• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

मदनमणि ‘माडसाब’, ‘माधवी’ र ‘समीक्षा’ 

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

१९७९ साल फागुन ६ गते गैह्रीधारा काठमाडौंमा जन्मिएका दीक्षित ९७ वर्षको उमेरसम्म पनि लेखनमा सक्रिय थिए । दीक्षित उपन्यासकार मात्र होइन, एक प्रसिद्ध पत्रकार पनि हुन् । जीवनका सम्पूर्ण समय केवल लेखनमा व्यतीत गरेका दीक्षितका कृति भावना वा कल्पनाभन्दा यथार्थमा आधारित छन् । इतिहासमा आधारित छन् । अनुसन्धानमा आधारित छन् । वर्षौंको खोज, अध्ययन र अनुसन्धानपछि उनले लेखेका ‘माधवी’, ‘भूमिसूक्त’ नेपालका मौलिक एवम् बौद्धिक सम्पत्ति हुन् । 

०००

दीक्षितले पछिल्लो समय तत्कालीन राजा महेन्द्रबारे एक पुस्तक तयार गरेका थिए, तर त्यो प्रकाशनमा आउनुअघि नै उनको निधन भयो । दीक्षितद्वारा लिखित ‘देशभक्त चन्द्रशमशेर’ र ‘मेरी माता’ भने केही समयअघि बजारमा आएका छन् । त्यसैगरी, उनी ‘मेरो विवाहको ८० वर्ष’ को कृतिको तयारीमा थिए । सो कृति पनि बजारमा आउन नपाई उनको इहलीला समाप्त भयो ।

मदनमणि दीक्षितले ‘माधवी’ (उपन्यास) का लागि २०३९ सालको मदन पुरस्कार पाए । माधवी उनकाे मास्टरपिस हाे । ‘मेरी निलिमा’, ‘भूमिसूक्त’, ‘कसले जित्यो कसले हार्यो’, ‘चरैवेति’, ‘आनन्दमय आकाश’ उनका प्रसिद्ध र जीवन्त कृति हुन् ।  

मदनमणि दीक्षितले वीरगन्जस्थित त्रिजुद्ध हाईस्कुलमा हेडमास्टर भएर जागिर प्रारम्भ गरेका थिए । उनले सन् १९५८ देखि १९६० सम्म त्यस स्कुलका हेडमास्टर भएर काम गरे । त्यसैले उनी ‘मदनमणि माडसाब’ का नामले निकै प्रख्यात भए । दीक्षित सन् १९९४ देखि १९९९ सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति पनि भएका थिए ।

भारतको बनारसस्थित ‘बनारस हिन्दू विश्वविद्यालय’ बाट उच्च शिक्षा प्राप्त गरेका दीक्षित सम्पन्न परिवारमा जन्मिएका हुनाले आर्थिक कठिनाइको सामना गर्नु परेन । त्यसैले उनको मन सानैदेखि लेखन–पठनतर्फ नै उन्मुख भयो । दीक्षितले जीवन र जगत्लाई ज्यादै नजिक र सूक्ष्म किसिमले अध्ययन गरे, बुझे । निरन्तरको परिश्रम र सङ्घर्षबाट खारिएका दीक्षित भन्ने गर्थे– ‘जीवन बाँच्नका निम्ति हो, यससित डराउनु हुँदैन । त्रासबेगर, सङ्घर्षवेगरको जीवनलाई के जीवन भन्ने ?’

०००

मदनमणि दीक्षितले आफ्नै लगानी तथा सम्पादकत्वमा ‘समीक्षा’ नामक पत्रिका प्रकाशित गरेका थिए । तर, २०१७ सालको राजनीतिक परिवर्त ‘समीक्षा’ माथि वक्रदृष्टि राख्न सुरु ग¥यो र राजनीतिक परिवर्तनबारे समाचार प्रकाशित गरेको आरोपमा ‘समीक्षा’ माथि प्रतिबन्ध लाग्यो ।

दीक्षितको स्वामित्वमा सञ्चालित पत्रिका ‘समीक्षा’ माथि २०१८ सालदेखि २०३२ सालसम्ममा पटकपटक प्रतिबन्ध लागेको थियो । अनेकौँपटक उनले काठमाडौँका प्रमुख जिल्ला अधिकारी र बाग्मती अञ्चलका अञ्चल प्रमुख (तत्कालीन अञ्चलाधीश) लाई बयान दिनुपरेको थियो । त्यसबेलामा आफ्नो पत्रिका किन बन्द भयो भनेर कतै उजुरी हाल्न पाइन्नथ्यो । न त अदालतको ढोका सर्वसाधारणका लागि खुला थियो ।

२०३२ साल पुसमा नगेन्द्रप्रसाद रिजालको मन्त्रिपरिषद्लाई तत्कालीन राजा वीरेन्द्रले खारेज गरी डा. तुलसी गिरीलाई मन्त्रिपरिषद्को प्रमुख (प्रम) नियुक्त गरे । त्यसबेलासम्म ‘समीक्षा’ माथि प्रतिबन्ध लागेको थियो । तर, तुलसी गिरीले पहिलेदेखि प्रतिबन्धित पाँच पत्रिकामाथि लागेको प्रतिबन्ध फुकुवा गरे । उनले ‘समीक्षा’ र ‘राष्ट्रपुकार’ माथिको प्रतिबन्ध भने कायम नै राखे । 

‘समीक्षा’माथिको प्रतिबन्ध २०३५ साल मङ्सिर महिनामा भने हट्यो । यसबारे दीक्षितले भनेका छन्, ‘२०३६ सालको राष्ट्रिय जनमतसङ्ग्रहमा त्यो पत्रिका (समीक्षा) ले दिल खोलेर बहुदलको पक्षमा र निर्दलको विरुद्धमा कडा सङ्घर्ष चलायो । त्यो जनमतसंग्रहको परिणामले निर्दललाई जिताए पनि समीक्षा र मेरो सङ्घर्षले भने बहुदललाई जिताएको र जितेको ठहर अहिले पनि गर्ने गर्छु ।’

०००

केवल लेखनमा आफ्नो जीवन उत्सर्ग गर्ने, आफूलाई आफ्नै कर्मद्वारा उच्च स्थानमा पु¥याउने विशिष्ट बौद्धिक क्षमताका मदनमणि दीक्षितले केही वर्षअघि भनेका थिए, ‘यसबीच नेपालमा थुप्रै नवधनाढ्य र करोडपति जन्मिएका छन् । तिनीहरूसित वा विदेशी लगानीकर्तासित पैसा लिएर अखबार चलाउनु म देशप्रति ठूलो अपराध ठान्छु । जीवनमा २०३२ सालको भदौमा एउटा सङ्घर्ष सुरु गरेको थिएँ । मैले पछि २०३९ सम्म त्यो सङ्घर्षलाई सफल अन्त्य गरेको थिएँ । अहिले फेरि समीक्षा बन्द छ, तर मलाई अफसोच छैन किनभने यसपटक मैले कुनै आदर्श वा नैतिक चरित्रको बलिदान गर्नुपरेको छैन ।’

(वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितसँग केही वर्षअघि गरेको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर