प्रदेशसभा सदस्यको माग : पानीको अभाव पूर्तिदेखि चितुवा नियन्त्रणसम्म 

विराटनगर । सुख्खाग्रस्त क्षेत्रमा पानीको दिर्घकालिन व्यवस्था गर्ने उपायको खोजी गर्न प्रदेश सभा सदस्यहरुले माग गरेका छन् । 

प्रदेश सभाको बिहीबार बसेको बैठकमा प्रदेश १ का विभिन्न पहाडी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले सुख्खाग्रस्त क्षेत्रमा अन्न र पानी दुवैको अभाव भएको भन्दै सरकारलाई तत्काल समाधान खोज्न माग गरे । बैठकको सुन्य समयमा बोल्नुहुने पाँचमध्ये चारजना सदस्यहरुले सुख्खाग्रस्त क्षेत्रको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

विगत केही समयदेखि प्रदेश सभा सदस्यहरुले सुख्खाग्रस्त र खडेरी प्रभावित क्षेत्रको समस्या पहिचान गर्न र समाधानको उपयुक्त विधि खोज्न सरकार समक्ष माग गर्दै आएका थिए । अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले सुख्खाग्रस्त केही जिल्लाका प्रभावितहरुलाई राहात स्वरुप नगद र खाद्यान्न उपलव्ध गराएको थियो भने केही ठाउँमा डिप बोरिङ गरेर पिउने पानीको प्रवन्ध गरेको थियो । तर यो वर्षपनि पूर्वी पहाडी जिल्लाहरुका केही ठाउँमा लामो खडेरी पर्दा अन्नबाली सबै नष्ट भएको छ । ओखलढुंगा, पाँचथर, धनकुटा, उदयपुर आदि जिल्लाका केही गाउँहरु खडेरीबाट पूर्ण प्रभावित छन् । 

प्रदेश सभा सदस्य सीता थेवेले पाँचथरमा सुख्खाग्रस्त वस्तीहरुबाट बसाँईसराई एकदमै बढेको भन्दै पानीको दिर्घकालिन स्रोतको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् । ‘पाँचथरले सुख्खाका कारण यतिबेला खाद्यान्न अभाव र बसाइसराईको पीडा व्यहोर्दै आएको छ,’ थेवेले भने –‘सरकारले उनीहरुलाई राहात दिएर हैन दिर्घकालिन योजना मार्फत पानीको उचित प्रवन्ध गरी त्यही ठाउँमा बस्नसक्ने वातावरण बनाउन पहल गर्नुपर्छ ।’ उनले पाँचथरको हिलिहाङ, यामरक, तुम्मेवा लगायतका गाउँपालिकाहरु खडेरीका कारण पूर्ण प्रभावित भएको बताए ।

पछिल्लो दुई वर्षदेखि खडेरी परिरहेको र अन्नबाली उब्जनी नै नहुने अवस्था उत्पन्न भएको भन्दै सुख्खा क्षेत्रमा हुने फलफूल र अन्य नगदे खेतीको विकल्पको खोजी गरिदिन पनि उहाँले सरकारलाई आग्रह गरे ।

प्रदेश सभा सदस्य मोहनकुमार खड्काले ओखलढुंगाको लिखु, चम्पादेवी, चिसङ्खु, र मानेभञ्ज्याङ लगायतका गाउँपालिकाहरुमा सुख्खा लाग्दा अन्नको दाना नै उब्जाउ नभएको बताए । उनले खडेरीका कारण पिउने पानीको अभाव हुनुकासाथै आर्थिक गतिविधि पनि प्रभावित भएको बताए । त्यसमाथि चम्पादेवी लगायत केही गाउँपालिकामा चितुवाको आक्रमण बढ्दै जाँदा दिनैपिच्छे किसानको बस्तुभाउ मर्नथालेपछि किसानहरु दोहोरो चपेटामा परेको बताएका छन् ।

धनकुटाबाट निर्वाचित प्रदेश सभा सदस्य लिला सुब्बाले कुरुले तेनुपा गाउँपालिकामा लामो खडेरी परेको र धानचामर आउँदै गरेको मकैबाली सबै सुकेको बताए । उनले पनि राहात नभई पानीको दिर्घकालिन स्रोतको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।  सुन्य समयमा प्रदेश सभा सदस्य राजकुमार ओझा र राधा थापाले पनि बोल्नु भएको थियो । 

चितुवाबाट गाउँनै आतंकित
ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा केही सातादेखि चितुवाको आतंक बढेको भन्दै प्रदेश सभा सदस्य मोहनकुमार खड्काले तुरुन्त चितुवा नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । 

चम्पादेवी गाउँपालिकाका मोहबहादुर खत्रीको एउटा बाख्रा र एउटा खसि मारेर सुरु भएको चितुवा आतंक अहिले चम्पादेवी र अरु गाउँपालिकासम्म फैलिएको भन्दै तत्काल नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँलेहरुले बाघ भनिरहेको भएपनि जिल्ला वन कार्यालय ओखलढुंगाले चितुवाले पशु मार्ने क्रम बढेको जनाएको सांसद खत्रीले जानकारी दिए । गाई बस्तु र खसिबाख्रा मार्दै आएको चितुवाले चम्पादेवीको हिराबहादुर श्रेष्ठलाई पनि आक्रमण गरेको थियो । अहिले उहाँको गम्भीर अवस्थामा उपचार भइरहेको पनि सांसद खड्काले संसदमा जानकारी गराए । उनले खडेरीबाट पीडित बनेका किसानहरुका पशु बाघले मारेर खान थालेपछि उनीहरुमा थप पीडा थपिएको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर