• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु 

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मंगलबार शुभारम्भ गरेका छन् । 

सो अवसरमा प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । उनले लागुऔषध दुर्व्यसनीविरुद्ध सबै एकजुट हुनपर्ने धारणा राखेका थिए । लागूऔषध दुर्व्यसनीरहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए । 

‘सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन आमासँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने । घरकै सदस्यमा दुर्व्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरूले सघाउने प्रहरीको विश्वास छ । ‘दुर्व्यसनीको पीडा सुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरूबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौं,’ प्रहरी उपरीक्षक भट्टले भने । 

प्रहरीले लागूपदार्थ सेवन गरे÷नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ । प्रहरीले सामान्य अवस्थाका लागूऔषध प्रयोगकर्तालाई सचेत बनाएर पठाउने गरेको छ । लामो समयदेखि दुर्व्यसनीमा फसेकालाई भने उपचारका लागि पुनःस्थापनागृहसम्म पठाउने गरेको छ ।

सेवनसँगै किनबेच र ओसारपसारमा संलग्न भएकालाई भने कानुनअनुसार कारबाही गर्ने गरिएको छ । बागलुङ नगरपालिका–३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले दुर्व्यसन रोक्नु स्थानीय तहको पनि दायित्व रहेको बताए । 

दुर्व्यसनमा फसेका बालबालिका, युवालाई त्यसबाट मुक्त गर्न आमाहरू सबैभन्दा सहज र प्रभावकारी माध्यम हुनसक्ने उनले बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले समुदायको सहयोग र सहभागिताबिना कार्यक्रम सफल नहुने विचार राखेका थिए । कार्यक्रम शुभारम्भकै अवसरमा जिल्लास्थित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले प्रहरीलाई लागुपदार्थ सेवन ९लापसे० जाँचका लागि २० थान ‘किट’ प्रदान गरेको थियो । प्रहरीले हालै मात्र बागलुङमा ‘लापसे’ जाँचको अभियान थालेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर