• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सगरमाथा आरोहीको मृत्यु जामले होइन : छानबिन समिति

काठमाडौं । सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन  सुधार सुझाव समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।
    
पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई समितिका संयोजक घनश्याम उपाध्यायसहितको टोलीले प्रतिवेदन बुझाएको हो । सगरमाथामा आरोहण अनुमति धेरै दिएको र आरोहीको जामले केही आरोहीको मृत्यु भएको भन्दै विश्वभर नकारात्मक समाचार सम्प्रेषण भएको थियो । सगरमाथामा आरोहणमा आरोहीको भीड लागेको फोटो सञ्चारमाध्यममा आएका थिए ।
    
समितिका संयोजक उपाध्यायले मिडियामा आएजस्तो आरोहीको निधन जामले नभइ आरोहण क्रममा लामो समय पर्खनुपर्ने बाध्यता तथा आरोहीको शारीरिक अवस्थाका कारण मृत्यु भएको उल्लेख गरे ।
    
आरोहणका विषयमा आएको अन्योलताबारे सत्य तथ्य पत्ता लगाउन सरकारले गत जेठ २४ गते पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । 
    
सन् २०१९ को वसन्त ऋतुको मे २२ र २३ मा मौसम सुधार भएपछि धेरै आरोही एउटै सयमा सगरमाथाको चुचुरोमा जान चाहेकाले लामो समय बाटोमा पर्खनु परेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथासहितका विभिन हिमालमा ९६१ जनाले आरोहण गरेका थिए । जसमा १५ जनाको मृत्यु भएको थियो । सगरमाथा हिमालको मात्रै ३६४ जनाले आरोण गरेका थिए । सगरमाथा आरोहण क्रममा आठ जनाको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका आयरल्याण्डका एक आरोही अझै फेला परेका छैनन् ।
    
सगरमाथासहित सम्पूर्ण हिमाल आरोहणको विगत पाँच वर्षको आँकडा हेर्दा सन् २०१५ मा २१, सन् २०१६ मा १२, सन् २०१७ मा ९, सन् २०१८ मा २५ र सन् २०१९ मा १७ ९पछिल्लो विवरणसहित० मृत्यु भएको जनाइएको छ । ५९ पृष्ठको प्रतिवेदनमा समितिले दीर्घकालमा पर्वतीय पर्यटनमा गर्नुपर्ने कामको विषयमा १२ पृष्ठ लामो सुझाव दिएको छ । समितिले सम्पर्क अधिकृतको विषयमा पनि टिमनै गएर बेसक्याम्पमा जानुपर्ने समेत सुझाव दिएको छ । सगरमाथाको आरोहणमा आगामी दिनमा एकै समयमा आरोहणको अत्यधिक चाप पर्न नदिन डोरी टाँग्ने कार्यलाई समयमै व्यवस्थित गर्नुपर्ने, मौसमी प्रणालीको भरपर्दो सुधार तथा आरोहणको योजनाबद्ध कार्यतालिका बनाउनुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।

    हिमाल आरोहणको मापदण्डका आधारमा दक्ष र सक्षम आरोहीको आरोहण र सम्पर्क अधिकृत दक्ष र व्यवसायी राख्न सुझाव दिइएको छ । सुझाव कार्यान्वयनमा आएकाले आगामी सिजनदेखि उपससचिवको नेतृत्वमा आधारशिविरमा सेना र प्रहरीसहितको टोली उद्धारका लागि खटिनेछ । उनीहरु आरोहण अवधिभर बस्नुपर्नेछ । गत सिजनमा ७५ जना सम्पर्क अधिकृत खटिएका थिए । जसमा २२ जना मात्रै आधार शिविरमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर