• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हंसपुर नगरपालिकामा लागेको ताला एक महिनापछि खुल्यो

जनकपुरधाम । विगत एक महिनादेखि हँसपुर नगरपालिकामा लागेको ताला खोलिएको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारण लागेको ताला बुधबार खोलिएको छ । 

नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले बघचौडामा काम गर्ने वातावरण नरहेका कारण बेल्ही चोकमा गत साउन ३ गते अस्थायी कार्यालय सारेका थिए । 

प्रमुख मण्डलले बचौडास्थित कार्यालयमा रहेको कागजात तथा फाइल नयाँ कार्यालयमा सार्न खोजेपछि  आफूले साउन ३ गते राति ११ बजे सो कागजातहरुको सुरक्षाका लागि ताला लगाएको उपप्रमुख रेणु झाले बताइन् । उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताला खोलेकी हुन् । 

यता, उच्च अदालत जनकपुरले बघचौडामै तत्कालका लागि कार्यालय सञ्चालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाले बताइन् । उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो ।  

नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाजसमेत बघचौडाबाटै सञ्चालनमा आएको छ । नगरपालिकाको हाजिरी रजिष्टरमा अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज सञ्चालनमा ल्याएका हुन् । 

नगरपालिकाका अधिकृत हरिशंकर यादवले अदालतले आदेश दिएपछि आफूहरू आदेशको सम्मान गर्दै बघचौडास्थित कार्यालयमा उपस्थित कामकाज सञ्चालनमा ल्याएको बताए । यसअघि प्रमुख रामज्ञान मण्डलले बेल्ही चोकस्थित कार्यालय सञ्चालनमा ल्याएपछि कर्मचारी साबिकको कार्यालयमा उपस्थित नभई बेल्ही चोकमै उपस्थित हुँदै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर