बैजनाथपुर क्रिकेट मैदान प्रकरण : अख्तियारले लग्यो क्रिकेट मैदान सम्बन्धी सबै कागजपत्र 

विराटगनर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा भएको अनियमितताको विषयमा छानविन थालेको छ । बुधबार अख्तियारको अनुसन्धान अधिकृतसहितको टोलीले मैदानको स्थलगत अनुगमन गरेको हो ।

इन्जिनियरसहित इटहरी स्थित आयोगको टोली जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र करारमा नियुक्त भएका दुई इन्जिनियरसमेतलाई लिएर स्थलगत अनुगमनमा गएको थियो । 

सो टोलीले पिच निर्माणलागि खनिएको खाल्डो फित्ता लगाएरै नापेको थियो । त्यसमा प्रयोग भएको इँटा, बालुवा र गिटीको विवरण संकलन गर्नुकासाथै नापजाँच पनि गरेको बताइएको छ । 

अख्तियारले क्रिकेट मैदान निर्माणका क्रममा भएको सम्झौता र त्यसपछि उपभोक्ता समितिबाट प्राप्त बिल भर्पाइ र भुक्तानीको सबै विवरणसमेत लगेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । ‘उहाँहरु आफ्ना प्राविधिकसहित आउनुभएको थियो, हामी सबै सँगै मैदानमा गयौं र उहाँहरुले नापाजाँच सबै गर्नुभएको छ,’ प्रमुख बस्नेतले भने–‘कार्यालयबाट सम्झौता लगायत सबै बिलभर्पाइ र भुक्तानी विवरणको प्रमाणित प्रतिलिपिसमेत अख्तियारले लगेको छ ।’

क्रिकेट मैदानको लागत स्टिमेट बनाई मुल्यांकन रिपोर्ट तयार पार्ने सिभिल इन्जिनियरहरु मिथिलेश मण्डल र दिपेन्द्रकुमार साहसँग मैदानमै अख्तियारका प्रतिनिधिले आवश्यक जानकारीसमेत लिएको थियो । बुधबार पहिलो पटक अख्तियारले क्रिकेट मैदानको आन्तरिकरुपमा अध्ययन तथा अनुसन्धान अघि बढाउदै स्थलगत अध्ययन तथा नापजाँच र प्राविधिक पक्षको बारेमा जानकारी लिएको हो । यस अघि उसले विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरुलाई नोटिसमा लिएको प्रतिकृया दिदै आएको थियो । 

सामाजिक विकास मन्त्रालयले कुल ८५ लाख बजेट विनियोजन गरी जिल्ला स्वास्थ्य कार्यालय मार्फत कार्यान्वयन गर्ने गरी क्रिकेट मैदानको पैसा निकासा दिएको थियो । त्यसमध्ये ४२ लाख रुपैंयामा पिच रोलर, ग्रास कटर, म्याद आदि खरिदकालागि कार्यालयले टेण्डर गरेको थियो । बाँकी रहेको ४३ लाख रुपियाँ अन्तराष्ट्रिय स्तरको पिच बनाउन उपभोक्ता समिति मार्फत खर्च गरेको थियो । उपभोक्ता सहभागिता रकमसहित ४३ लाखमा पिच बनाउने सम्झौता भएपनि समितिले २८ लाख रुपियाँ बराबरको काम मात्र गर्नसकेको भन्दै कर र कन्टिन्जेन्सि रकम कट्टा गरेर २६ लाख ५७ हजार रुपैयाँ भुक्तानी दिएको थियो । 

सरोकारवालाहरुले भने भएको काम भन्दा बढी रकम भुक्तानी लिएको भन्दै असन्तुष्टि जनाएका थिए ।  उपभोक्ता समितिका अध्यक्ष नविन घिमिरेले मैदानको साइड क्लियरेन्स, एक्जाभेजनको काम, र हेभी इक्युपमेन्टले खाल्डोमा रोलरले पेल्ने काम सम्पन्न गरेको जानकारी गराएका थिए । उनले साढें दुई फिट गहिरो खाल्डो खनेर पाँच हाइभा(ट्रिपर) फोडुवा गिटी, ५ हाइभा बालुवा र ३५ हजार ५ सय थान इँटा लेयर मिलाएर राखिएको बताउनुभएको छ । तर खाल्डामा माटो, गिटी, बालुवा आदि गरेर १ हजार ६ सय घनमिटर भन्दा बढी पुरेको भनि बिल पेश गरेर भुक्तानी लिएको देखिएको छ । जुन उपभोक्ता समितिका अध्यक्ष स्वयंले दिएको तथ्यांकसँग मेल खाँदैन । ५ हाइभामा बढीमा ७० घनमिटर गिटी बालुवा हुन्छ । यसरी हेर्दा खाल्डोमा बढीमा १ सय ५० घनमिटर गिटी बालुवाको मात्र प्रयोग भएको देखिन्छ । 

निर्माणाधीन पिचकालागि सम्झौता भएमध्ये १५ लाख रुपियाँ खर्च हुन नसकी फर्किएको छ । तर अब १५ लाख खर्च गर्दा सो पिच भने बन्दैन । सम्झौता अनुसार त्यहाँ पाँच वटा पिच बनाउनु पर्ने छ । पाँच वटा पिच बनाउन मात्र २५ लाख रुपियाँ खर्च हुने उपभोक्ता समितिका सचिव राजेश पोखरेलले यस अघि नै जानकारी दिइसकेका छन् । उनका अनुसार अन्तराष्ट्रिय गुणस्तरको एउटा पिच बनाउन न्युनतम ५ लाख रुपियाँ लाग्छ र मैदान मिलाउनेदेखि माटो पुर्ने लगायत अरु धेरै काम गर्नुपर्ने भएकोले फिर्ता भए बराबरको रकमले पिच बन्न सक्ने अवस्था छैन । 

यसैबीच क्रिकेट मैदान निर्माणको विषयमा प्रदेश सभाको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितताको पाटोमा अध्ययन गरिरहेको छ भने सामाजिक विकास समितिले बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई बोलाएर सोधपुछसमेत गरिसकेको छ । त्यस क्रममा मन्त्री घिमिरेले उपभोक्ता समितिले गरेको काम भन्दा बढी रकम भुक्तानी नदिएको बताएका थिए । उनले मैदान निर्माणका क्रममा कुनै अनियमितता भेटिए तत्काल कारवाही गर्ने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर