वाणिज्य बैंकहरूले सेयर कारोबार गर्ने विषयमा संसदीय समितिको चासो

काठमाडौं । वाणिज्य बैंकहरूले सहायक कम्पनीमार्फत सेयर कारोबार गर्ने विषयमा संसदीय समितिले फेरि चासो देखाएको छ । बुधबार प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक र अर्था मन्त्रालयका पदाधिकारीसँग छलफल गरेर चासो देखाएको हो । 

अर्थ समितिले केही समय अगाडी धितोपत्र बजारमा देखिएको उतार चढाव र अनियन्त्रित कारोबारको विषयमा सरोकारवाला सबै निकायसँग विभिन्न चरण छलफल गरिसकेको छ । मंगलबारको बैठकमा समितिले पुँजी बजारका साथै समग्र मुद्रा बजार तथा वित्तीय क्षेत्रसमेतको अध्ययन गर्नुपर्ने भन्दै उपसमिति पनि गठन गरेको छ । 

अर्कोतर्फ धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले वाणिज्य बैंकहरूको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गरिरहेका छन् । समितिले लाइसेन्स दिने प्रक्रिया सञ्चालन गर्ने अथवा रोक्ने सम्बन्धमा ठोस रूपमा केही नभने पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा अध्ययन गर्ने सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । 

समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा अध्ययन उपसमिति उपसमिति गठन गरेको छ । पाँच सदस्यीय उपसमितिमा सांसदहरू रामबाबु यादव, प्रमिला राई, कुमार राई र मेटमणि चौधरी छन् । समितिले दुई महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकेको छ । 

समितिले उपसमिति बनाई अध्ययन गर्ने भएपछि ब्रोकर लाइसेन्स दिने प्रक्रिया प्रभावित हुनेछ । संसद्को समितिले कुनै विषयमा अध्ययन गर्ने भएपछि त्यसभित्र सरोकार राख्ने निकायले आफ्नो निर्णय प्रक्रिया स्थगन गरी समितिलाई सघाउने र निर्णय पर्खने चलन छ । अब धितोपत्र बोर्ड र स्टक एक्सचेन्जले ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्नुपर्ने हुन्छ । अर्थ समितिले ठोस् रूपमा नभने पनि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खतरा हुन सक्ने आँकलन गर्दै त्यसको अशर अध्ययन गर्न यस्तो निर्णय गरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर