संविधानमा लेखिएको कुरा कार्यान्वयन गर्न आदिवासी जनजातिले दबाब दिनुपर्छ : मन्त्री बराल 

पाल्पा । प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले संविधानमा लेखिएको कुरा कार्यान्वयन गर्नमा आदिवासी जनजातिहरुले दबाब दिनुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाले तानसेनमा आयोजना गरेको २५औं विश्व आदिवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले संविधान कार्यन्वयनमा सबैले सहयोग गर्नसमेत अनुरोध गरे । 

संविधानमा लेखिएका कुरालाई कार्यन्वयनमा संघीयतालाई कार्यन्वयनमा ब्याकअप दिन नसक्ने हो भने कास्मिरको जस्तो अवस्था आउने उनले बताए । राजनीतिककर्मीहरूले आफ्नो ठाउँबाट गर्ने संघर्ष गरिरहेको बताउँदै  संविधानले व्यवस्था गरेको संरक्षित, विशेष स्वायत्त क्षेत्रहरूको अवधारणा अझै पनि कोमामै रहेको बताए । उनले लामो संर्घषले गर्दा धेरै उपलब्धि हासिल गरेको बताए । 

मन्त्री बरालले सबै जातजाति, धर्म समुदायका व्यक्तिहरूलाई पनि समेटेर अघि बढ्नुको विकल्प नरहेको बताउँदै अधिकार प्राप्तिको आन्दोलन छाडेर पाएको अधिकारको कार्यन्वयनतर्फ लाग्न सम्पूर्ण आदिवासीलाई आग्रह गरे । उनले प्रदेश पाँच सरकारले बाह्रैवटै जिल्लामा रहेका जातजातिको मातृभाषा संरक्षणको अभियान सुरु गरेको बताउँदै सांस्कृतिक संग्रहालय निर्माणको थालनीसमेत सुरु भएको बताए । जुनजुन चरणमा जतिजति समुदाय नेपालमा आएको भए पनि ती सबैको अधिकार एउटै हो भन्ने कुरा बुझाउनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा प्रदेश सांसदहरू स्थानीय तहका प्रमुख तथा जिल्लाभरका आदिवासीहरूको सहभागिता रहेको थियो । पाल्पामा आदिवासी दिवसलाई विविध कार्यक्रमका साथ सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर