• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पूरा हुने भयो सपनाको विद्यालय जाने ‘सपना’

वीरेन्द्रनगर । सात वर्षदेखि बुबाआमाबाट टाढिएकी वीरेन्द्रनगर–२ कोलडाँडाकी सपना विकको विद्यालयमा पठनपाठन गर्ने सपना पूरा हुने भएको छ । उनी सानो हुँदा नै बुबा बितेपछि परिवारको गर्जो टार्न भारत गएकी आमाले उतै अर्को बिहे गरेपछि सपना बिचल्लीमा परेकी थिइन् । 

सपना अहिले दिदी कोकिलासँग गाउँमा बसोवास गरिरहेकी छिन् । कोकिलाले बहिनीलाई पढाउन भन्दै चार कक्षा पढ्दापढ्दै स्कुल छोडिन् । उनले दिनभरि मजदुरी गरेर भए पनि बहिनीलाई पढाउने अठोट गरिन्, तर उनलाई दुई छाक जुटाउनै हम्मेहम्मे छ । 

ज्यादै विपन्न परिवारकी सपनाका दाजु पनि कमाउन भनेर भारत गएका छन् । उनकी बहिनी पार्वतलाई कोपिला भ्याली नामक एक गैरसरकारी संस्थाले पालनपोषण गरिरहेको छ । तर, कोकिला र सपनाको अवस्था भने दयनीय नै छ ।  

सपना अहिले कोलडाँडास्थित प्रभाव माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् । उनलाई विद्यालय जानका लागि कापीकलम तथा विद्यालय पोसाक अभाव भएको कुरा समाचार दैनिकमा प्रकाशित भएपछि उनलाई सहयोग गर्नेहरूको लर्को लागेको छ । सपनालाई एसओएस बालग्राम सुर्खेतले १२ कक्षासम्म पढाउने जिम्मा लिएको छ । बालग्रामले मासिक पाँच हजार आठ सय पचास रुपैयाँ उनको खातामा जम्मा गरिदिएको भएको छ । 

एसओएस बालग्रामका निर्देशक मुकुन्द गिरीले अभिभावकविहीन दुई बालिकालाई बालग्राममा राखेर पढाउने तथा संरक्षण गर्ने बताएका छन् । उनले भने, ‘दुवै अभिभावक गुमाएका बालिकालाई एसओएस फेमिली केयरमा राख्छौं, अभिभावक गुमाएका तर उनीहरूको आफन्त भएका बालबालिकालाई किन्सी केयरमा राखेर शिक्षा दिक्षा दिन्छौं ।’ 

सपनाको अध्ययनका लागि अन्य संघसंस्थाले पनि सहयोग गर्ने बताएका छन् । उनलाई देशविदेशबाट पनि सहयोग रकम प्राप्त भएको छ । सुर्खेतका बालरोग विशेषज्ञ नवराज केसीले स्टेसनरी तथा झोला सहयोग गरेका छन् । त्यस्तै, विदेशमा रहेका लक्ष्मीनारायण बस्नेतले साढे चार हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, पूर्व पर्यटनमन्त्री तथा कर्णाली प्रदेशसभा सांसद जीवनबहादुर शाहीले खाद्यान्य सहयोग गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर