नौनी सुरक्षाकालागि ५० हजार किलो क्षमताको थर्मोकुल कन्टेनर बनाइदै

तस्वीर : गाेकुल / समाचारदैनिक

विराटनगर । दुग्ध वितरण आयोजना विराटनगरले उत्पादन गरेको बटर संरक्षणकालागि नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु भएको छ ।

प्रदेश सरकारको अनुदान सहयोगमा लामो समयसम्म बटर(नौनी) सुरक्षित राख्न थर्मोकुल कन्टेनर निर्माण गरिएको हो ।  विराटनगर आयोजनासँग भएका कन्टेनरहरुको क्षमता कम हुँदा बढी बटर उत्पादन हुने सिजनमा हेटौंडा र काठमाण्डौमा लगेर राख्नुपर्ने समस्या थियो । राख्ने ठाउँको अभावमा विराटनगरले भोग्दै आएको समस्या अब कम हुने आयोजना प्रमुख निलकण्ठ गौतमले जानकारी दिए ।

 ‘आयोजनाले अहिले ५० हजार किलोग्राम बटर सुरक्षित राख्ने गरी नयाँ कन्टेनर बनाइरहेको छ,’ प्रमुख गौतमले भने ‘एक हप्ता भित्रमा कन्टेनर तयार भइसक्छ, त्यसपछि हामीलाई पहिलेको जस्तो धेरै समस्या पर्दैन ।’ अघिल्लो वर्ष दुग्ध विकास संस्थानमा झण्डै ५ सय मेट्रिक टन  बटर स्टक थियो । त्यतिबेला उत्पादन गरेको बटर सुरक्षित राख्न निकै हम्मे परेको थियो । त्यहि समस्याले गर्दा दूध संकलन र प्रशोधनमा पनि कटौती गर्नुपर्ने अवस्था आउने गरेको थियो ।

 प्रदेश सरकारले विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर उत्पादन क्षमता विस्तारसँगै बटर उत्पादनमा हुने बढोत्तरीलाई सम्वोधन गर्न, बोइलर र आइस बैंकलाई समेत चुस्त राख्न भन्दै ५ करोड रुपियाँ अनुदान सहयोग उपलव्ध गराएको थियो । आयोजनाले किसानले बेच्न चाहेजती दूध किन्नुपर्ने प्रदेश सरकारको सर्त स्वीकार गर्दै  पाउडरप्लान्ट तथा प्रशोधन प्रणालीमा सुधारको काम अघि बढाएको छ ।

आयोजनाले सिजनमा मिल्क होलिडे नगर्ने सर्तमा अनुदान रकम लिएको हो । त्यहि रकमबाट आयोजनामा थर्मल कन्टेनर निर्माणको काम सुरु भएको हो ।  प्रदेश सरकारले दिएको रकमबाट आयोजनामा डिजल बोइलर स्थापना गरिने छ । अहिले भुस बोइलर चलाउदै आएको आयोजनाका विरुद्धमा स्थानीयले पटक पटक विरोध जनाएपछि भुस बोइलर हटाउने तयारी भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर