कर्णालीका मुख्यमन्त्रीलाई ‘स्याउको माला’ र सन्देश

३८१ दाना स्याउको माला लगाएका मुख्यमन्त्रीले स्याउबारे एक शब्द पनि खर्चिएनन्

कालिकाेट । कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुधबार कालीकोटमा स्याउको मालाले भव्य स्वागत गरियो । खाने स्याउको माला सामाजिक सञ्जालमा समेत तुरुन्तै भाइरल भयो । 

हुन त कास्कीको हेम्जामा आलु महोत्सव हुँदा आलुकै माला, चितवनमा केरा महोत्सव हुँदा केराको माला, वा ठाउँ र परिवेशअनुसार छुट्टै सन्देश दिनका लागि यस्ता काम गरिने प्रचलन नभएको होइन । कर्णालीवासीले मुख्यमन्त्रीलाई स्याउको माला लगाइदिएर सन्देश पठाउन खोजेका थिए ।

मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको गाँउसभा उद्घाटन गर्न पचालझरनाको फेदीमा पुगेका थिए । शाहीले पचालझरनालाई देशको सबैभन्दा अग्लो झरनाको रूपमा स्थापित गर्न आफू लागिपरेको पनि बताए । नेपालको सबैभन्दा अग्लो झरनाको रूपमा पचालझरना रहेको भए पनि यो अहिलेसम्म पर्यटन बोर्डमा दर्ता हुन नसकेको र गराउन आफूले पहल पनि गरिरहेको उनले बताए । 

‘प्रदेश सरकार गठन भएदेखि यता मैले पचालझनाको विकासका लागि धेरै पहल गरेको छु,’ उनले भनेका थिए, ‘हामीसँग अथाह प्राकृतिक स्रोत छन्, ती उपभोग गर्न हामीले पाएका छैनौं, अब यी साधनलाई हामी गुरुयोजना नै बनाएर कर्णाली प्रदेशलाई धनी प्रदेशको रूपमा चिनाउँछौं ।’ 

किन लागाए मुख्यमन्त्रीसहित कार्यक्रमका अतिथिले स्याउको माला ?

सो कार्यक्रमका सबै अतिथिलाई आयोजकले स्याउको माला लगाएर स्वागत गरेका थिए । कर्णालीका स्याउले बजारमा ठाउँमा नपाएको सन्देश प्रवाह गर्नु आयोजकको उद्देश्य थियो ।
तर, मुख्यमन्त्रीले स्याउको माला लगाएर स्याउको अपहेलना गरेको भनेर कतिपयले टिप्पणीसमेत गरे । 

जवाफमा मुख्यमन्त्री शाहीले त्यसको खण्डन गरे । स्याउको अपहेलना नभई अर्गानिक प्रदेशको प्रचारका लागि आफूले स्याउको माला लगाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्पष्टीकरण छ । समाचार दैनिकसँग मुख्यमन्त्री शाहीले भने, ‘मैले अर्गानिक प्रदेशको अर्गानिक फलफूलको प्रचार गरेकोमा के बिग्रेको छ ?’

सन्देश दिन स्याउको माला लगादिएका हौं : अध्यक्ष सेजुवाल 

पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले मुख्यमन्त्रीमार्फत सन्देश प्रवाह गर्नका लागि स्याउको मालाले आफूले स्वागत गरेको समचार दैनिकलाई बताए । खासमा नेपालको सबैभन्दा अग्लो झरनाको रूपमा स्थापित गर्न हामीले पचालझरनाको लम्बाइ ३ सय ८१ मिटर भएको हुनाले ३ सय ८१ दानाको स्याउको ४० किलोको माला लगाइदिएका हौं,’ सेजुवालले भने, ‘यो माला लगाइदिनको प्रमुख कारण भनेको पचालझरनामा फलफूल उत्पादन हुन्छन् र यो फलफूलको पकेट क्षेत्र हो भन्ने सन्देश दिनको लागि हामीले यो तरिकाले स्वागत गरेका हौं ।’

मुख्यमन्त्रीले स्याउको सन्देश निकाल्नुभएन : वडा अध्यक्ष कठायत 

पचालझरना र स्वाउको सन्देश एकैपटक प्रवाह गर्ने स्थानीयको उद्देश्य थियो । तर, मुख्यमन्त्री शाहीले पचालझरनाका बारेमा सम्बोधन गरे पनि स्याउका बारेमा नबोलेपछि कतिपयले सो कुरा मन पराएनन् । ३ सय ८१ दाना स्याउको माला लगाएको भए पनि मुख्यमन्त्रीले त्यो सन्देशका बारेमा चासो नदिएको पचालझरना गाउँपालिका–३ का अध्यक्ष लोकजन कठायतले समचार दैनिकलाई बताए । ‘मुख्यमन्त्रीले यो क्षत्रमा पाइने फलफूल व्यवस्थापनका निम्ति केही भन्नु हुन्छ कि भन्ने लागेको थियो, तर उहाँले यसबारेमा कुनै पनि कुरा निकाल्नुभएन,’ उनले भने । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर