प्रदेश १ का आदिवासी नेता भन्छन्– प्रदेशको नामांकनमा सबैको भावना समेट

झापा । झापाका आदिवासी नेताहरूले प्रदेश १ को नामकरण सबैको भावनाको सम्मान हुने गरी सहमतीय प्रणालीबाट गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

प्रदेश नम्बर १ प्रदेशवासीको इतिहास, भूगोल, संस्कृति, सभ्यता र पहिचानलाई आधार मानेर यस क्षेत्रका आदिवासी जनजातिलगायत सबैको भावनाको सम्मान हुने गरी प्रदेशको नामकरण गर्नुपर्ने उनीहरूको निष्कर्ष छ ।

बिहीबार बिर्तामोडमा भएको छलफलका सहभागी नेताहरूले किरात, कोच, लिम्बुवान, मोरंगिया पहिचान पक्षधरलाई एकै ठाउँमा राखेर संवादमार्फत साझा एजेन्डा तयार गरी सहमतिबाट प्रदेशको नामांकन गर्नुपर्ने विकल्पसमेत प्रस्तुत गरेका छन् ।

छलफलमा सहभागी अधिकांश नेताले प्रदेशको नाम ‘किरात’ राख्दा सबैको भावना समेट्ने बताए । त्यस्तै ‘मोरङ–किरात’, ‘कोचिला’ तथा ‘कोचिला–किरात’ नाम राख्नुपर्ने सुझावसमेत दिइएको छ । केही नेताले ‘कञ्चन–सगरमाथा’को नामसमेत प्रस्ताव गरेका छन् ।

किरात, लिम्बुवान, कोचिला, मोरङजस्ता नाम कुनै जातविशेषको नभई भूगोल, इतिहास, पहिचान र सभ्यतासँग  जोडिएको नाम भएको उनीहरूले दाबी गरे । प्रदेश सरकारले प्रदेशको नामकरण छलफल र सहमतिका आधारमा टुंग्याउनुपर्नेमा उनीहरूको जोड थियो । यदि किरात, लिम्बुवान, कोचिला, मोरङमध्ये जुन नाम राखे पनि सहमति हुन्छ भने आपत्ति नहुने तर अरू जाति र समुदायलाई संवैधानिक व्यवस्थाबमोजिम विशेष, संरक्षित क्षेत्र निर्धारण गरेर अधिकार दिनुपर्नेमा उनीहरूको जोड थियो ।

छलफलमा संविधानसभा सदस्य मोहन टुडू, आदिवासी नेताहरू सन्तोषकुमार गणेश, मोहन राजवंशी, नरेशमान धिमाल, ज्ञानु धिमाल, पुकाराचन्द्रसिंह राजवंशी, अभय राजवंशीले प्रदेश १ को नामकरणका सन्दर्भमा विभिन्न विकल्पसहित सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले गहन छलफल, वार्ता र सहमतिका आधारमा अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

त्यस्तै, भरतकुमार श्रेष्ठ, धर्मराज माझी, पाण्डवलाल चौधरी, नारायण राजवंशी, नौताली राजवंशी, द्रौपदी गणेश, लखीकुमार गणेश, शर्मिला राजवंशी, श्रीजलाल चौधरीलगायतले समेत सबैको भावना समेटेर प्रदेशको नाम राख्नुपर्नेमा जोड दिए ।

संवाद समूह झापाले संयोजन गरेको छलफलमा उनीहरूले हरेकले अरूको  सहअस्तित्वलाई सम्मान गर्नुपर्नेमा समेत जोड दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर