई राष्ट्रियसभामा प्रवेश गराउनु, वामदेवलाई संसदभित्र छिराउने प्रस्तावस्वरूप आफैंले निर्वाचनमा उठ्न प्रस्ताव गर्नु, योगश भट्टराईलाई आफ्नो क्याविनेटमा प्रवेश गराउनुजस्ता विषयले पछिल्लो समय प्रधानमन्त्री ओली आफ्ना खेमाका नेता तथा कार्यकर्ताको व्यवस्थापन गरेर आफू बलियो हुने दाउमा रहेको नेकपाका तल्लो तहका नेताहरू विश्लेषण गर्दछन् । 

योगशलाई मन्त्री बनाउनुको अभिप्राय नै आफ्ना खेमाका आलोचकहरूलाई बिस्तारै मनाउन थाल्नु हो भन्छन् नेकपाका एक नेता । पछिल्लो समय प्रचण्डनिकट भएका भनिएका वामदेव यतिबेला ओलीको प्रस्ताव मान्न लगभग तयार हुनुले नेता गौतम फेरि ओली कित्तामै गएको बताइएको छ ।  

प्रचण्डनिकट एक नेताले भने ओलीलाई वामदेवले सजिलै विश्वास नगर्ने तर्क गरे । पूर्वएमाले नै छँदासमेत वामदेव गौतमलाई कार्यबाहक अध्यक्ष दिन्छु भनेर ओली–गौतमको गठबन्धन बनेको थियो । सोही गठबन्धनको मतमा ओली अध्यक्षमा विजयी भए । तर, वामदेवले कहिल्यै पनि कार्याबाहकको जिम्मा नपाएपछि उनी रिसाएर पार्टी एकतासँगै प्रखण्ड खेमामा पुगेका थिए ।

सार्वजनिक रूपमा समेत सरकार र पार्टीभित्रको राजनीतिमा प्रचण्डको लाइन बोल्ने गरेको वामदेव पछिल्लो केही दिनयता मौन छन् । उनले जबजलाई समेत स्वीकार गरेर अघि जानुपर्ने कुरादेखि सरकारका कामको आलोचना गरेका छैनन् ।

वामदेवनिकट एक नेता भन्छन्, ‘गौतममा एकपटक प्रधानमन्त्री हुने ठूलो रहर छ, अहिले नभएपछि कठिन हुने विश्लेषण गरेर नै जसरी हुन्छ प्रतिनिधिसभामा छिर्ने प्रपञ्चमा गौतम लागेका छन् ।’ 

कास्कीमा रहेर एमालेको पुरानो राजनीति गरेका एक विश्लेषक भन्छन्, ‘वामदेवलाई कास्की २ को उम्मेवार बनाउने प्रस्ताव स्थानीय पार्टीले गर्नै सक्दैन । गरिहाल्यो भने पनि गौतमले जित्न सक्दैनन् । प्रचण्ड खेमा पनि रिसायो र रवीन्द्रको निधनको सेन्टिमेन्ट पनि भत्कियो भने सो क्षेत्रबाट कांग्रेसले जित्न सक्छ ।’

नेकपाका स्थानीय नेता–कार्यकर्ताको चाहना भने रवीन्द्रपत्नी विद्या नै उम्मेदवार बनाउने छ । यसो गर्दा नेकपाका उम्मेदवारले सजिलै जित्ने पोखराका नेकपा नेता–कार्यकर्ताको दाबी छ । 

वामदेव–प्रचण्ड–माधव भेट

स्रोतका अनुसार नेकपाका अध्यक्ष प्रचण्डसँग नेता गौतमले हालसालै भेटघाट गरेका छन् । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव र आफ्नो चाहनाको बारेमा प्रचण्डसँग वामदेवले खुलेर छलफल गरेका हुन् । खुमलटार स्रोत भन्छ, ‘भेटमा नेता गौतमले अध्यक्ष दाहालसँग परामर्श मात्र गरेनन्, आफू कास्की २ नम्बर क्षेत्रबाट चुनाव लड्न पनि तयार भएको बताए ।’

सो कुरा सोमबार बिहान वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा प्रचण्डले सुनाएका थिए । 

ओली खेमामा आफ्नै चर्चा

प्रधानमन्त्री ओलीले  सिंगापुर प्रस्थान गर्नुपूर्व वामदेवलाई भेटेर आफ्नो खेमाको पकड बनाउन सफल भएको कतिपय नेताका दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली, नेकपाका महासचिव विष्णु पौडेल, नेता गौतम, उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल र व्यवसायी दीपक भट्टसहितको एक बैठकले गौतमको उम्मेदवारीको टुंगो लगाएको हो ।

प्रचण्ड विद्यालाई उम्मेदवार बनाउनुपर्ने पक्षमा 

नेकपाका अध्यक्ष प्रचण्ड भने कास्की २ को उम्मेदवार रवीन्द्रपत्नी विद्यालाई नै बनाउन उचित हुने तर्क गर्छन् । गत फागुन २७ गते प्रेस संगठन पोखराले आयोजना गरेको एक पत्रकार सम्मेलनमा समेत प्रचण्डले यसबारे प्रस्ट बोलेका थिए । 

प्रचण्डले भनेका थिए, ‘कास्की २ मा उपनिर्वाचनबारे पार्टीमा औपचारिक रूपमा कुरा भइसकेको छैन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘सञ्चारमाध्यममा वामदेवजीको सन्दर्भ पनि आएको सुनेँ । उहाँले आफू नउठ्ने भनेर सबैलाई स्पष्ट पारिसक्नुभएको छ, वामदेवजीबारे पार्टीमा कुनै चर्चा चलेको छैन ।’ 

प्रचण्डले रवीन्द्रको परिवार पनि राजनीतिक भएकाले त्यहीँबाटै उम्मेदवार उठाउन सकिने बताएका हुन् । ‘कास्की जिल्लाका साथीहरूले पनि उचित उम्मेदवारको नाम सिफारिस गर्नुहोला । परिवारको सदस्यबाटै जाँदा उपयुक्त हुन सक्छु,’ प्रचण्डले भने, ‘उहाँको परिवार पनि राजनीतिक पृष्ठभूमिको हो । नेतृत्व गर्न सक्ने उहाँकै जीवनसँगिनी विद्याजी पनि हुनुहुन्छ । यी सबै कुरा विचार गरेर पार्टीले उपयुक्त निर्णय लिनेछाैं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर