मेगा बैंकको मुनाफा ३१ प्रतिशतले वृद्धि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्धि गर्न सफल भएको छ । 

बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको वृद्घि हो । बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्धि गर्न बैंक सफल भएको छ । 

२०७५ असार मसान्तको तुलनामा २०७६ असार मसान्तमा बैंकको कुल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०.०१ प्रतिशतको वृद्धि हो । यो वृद्धि वाणिज्य बैंकहरूमध्ये कै उच्चतम वृद्धि रहेको छ । त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि हो । 

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा बैंकले कर्जा तथा ब्याज असुलीमा गरेको प्रभावकारी कार्यबाट निष्क्रिय  कर्जाको अनुपातमा उल्लेख्य सुधार ल्याई उक्त अनुपात ०.८६ प्रतिशत कायम राख्न सफल रहनुका साथै व्यवसायको आकारमा (निक्षेप तथा कर्जा) पनि उल्लेख्य वृद्वि गर्न सफल रहेकोले नै खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा उल्लेख्य प्रगति हासिल गरेको छ । 

हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । बैंक निकट भविष्यमै थप नयाँ शाखा एवं काउन्टर ल्याउने तयारीमा रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर