• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेयमार भित्र्याउन बार्सिलोना र रियल मड्रिडबीच रस्साकस्सी

एजेन्सी । स्पेनका दुई महाराथी बार्सिलोना र रियल मड्रिडबीच ब्राजिली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमारलाई आफ्नो क्लबमा भित्र्याउन रस्साकस्सी चलेको छ । नेयमार क्लब छोड्ने मनस्थितिमा रहेको बुझेपछि बार्सिलोना र रियलले उनीमाथि आँखा गाडिरहेका छन् । 

नेयमारले फ्रान्सको लिग च्याम्पियन वानको पहिलो खेल पनि खेलेका छैनन् । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले नेयमारले क्लब छाडेने सम्भावना बलियो भएकाले उनलाई टोलीमा समावेश नगरेका बताएका छन् । यद्यपि, सो खेलमा पिएसजीले उत्कृष्ट नतिजा निकालेको थियो । 

नेयमारले ट्रान्सफर विन्डो अगाडि नै फ्रान्स छोड्ने मनसाय बनाएको भन्दै पिएसजीले छलफल गरिरहेको बताइएको छ । स्रोतका अनुसार बार्सिलोनाले नेयमारलाई भित्र्याउन छलफल गरिरहेको बताइएको छ । नेयमार यसअघि पनि दुई सिजन बार्सिलोनामा थिए ।

बार्सिलोनाका प्लेमेकर लियोनल मेस्सीले पनि नेयरमालाई भित्र्याउन क्लबलाई दबाब दिइरहेका छन् । यद्यपि, पिएसजीका प्रशिक्षक थोमस टुचेल नेयमार क्लबमा रहुन् भन्ने   चाहन्छन् । 

त्यसैगरी, रियल मड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेज पनि नेयमारलाई ल्याउने कसरतमा लागिरहेका छन् । उसले नयाँ सिजनमा धेरै खेलाडी परिवर्तन गर्ने बताए पनि अपेक्षाकृत रूपमा राम्रा खेलाडी भित्र्याउन सकेको छैन । रियलले चेल्सीबाट इडेन हाजार्डलाई भने क्लबमा समावेश गर्न सफल भएको छ । 

रियलले म्यानचेस्टर युनाइटेडबाट पाउल पोग्बालाई क्लबमा ल्याउने प्रयास गरे पनि असफल भएको छ । त्यसैले पनि रियल नेयमारलाई स्पेनमा ल्याउन ठूलो मूल्य चुकाउने दाउमा छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर