• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

धम्पुसको एकीकृत विकास गुरुयोजना तयार

पोखरा । कास्कीको उत्तर पश्चिममा अवस्थित पर्यटकीय धम्पुस गाउँको पर्यटन, खेलकुद, कृषिसहित समग्र पक्षको एकीकृत विकासको गुरुयोजना तयार गरिएको छ । पर्यटकीय गाउँका रूपमा स्वदेश तथा विदेशमा परिचित माछापुच्छ«े गाउँपालिका–७ मा कृषि, पदयात्रा मार्ग, शिक्षा, स्वास्थ्य र खेलकूदको विकास गरेर पर्यटनमा टेवा पु¥याउने उद्देश्यले वडाले गुरुयोजना निर्माण गरेको हो । 

गत वर्ष धम्पुुस र बेलायतको वेल्स राज्यको ब्रेकन सहरबीच भगिनी सम्बन्ध स्थापनासँगै यस ठाउँको प्रवर्धन र आर्थिक उन्नयनमा सहयोगी भएको बताइन्छ । अन्तरिक्ष विज्ञान तथा जियोमेट्रिक्स अध्ययन केन्द्र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरको सहयोगमा तयार गरिएको गुरुयोजनामा चर्चित अन्नपूर्ण पदयात्रा मार्ग तथा मर्दी हिमाल ट्रेकको प्रस्थानबिन्दु धम्पुसको फेदीबाट पोथनासम्मको पर्यटकीय पैदलमार्ग, सांस्कृतिक ग्राम निर्माण, लालीगुराँस उद्यान तथा जमीन चक्लाबन्दी गरी आधुनिक खेतीसम्मलाई समेटिएको छ ।

विसं २०४६ मा पोखरा बाग्लुङ राजमार्ग निर्माणपछि धम्पुसमा पर्यटक आवागमनमा वृद्धि भएको छ । राजमार्गको धम्पुस फेदीबाट शुरु हुने चर्चित अन्नपूर्ण पदयात्रा धम्पुस, पोथना, प्रितम देउराली हुँदै अन्नपूर्ण आधार शिविरसम्म छ । यही बाटो हुँदै देउराली, फरेष्ट क्याम्प, लो क्याम्प हँुदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल वेसक्याम्प पुग्न सकिन्छ । 

पर्यटक बढेसँगै स्थानीयले सोही समयबाट नै स्तरीय होटल तथा रेष्टुरेन्ट खोल्नेक्रम शुरु गरेका थिए । हिमशृंखला, तालतलैया तथा लालीगुँरासको दृश्यावलोकनका लागि यो ठाउँ प्रख्यात छ । केन्द्रका प्रमुख डा कृष्णप्रसाद भण्डारी नेतृत्वको टोलीले दुई महिना लगाएर तयार गरेको गुरुयोजनामा धम्पुस फेदी, घट्टेखोला, नौडाँडा र पोथनामा यहाँका पर्यटकीयस्थलका बारेमा सचित्र वर्णनसहितको नक्सा राखेर पर्यटन विकास गर्ने उल्लेख छ । राजमार्गको फेदी र घट्टेखोलाबाट उकालो लागेपछि पदयात्रा शुरु हुने भएकाले यसबाट पर्यटकलाई सहज हुने विश्वास गरिएको छ । 

अन्नपूर्ण हिमशृंखला, लमजुङ हिमालदेखि पोखरा क्षेत्रको दृश्यावलोकनका लागि जामुनेमा एउटा दृश्यावलोकनस्थल निर्माण गर्ने र पदायात्रा मार्गका वरिपरि अशोका र धुपीका बिरुवा रोपेर थप आकर्षक बनाउने गुरुयोजनामा छ । एक हजार ६०० मिटर उचाइमा अवस्थित सुन्दरी डाँडामा सेमी हाइहल्टिच्युड रङ्गशाला निर्माण गर्ने, धम्पुस पोखरी र कोटगाउँलाई जोडेर सांस्कृतिक ग्राम तथा वडा कार्यालय माथिको जङ्गल क्षेत्रमा लालीगुराँस उद्यान  बनाउने योजना छ ।  

पोखराबाट २० किमीको दूरीमा सबैभन्दा नजिक लालीगुराँस पाइने क्षेत्रका रुपमा धम्पुसलाई लिने गरिएको छ । फेदीबाट शुरु भएको पदयात्रा धम्पुस बजारभन्दा माथि पुगेर इको पार्कमा जोडिन्छ । त्यहाँ रहेको दृश्यावलोकन स्थलबाट पनि हिमशृंखला प्रस्टसँग देख्न सकिन्छ ।

गङ्गा जमुना उद्यानमा तीन वटा दृश्यावलोकन स्थल बनाउने योजना प्रस्तुत गरिएको छ भने पर्यटकीय आकर्षणको केन्द्र अस्ट्रेलियन क्याम्प र पोथाना छुट्ने दोबाटोमा पनि उद्यान निर्माणको योजना छ । धम्पुसलाई कृषि पर्यटनसँग जोड्न भार्ने, झग्रे, जामुने र मूलपानीमा जग्गाको चक्लाबन्दी गरी खेती गर्ने गुरुयोजनामा उल्लेख छ । यहाँको चार हजार २०२ हेक्टर जमीनमध्ये ७९२ हेक्टर जमीन कृषिका लागि उपयुक्त रहेको बताइन्छ । 

वध्यक्ष समबहादुर गुरुङले गुरुयोजना बनेकाले अब विस्तृत आयोजना प्रतिवेदन तयार गरेर कार्यान्वयन गरिने बताए। कृषि, खेलकूद, पदयात्रा मार्गलगायतका क्षेत्रको विकास गरेर पर्यटन प्रवर्धन गर्ने योजना सुनाउँदै उनले भने, ‘वडाको विकासका लागि कसरी अघि बढ्ने भनेर गुरुयोजना निर्माण गरेका हौँ, पर्यटनलाई प्राथमिकता दिँदै एकीकृत विकासमार्फत अघि बढ्छौँ ।’

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्राकृतिक सम्पदालाई व्यवस्थापन गर्दै पर्यटनलाई कृषि उत्पादनसँग जोडिनुपर्ने बताए । पर्यटनकै माध्यमबाट गाउँलाई समृद्ध बनाउनका लागि गुरुयोजना कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘धम्पुसको प्रमुख आकर्षण पर्यटन नै हो, यसमार्फत आर्थिक समृद्धि हासिल गर्न गुरुयोजनाले महत्त्वपूर्ण भूमिका खेल्छ ।’

पछिल्लो जनगणनाअनुसार यहाँको जनसङ्ख्या दुई हजार २० तथा ५७९ घरधुरी छन् । यहाँ २३ होटल, तीन रिर्सोट र तीनवटा घरवास सञ्चालनमा छन् । धम्पुसमा मासिक दुई हजार भन्दा बढी पर्यटक आउने गरेका बताइन्छ । यहाँका होटल तथा रिर्सोटमा प्रतिदिन ५५० पर्यटक बस्ने सक्ने क्षमता रहेको छ । (रासस)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर