उत्पादन वृद्धि गर्न किसानलाई अनुदान 

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई मासुमा अनुदान दिने व्यवस्था गरेको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २० रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएपछि किसानहरु उत्साहित भएका छन ।

किसानले उत्पादन गरेका जिउदा खसीबोकाको कारोबारमा अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रभित्रका किसानले उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय किसान खुसी भएका छन् ।

स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रमा दुध, तरकारी र मासुमा आत्मनिर्भर नभएपछि अनुदानका माध्यमबाट युवाहरूलाई व्यावसायिक बनाउन थालेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । 

गाउँपालिकाले नमुनाका रूपमा यो कार्यलाई अघि बढाएको छ । युवाहरूलाई व्यावसायिक बनाउन सकेको अवस्था गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिका अध्यक्ष कार्कीले बताए । 
 
गाउँपालिकाले दूधमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो १ रुपैयाँ ५० पैसा र खसीबोकामा प्रतिकिलो २० रुपैयाँ अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताए । उनले भने, ‘गाउँमा रहेका युवाहरू दैनिक रूपमा वैदेशिक रोजगारीका लागि देश बाहिरिने प्रवृद्धिलाई रोक्न र गाउँमै स्वरोजगार गराउन यो कार्यक्रमले टेवा पुग्ने देखेका छौं । 

अहिले रैनादेवी छहराको क्षेत्रभित्रको भुवनपोखरी, सोमादी, मुभुंग र छहरामा गाईभैंसी पालन गरी दूधको कारोबार बढ्दै आएको छ । गाउँपालिका क्षेत्रभित्र दैनिक सात लिटर उत्पादन हुने गरेको छ । मुझुङग र सोमादी, छहरालगायतका क्षेत्रका किसानहरूले  व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । 

अनुदान लागि संघसंस्था, समूह तथा सहकारीमार्फत कारोबार गर्नेहरूलाई मात्र अनुदान प्रदान नीति गाउँपालिकाको रहेको छ । स्थानीय सरकारमार्फत अनुदान पाएसँगै स्थानीय किसानहरूमा उत्साह थपिएको छ जसले गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोजगारीको अवसरसमेत सिर्जना भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर