• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

काश्मिरमा त्रासदीपूर्ण पाँच दिन : एक युवतीकाे डायरी

मंगलबार साँझ हाम्रो घर फेरि अश्रुग्यासले भरियो, आफन्त आए र उनले आफ्नो घर छोडेर टाढा जान लागेको बताए

जब तपाईं संघर्ष चलिरहेको क्षेत्रमा हुनुहुन्छ, जहाँ हिंसा र विश्वासघात दुवै भइरहेको छ, तब तपाईंलाई कुनै सूचना सही छ भने पनि विश्वास नै लाग्दैन । 

शुक्रबारदेखि सोमबार साँझसम्म हामी फरक–फरक मानिससँग काश्मिरमा अतिरिक्त सुरक्षाफौज तैनाथ गरिएको र यात्रीहरू, गैर–काश्मिरीहरूलाई काश्मिर छोड्न आग्रह गरिएका फरक–फरक कारण सुन्यौँ, तर हामीलाई कुनै जानकारी भने थिएन । 

काेही भनिरहेका थिए– काश्मिर राज्यलाई तीन भागमा बाँडिन सक्छ । काश्मिरलाई केन्द्र प्रशासित प्रदेश बनाउन सकिन्छ । जम्मूलाई राज्यको दर्जा दिन सकिन्छ । धारा ३७० र ३५–ए लाई हटाउन सकिन्छ इत्यादि । यासिन मलिकको मृत्यु भइसकेको अफवाह पनि फैलिएको थियो । जो कोही आफ्नो कुरामा बाजी लगाइरहेका थिए । 

सोमबार कर्फ्यु लाग्ने हल्ला चलेको थियो र यसपटक कर्फ्यु सख्त र लामो समयसम्म रहनेछ भन्ने डर थियो । म लाल बजारबाट आफ्नो घर नाड कडालका लागि निक्लिएँ । सडकमा कोही हतारिँदै कुदिरहेको देखियो । एटिएमको अगाडि लामो लाइन थियो, खाद्यान्न पसलको अगाडि दसौँवटा गाडी उभिइरहेका थिए । पेट्रोल पम्प सुकेका थिए, किनकि शुक्रबार राति नै मानिसको भीडले त्यसलाई खाली गरेको थियो । 

एक पेट्रोल पम्पमा मेरो कजिन (काका वा मामाको छोराछोरी)लाई पेट्रोल भएको, तर सर्वसाधारणलाई नदिई सिआरपिएफ र प्रहरीका लागि सञ्चित गरिएको बताइयो । 

मेरो कजिनको परिक्षा ६ अगस्टमा थियो, ऊ पढाइमा व्यस्त रहन्थ्यो । राति अबेर काश्मिर विश्वविद्यालयले परीक्षा रद्द गरेको उनले सूचना पाए । मैले आफ्नो एक साथीलाई राति साढे १० बजे एक एसएमएस पठाएँ, तर त्यो डेलिभर नै भएन । 

मेरो इन्टरनेट त्यस समय चलिरहेको थियाे, त्यसैले मैले पूर्ण रूपले बन्द गरियो भन्ने नै सोचिनँ । मेरा आमा–बुबा दिल्लीमा थिए । मैले मेरी आमालाई एउटा सन्देश पठाएँ र सुतेँ । 

सोमबार बिहान जब म ब्युझिएँ, भान्सा कोठामा एक प्रकारको अनौठो सन्नाटा छाएको थियो । स्थानीय टेलिभिजनबाट प्रसारण हुने बिहानको कार्यक्रमसँगै मेरो दिनको सुरुवात हुने गर्थ्यो । तर, सोमबार परिवारका प्रत्येक सदस्य चुपचाप बसेर खाजा खाइरहेका थिए । 

मलाई कसैले हाम्रो घरबाहिर बिहानको ४ बजेदेखि सैनिक फौजका जवान तैनाथ रहेको बताए । टेलिभिजन, ल्यान्डलाइन र मोबाइल फोन कुनैले पनि काम गरिरहेको थिएन । कर्फ्युका बेला बिएसएनएलको ल्याडलाइन फोन काम गर्ने गर्थ्यो, तर यसपटक त्यसलाई पनि बन्द गरिएको थियो । 

हामीलाई खाद्यान्नको चिन्ता भइरहेको थियो । पसल बन्द थिए र कुनै पनि पसले देखिँदैन थिए । मेरा काका तरकारी लिन बाहिर जानुभयो, तर उहाँलाई सैनिक जवानहरूले रोके र उहाँलाई यस्तो जोखिममा बाहिर ननिस्कन बताए । 

उहाँ खाली हात घर फर्कनुभयो, किनकि उहाँलाई डर थियो तरकारी लिनका लागि टाढासम्म पुग्नु पर्छ । एक जना तरकारी पसलेलाई उहाँले देख्नुभयो, तर उसले सबै तरकारी बेचिसकेको थियो । तर, भाग्यमानी रहेछौँ, काकीले अर्को व्यवस्था मिलाउनुभएको रहेछ । 

काकी गर्वका साथ भनिरहनुभएको थियो– यसै वर्ष फेब्रुअरीमा जब भारत र पाकिस्तानबीच तनाव बढेको समय अरू केही तयारी सुरु गरेको थिएँ । मैले दुई महिनाको राशन र अन्य आवश्यक चीज जुटाएर राखेकी छु– उहाँले मलाई भन्नुभयो । 

काश्मिरका लागि के–के हुँदै छ, यसबारे केही पनि पत्तो पाइरहेका थिएनौँ । के हुनसक्छ भनी त्यस समय थाहा पायौँ जब घरका पुरुष मस्जिदमा नमाज पढेर फर्किए । अपराह्नदेखि भारतको संविधानबाट धारा ३७० हटाइएको खबर घरमा पुगिसकेको थियो । मस्जिदमा उहाँलाई कसैले सुनाएको मलाई भन्नुभयो । 

हामी सबैले यसलाई एक हल्ला सम्झेर नकार्यौं । राज्य सरकारबिना नै, चुनावअघि र अहिलेसम्म जुन मामिला अदालतमा छ, त्यो कसरी यति सजिलै खारेज हुन सक्छ भनी मैले मेरो कजिनलाई भनेँ पनि । 

यी कुराबाट ध्यान भड्काउन मेरो ल्यापटमा सिनेमा हेरे । साँझतिर केही च्यानललाई प्रसारणका लागि अनुमति दिइएको हामीले सुन्यौँ । खाली दूरदर्शन च्यानलमा मात्र कार्यक्रम आइरहेको थियो, बाँकी सबै बन्द थियो । 

जब हामीले समाचार हेर्यौं र सुन्यौँ, तब मात्र हामीलाई थाहा भयो कि राज्यसभाले जम्मू–काश्मिर पुनर्गठन विधेयक पारित गर्यो । काश्मिर र जम्मू अब केन्द्र प्रशासित प्रदेश हुनेछ, लद्दाखलाई अलग केन्द्र प्रशासित प्रदेश बनाइएको थियो । अनुच्छेद ३७० र ३५– ए लाई खारेज गरिइसकेको थियो । 

आगामी दिनमा यहाँ के–के हुने हो भनी सोच्दै मेरो आँखा टिलपिलाए । १५ मिनेटसम्म हामी एकदम शून्य भएर बस्यौँ । 

मेरो सबैभन्दा सानो कजिनको उमेर ६ र ९ वर्षका छन् । उनीहरूसँग हामी बगैँचामा गएर खोल्न थाल्यौँ । हामीले आइस वाटर खेल खेल्न सुरु मात्रै के गरेको थियौँ, अश्रुग्यासले हाम्रो बगैँचा नै भरियो । मेरो सानो कजिन खोक्न थाल्यो, तर खेल छोड्न भने मानिरहेको थिएन । उनीहरूलाई जबरजस्ती घरभित्र बन्द गर्नुपर्यो, ताकि हामी अश्रु ग्यासबाट बच्न सकुँ । 

मंगलबार

बिहीबार फर्कनुपर्ने मेरो टिकट थियो । विमानस्थलसम्म सुरक्षित पुग्न सकिएला कि नसकिएला भन्ने चिन्ता थियो । काकाको घरबाट बुधबार बिहानै निस्किएर विमानस्थल नजिकसम्म पुग्ने योजना बनायौँ । 

मंलबार अपराह्नसम्म सबै टेलिभिजन च्यानललाई प्रसारण अनुमति दिइसकिएको थियो । तर, हामी ती टेलिभिजनमा आइरहेका खबरलाई सहन सकिरहेका थिएनौँ । किनकि, त्यहाँ उत्सवको तस्विरहरू देखिइँदै थियो र हामी आफ्नै घरमा बन्द थियौँ, कसैसँग पनि सम्पर्क गर्न सकिरहेका थिएनौँ । हाम्रो भविष्यमा असर पुर्याउने सरकारको फैसलाविरुद्ध असहमति र आक्रोश देखाउन पनि सम्भव थिएन । 

मंलबार साँझ हाम्रो घर फेरी अश्रुग्यासले भरियो । हाम्रो घरमा एकजना आफन्त आए र उनले आफ्नो घर छोडेर एकजना टाढाको आफन्तकोमा जान लागेको बताए । श्रीनगरको उनको घरबाहिर निक्कै ढुंगा हानाहान भइरहेको र अश्रुग्यासले उनको बच्चाहरु निक्कै डराएपछि यस्तो निर्णय लिएको उनले बताए । उनका बच्चाहरू घरभित्रै बन्द भएर बस्नुपर्छ भनेर जोड गरिरहेका थिए । 

हाम्रो घरमाथि थुप्रै हेलिकप्टर घुमिरहेको आवाज आइरहेको थियो । माथिबाट हेलिकप्टरको आवाज र तलबाट अश्रुग्यासले हामी कुनै युद्ध जस्तो स्थितिमा छौँ भन्ने विश्वास दिलाएको थियो । केही युवकको मृत्यु भएको मानिसहरू कुराकानी गरिरहेका थिए, केही घाइते भएको, तर कुनै पनि कुराको पुष्टि भने हुन सकिरहेको थिएन । 

मंगलबार राति मेरो एकजना कजिन कटरास्थित आफ्नो विश्वविद्यालयबाट फर्किए । उनले क्याम्पस प्रशासनले सबै काश्मिरी विद्यार्थीले विश्वविद्यालय छोड्न भनेको बताए । विश्वविद्यालयको भित्र र बाहिर विद्यार्थीको सुरक्षाको ग्यारेन्टी लिन नसकिने बताइएको थियो । 

उसलाई आफ्नो घरसम्म पुग्न जम्मा २४ घण्टा लाग्यो । यस दौरान उसले थुपै प्रहरीसँग थुप्रै ठाउँमा मद्दत माग्यो र आफ्नो घर जाने अनुमति पनि लियो । अब यो सिलसिला कहिलेसम्म चल्नेछ भनी हामी रातभरी सोचिरह्यौँ । 

बुधबार

म बिहान ५ बजे उठे र विमानस्थल नजिकै पीर बागका लागि निक्लिए । मैलो आँखाभरि आँसु पार्दै काकीलाई बिदा भनेँ । उहाँले मलाई आफ्नो दुबईमा रहेको छोरासँग कुरा गर्न भन्नुभयो । उहाँहरूबीच आइतबार राति फोनमा कुराकानी गर्न नपाएको गुनासो पोखिरहनुभएको थियो । अब कहिले कुरा हुने हो भन्ने थाहा नभएको काकी बताइरहनुभएको थियो । उहाँको छोरासम्म सन्देश पुर्याउने म एक्लो माध्यम थिए ।  

बाहिर सडक बन्द थियो, ब्यारिकेड र काँडेतार लगाइएको थियो । हामीले एउटा सानो ठाउँ खोज्यौँ जहाँबाट हाम्रो कार निक्लन सकोस् । एकाबिहानैको समय थियो, त्यसैले हामीलाई कसैले रोकेन । पीर बाग पुगेपछि देखे त्यहाँ धेरै नै ब्यारिकेड लगाइएको थियो, सानो गल्लीमा जान पनि प्रतिबन्ध थियो । 

राति अबेर मेरो आन्टी आउनुभयो र उहाँले उहाँको कजिनको बच्चालाई अश्रुग्यासको धुवाले संक्रमण भएको बताउनुभयो । कारमा पेट्रोल नभएको र सार्वजनकि यातायात उपलब्ध नभएकोले उहाँ औषधी लिन जान नसक्नु भएको बताउनु भयो ।

बिहीबार

दिल्लीका लागि प्रस्थान गर्न निक्कै गाह्रो थियो । आफ्नो आमा–बुवासँग कुरा नभएको पनि ४ दिन भइसकेको थियो । उहाँहरु निक्कै चिन्तित हुनुहुन्छ भन्ने मलाई थाहा थियो, तर काश्मिरमा रहेको मेरा परिवारलाई कसरी ‘गुडबाई’ भनु भनी  सोचिरहेकी थिए । उहाँहरु जुन परिस्थितिमा हुनुहुन्थ्यो, त्यही हालमा छोड्दिन कसरी  सक्छु र सामान्य जिन्दगीमा फर्कन सक्छु ?  

तर, म दिल्ली पुगेर सबै कजिनसँग सम्पर्क गरेर उनीहरुका आमा–बुवासँग भेटेर फर्किएको छु र उनीहरु सुरक्षित छन् भन्ने छु भनी एक जिम्मेवारीका साथ त्यहाँबाट निक्लिए । 

म उनीहरलाई यो पनि भन्नेछु, उनको घरमा धेरै खाद्यान्न पानी राखिएको छ र उनीहरुले औषधि पनि किनेर राखेका छन् । हामी यस कुरामा पनि कुराकानी गर्नेछौं कि कस्तो निराशा र बाध्यताका बीच इद मनाइयो र यो सोचले हाम्रो भविष्यलाई लामो समयसम्म कसरी प्रभावित गर्नेछ ?

(मिसबाह रेशी दिल्ली विश्वविद्यालयकी एक छात्रा हुन् । उनकै शब्दमा प्रस्तुत लेख बिबिसीबाट  गिता सुब्बाले अनुवाद गरेकी हुन् )

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर