• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

छिमेकीको कुटाइबाट बेहाेस् महिला ४० दिनदेखि अचेत

कैलाली । जग्गा सिमानाको विषयलाई लिएर छिमेकीबाट बेहोस हुने गरी कुटिएकी एक महिलाले ४० दिनसम्म पनि उपचार र न्याय पाउन सकेकी छैनन् । 

कैलालीको लम्की चुहा नगरपालिका–८ गप्काकी २५ वर्षीया रामजानकी चौधरी ४० दिनदेखि अर्धचेत अवस्थामा छिन् । जग्गाको सिमाना मिचिएको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले गत असार १७ गते उनलाई बेहोस हुने गरी कुटपिट गरेको बुझिएको छ । 

विपन्न परिवार भएकाले उपचार गर्न नसकेर लामो समयसम्म घरमै राखिएकी रामजानकीलाई गाउँका केही मानिसहले आइतबार धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्याएका छन् । जग्गाको सिमाना विवाद हुँदा यमबहादुर, उनकी आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी कुटेको रामजानकीका पति तीर्थ चौधरीले बताए । 

यमबहादुरको परिवार जमिनदार हो भने तीर्थको परिवार साढे दुई कट्ठा ऐलानीमा बसिरहेको बुझिएको छ । पत्नीको न्यायका लागि आफू प्रहरीमा पटकपकट गए पनि न्याय नपाएको तीर्थले सुनाए । लम्की इलाका प्रहरीका प्रहरी नायब निरीक्षक जनक सिंहले रामजानकीको नेपालगन्ज र स्थानीय अस्पतालमा लग्दा बाहिरी घाउ नदेखिएकोले मुद्दा चलाउन नाकिएको र अदालत जान भनेको सुनाए । 

यमबहादुरका बुबा मार्कन्डे चौधरी पूर्व प्रधानपञ्चसमेत हुन् । गाउँको शक्तिशाली परिवार भएकाले सबैलाई प्रभावमा पारेर रामजानकीप्रति बेवास्ता गरेको स्थानीयको आरोप छ । कुटपिटमा संलग्न यमले पनि रामजानकीमाथि कुटपिट नगरेको सामान्य धकेलाधकेल मात्र हुँदा पनि बेहोसको बहाना गरिरहेको बताए । 

परिवारका अनुसार रामजानकी अर्धचेत अवस्थामा छिन् र उनी सामान्य जुस र झोलिलो पदार्थबाहेक केही खान नसक्ने अवस्थामा छिन् । बाहिरी देखिने चोट नभए पनि भित्र गम्भीर चोट लागेको हुन सक्ने छिमेकी मनमाया तामाङले सुनाइन् । उनले पाठेघरमा चोट लागेको बताउने गरेको उनले बताइन् । 

मनमाया र स्थानीय टेक देउवाको पहलमा उनलाई धनगढी ल्याइएको हो । रामजानकीको न्यायका लागि राष्टिय मानवअधिकार आयोगमा निवेदन दिइसकिएको र अब अदालत जाने उनीहरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर