चिकित्सक विहीन बन्दै सेती अञ्चल अस्पताल

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र ठूलो सेती अञ्चल अस्पताल चिकित्सकविहीन हुने अवस्थामा पुगेको छ । आठ जना चिकित्सक सङ्घमा समायोजन भएर जाने तयारी गरेपछि अस्पताल चिकित्सकविहीन हुन लागेको हो । समायोजन भएका सबै जना विशेषज्ञ चिकित्सक हुन् । सेती अञ्चल अस्पतालमा कुल २२ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा ११ जना कार्यरत छन् । ११ दरबन्दी रिक्त रहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

सङ्घमा समायोजन भएका चिकित्सकहरु केहि दिनभित्रै सेती अञ्चल अस्पतालबाट विदा लिएर जाने तयारी गरेका छन् । आठ जना गएपछि अस्पतालमा तीन जनामात्रै विशेषज्ञ चिकित्सक रहनेछन् । ११ औं तहका चिकित्सक एवम् हालको मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेय, गाइनोलोजिस्ट डा. खगेन्द्रराज भट्ट र डा. जगदिश जोशीलेमात्रै प्रदेश रोजेका छन् । प्रदेश सरकारले अस्पतालको सेवा प्रभावित हुन नदिने भने पनि चिकित्सक समायोजनको असर सेती अञ्चल अस्पतालमा देखा पर्न थालेको छ । 

समायोजन भएर जानूभन्दा अगाडि नै सेती अञ्चल अस्पतालमा आवश्यक चिकित्सक ल्याउन आग्रह गरेको अस्पताल प्रशासन, सरकारको शैलीप्रति सन्तुष्ट छैन । ‘प्रदेशको सामाजिक विकास मन्त्रालयलाई तीन पटक लिखितपत्र पठाइ सकेका छौं’, मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेयले भने–‘तर, वास्ता गरिएको छैन । तीन जना चिकित्सकको भरमा यति ठूलो अस्पताल सञ्चालन होला र ?’ सेती अञ्चल अस्पतालको स्थापना कालदेखि अहिलेसम्म कहिल्यै पनि दरबन्दी पूर्ण भएको छैन । 

मानसिक, मुटुरोग, मृगौला विशेषज्ञ कहिल्यै आएनन् । भएका नाक, कान, घाँटी, छाला, बेहोस बनाउने, हड्डी लगायतका विशेषज्ञ डाक्टर समायोजन भएर जाँदै छन् । अस्पतालमा कार्यरत अर्का एक चिकित्सक बिसनसिंह बोहरा केही महिनाभित्रै अवकाश लिदैं छन् ।

समायोजनले अस्पताल रित्तिने अवस्था आए पनि प्रदेश सरकारले चिकित्सक राख्नेबारे गृहकार्यसमेत नगरेको अस्पताल प्रशासनको गुनासो छ । ‘चिकित्सकहरु समायोजना भएर गएमा सेवा, सुविधा प्रदानमा धेरै समस्या हुन्छ’, डा. पाण्डेयले भने–‘किनभने, समायोजन भएका चिकित्सकहरुलाई २१ दिनपछि हामी यहाँ एक दिनपनि रोक्न सक्दैनौं । उहाँहरु जानै पर्ने हुन्छ ।’ केही दिन अगाडि अस्पतालले केही संख्यामा चिकित्सक आवश्यकताको विज्ञापन प्रकाशित गरेको थियो । तर, एक जनाको पनि दरखास्त नपरेको मेसु पाण्डेयको भनाइ छ । 

‘मेडिकल अफिसर नै पाउन गाह्रो भइरहेको छ’, उनले भने–‘पहिल्यै गृहकार्य नगरे कसरी फ्याट्टै विशेषज्ञ डाक्टर पाउने ?’ कार्यरतमध्ये आधाभन्दा बढी चिकित्सक समायोजन भएर गएमा अस्पतालको सेवा प्रभावित हुने सम्भावान छ । तर, प्रदेश सरकारले भने सेवा ठप्प नहुने र सङ्घ रोजेका चिकित्सकहरु सम्भवतः प्रदेशमै रहने जिकिर गर्दै आएको छ । 

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अस्पतालको सेवा ठप्प हुन नदिने बताए । ‘हामी कुनै पनि हालतमा अस्पतालको सेवा प्रभावित हुन दिदैनौं’, उनले भने–‘करारमा भए पनि नयाँ चिकित्सक ल्याएर अस्पतालको सेवा, सुविधालाई यथावत राख्छौं ।’

मासिक तीन लाख रुपैयाँ तलब दिएर चिकित्सक राख्न सक्ने मन्त्रीको भनाइ छ । नयाँ विज्ञापन खोलेर चिकित्सक राख्ने भन्दै उनले अगाडि–‘सेती अञ्चल अस्पतालको मात्रै हैन, कुनै पनि अस्पतालको सेवा, सुविधा प्रभावित हुँदैन ।’ २४० सैयाको सेवा दिदैं आएको सेती अञ्चल अस्पताल हाल प्रदेश सरकारको मातहतमा सञ्चालन भइरहेको छ । अस्पतालमा सेवाका लागि दैनिक पाँच सयको हाराहारीमा सेवाग्राही आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । सङ्घमा समायोजन भएका सात जना चिकित्सकले प्रदेशमै रहने भनेर सामाजिक विकास मन्त्रालयमा निवेदन दिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

अस्पतालमा कार्यरत धेरै चिकित्सकले समायोजनमा सङ्घ रोजे पनि सजिलै प्रदेशबाट जान नसक्ने मन्त्री सुवेदीले जिकिर गरे । ‘यो ठाउँमा उहाँहरुको निजी क्लिनीक छ, करोडौंको सम्पत्ति छ’, मन्त्री सुवेदीले भने–‘त्यसलाई चटक्क छोडेर उहाँहरु यहाँबाट जान सक्नु हुन्न ।’ उनले समायोजन भएका सम्भवतः सबै चिकित्सक यहिँ रहने जिकिर गरे । ‘समायोजनमा सङ्घ रोजे पनि अहिले फेरि प्रदेशमै राख्नु प¥यो भनेर चिकित्सकहरुको निवेदन आउने क्रम जारी छ’, सुवेदीले भने–‘सायद्, कोही जानु हुन्न ।’ समायोजनले अस्पतालमा चिकित्सक अभाव भएमा विरामीको उपचारमा धेरै समस्या हुने सम्भावना छ । ‘जनशक्ति नै भएन भने उपचारमा गाह्रो हुन्छ’, मेडिकल सुपरिटेन्डेन्ट पाण्डेयले भने–‘गाइनेबाहेक सबै वार्डमा समस्या हुन सक्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर