• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दुरुत्साहन मुद्दा: मोरङमा एक जना थुनामा, केही धरौटीसहित पुर्पक्षमा

विराटनगर । मोरङ सुन्दरहरैंचा १ का प्रेम राई झुण्डिएको अवस्थामा मृत भेटिए । प्रेमिका सन्जु विश्वकर्मा मोरङ कारागारमा थुनामा छिन् । आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा सन्जु थुनामा परेकी हुन् । प्रेमकी श्रीमती बिमलाले परिस्थितिजन्य आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा किटानी जाहेरी दिएपछि अदालतले सन्जुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । उनी दुई महिनादेखि थुनामा छिन् । 

सुनसरीको इटहरीमा खसि काटेर मासु बेच्ने पसल चलाउदै आएका प्रेम राइको छोरी सहित डेरामा बस्दै आएकी सन्जुसँग करिव चार वर्ष अघि चिनजान भयो । उनीहरुबीच भेटघाट र शारीरिक सम्वन्धसमेत हुनथाल्यो । त्यसबीचमा प्रेमले सन्जुलाई केही रकम पनि सहयोग गरे । अभियोग पत्रमा करिव २२ लाख सन्जुलाई दिएको उल्लेख छ । 

सुन्दरहरैंचा १ स्थित सन्जुको दिदी मन्जुको घरमा प्रेम राईले झुण्डिएर आत्महत्या गरे । त्यस दिन सन्जु जग्गा कारोवारको सिलसिलामा उर्लाबारी गएकी थिइन् । दिउँसो प्रेमले गरेको फोन उनले उठाइनन् । साँझ उनी मन्जुको घर पुगे र फोन किन नउठाएको भनेर सन्जुसँग सामान्य झगडा गरे ।

केहीबेरमै झगडा मिल्यो । साँझ सँंगै बसे । सन्जुले बियर पिइन प्रेमले रेडबुल खाए । श्रीमान श्रीमती नभएपनि उनीहरुबीचको सम्वन्ध सन्जुको माइतीमा खुल्लैजस्तो थियो ।

उनीहरु एउटै कोठामा सुते । ‘दिउँसोको कुरालाई लिएर प्रेमले निहुँ खोजे र कपाल समातेर जगल्ट्याए’ सन्जुले बयानमा भनेकी छिन् ‘त्यसपछि म हुत्तिएर अगाडि पुगें एउटा पुन्यु भेटें त्यसैले हिर्काएँ, टाउको फुटेछ । त्यसपछि हामीलाई छुट्याएर छुट्टाछुट्टै कोठामा सुताउनु भयो ।’ त्यही राती प्रेमले सलको पासो लगाएर मन्जुकै घरमा आत्महत्या गरेछन् । 

पन्युँले हान्दा टाउको फुटेको प्रेमको रगत सफासमेत नगरेको र उपचारको प्रवन्धसमेत नगरेको अवस्थामा आत्महत्याकालागि दुरुत्साहन नभएको भन्ने अवस्था नदेखिएको भन्दै जिल्ला अदालत मोरङले सन्जुको दुरुत्साहन कै कारण भएको भन्ने प्रेमकी श्रीमती बिमलाको माग दावी अनुसार नै थुनामा राखेर पुर्पक्ष गर्न आदेश दियो । अहिले पनि मुद्धा अदालती प्रकृयामै छ । आदेश बदरको माग गर्दै सन्जुले उच्च अदालतमा निवेदन दिएकी छन् । 

अघिल्लो वर्ष २०७५ असोज ७ गते १९ वर्षीया ऐश्वर्य आचार्यले झुण्डिएर आत्महत्या गरिन् । मोरङ रंगेली ८ दर्वेशाका ढकप्रसाद आचार्यले छोरीको आत्महत्या स्थानीय विशाल दाहालको दुरुत्साहनका कारण भएको भन्दै जाहेरी दिए । अदालतले दाहालसँग ५० हजार धरौटी लिएर पुर्पक्ष गर्न आदेश दियो । दाहाल धरौटीमा रिहा भए मुद्दा अदालती प्रकृयामै छ । 

विशाल दाहाल ऐश्वर्या आचार्यका शिक्षक हुन् । कक्षा ९ मा आचार्यलाई दाहालले नै पढाएका थिए । त्यसबेलादेखि नै उनीहरुबीच कुराकानी हुने गरेको रहेछ । जाहेरीमा बाबु ढकप्रसादले दाहाल आचार्यबीच शारीरिक सम्वन्धपनि भएको दावी गर्नुभएको छ तर २९ वर्षीय विशालले भने बयानमा आरोप अस्वीकार गरेका छन् । 

ऐश्वर्याले असोज ७ गते विशाललाई पटक पटक फोन गरिन् । उनले फोन उठाएनन् । उठाएको बेलामा पनि यौनजन्य कुराहरुमात्र गरे । त्यस अघि उनीहरुबीच सामाजिक संजालमा धेरै कुराकानी हुने गरेको भएपनि पछिल्लो समयमा विशालले सञ्जाल बन्द गरेका थिए ।

त्यसबाट ऐश्वर्यालाई मानसिक तनाव भएको दावी गरिएको छ । ‘फोन नउठाउने, उठाउँदा यौनका कुरा गर्ने र विशालले अरु केटीसँग खिचेको तस्बिर पोष्ट गर्ने गर्दा रहेछन्,’ बाबु ढकप्रसादले जाहेरीमा भनेका छन्–‘ति घटनाहरुबाट मेरी छोरीलाई शारीरिक र मानसिक यातना भयो र आत्महत्या गर्न बाध्य बनाइयो ।’ 

अदालतले २०७६ जेठ २७ गतेको थुनछेक बहसपछि बारम्बार म्यासेज वा सम्पर्क गर्दा पनि जवाफ दिएको नदेखिदा निजहरुबीचमा विशेष सम्बन्ध रहको देखिन्छ । त्यसैले विशाललाई निर्दोष भन्न सकिएन, पछि प्राप्त हुने प्रमाणका आधारमा हुने गरी ५० हजार नगद धरौटी लिई पुर्पक्ष गर्नु भनि आदेश दिएको छ ।

आदेश अनुसार विशाल धरौटीमा रिहा भएका छन् । अभियुक्त विशालले अदालतको आदेश वदरको माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएका छन् । 

मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएको एक वर्षको अवधिमा जिल्ला अदालत मोरङमा तीन वटा मुद्दा दर्ता भएको छ । ति सबैमा आदलतले वादीकै पक्षमा आदेश दिएको छ । तीन मध्ये एउटा मुद्दाको प्रतिवादी पुर्पक्षकालागि थुनामा रहेको जिल्ला अदालत मोरङका श्रेष्तेदार इश्वरमणि ओझाले समाचार दैनिकलाइ जानकारी दिए ।

सो ऐनको परिच्छेद १२ को दफा १८५ उपदफा १ मा कसैले कसैलाई आत्महत्या गर्न गर्न दुरुत्साहन दिन नहुने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन भनिएको छ । त्यसो गरेको खण्डमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ । 

दुरुत्साहन सम्वन्धी मुद्दा पीडितको जाहेरीका आधारमा प्रहरीले अघि बढाउँछ । मोरङको पथरीमा केही महिना अघि भएको रिना बस्नेतको मृत्युको विषयमा दुरुत्साहन आकर्षित हुने प्रयाप्त आधार रहेको कानून व्यवसायिहरुले बताउँदै आएका छन् । यद्यपी प्रहरीले त्यस घटनामा भने दुरुत्साहन गरेको भनि मुद्दा अघि बढाएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर