• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कविता : स्वतन्त्रता दिवस !

हैट, दिवसहरू कति हुन कति 
तर एउटा दिवस अझै आएन !

प्रजातन्त्र दिवस
पर्यावरण दिवस
आगो दिवस
पानी दिवस
धुवाँ दिवस
खरानी दिवस 
हरेक दिन दिवस नै दिवस !

यत्रो दिवसको भिडमा
एउटा दिवस कतै अड्केको छ
कतै हराएको छ
कतै पुरिएको छ
कतै थुनिएको छ 
देवकी लामिघाते बैनी 
खै तिम्रो दिवस कहाँ रोइबसेको छ ?

तिमीले 
टोपी दिवस देख्यौ
देख्यौ मात्रै होइन
सायद टोपी नै ढल्कायौ 
तिमीले सारी दिवस देख्यौ ?

तिमीले जनै दिवस देख्यौ
सायद 
उदार मनले शुभकामना पनि दियौ
तिमीले आरन दिवस देख्यौ ?

त्यस्तो दिवस 
जुन दिवसपछि
तिम्रो टाउको टेक्ने भगवान नहोऊन
तिम्रो जगल्टा लुछ्ने पुरुष नहोऊन
तिम्रो भाग खोस्ने कोही नहोऊन 
कसैको दिर्घायुको लागि
तिमीले भोकै बस्नु नपरोस
तिमीले त्यस्तो दिवस देख्यौ ?

युगौंका पर्खाल भत्काएर
सिक्री चुडाएर 
भक्ष र अभक्षका
भद्र र अभद्रताका
वाच्य अवाच्यका
पाच्य र अपाच्यका
सभ्य र असभ्यका
सालिन र वाइफालेका
पतिव्रता र वेश्याका
केवल तिम्रो लागि निर्मित
सारा सीमा नाघेर 
तिमी आँगनमा निस्कन मिल्ने
समयसँग जिस्कन मिल्ने 
त्यस्तो दिवस देख्यौ देवकी ?

त्यस्तो दिवस
जुन दिवसपछि
कुनै अतिरिक्त अपमान नहोस
विभेद नहोस
तिरस्कार नहोस
उत्पीडन नहोस 
डर त्रास नहोस
हरेक साँझ
सकुसल घर फर्कने नफर्कने
अनिश्चयको वादल नहोस 
के तिमीलाई त्यस्तो दिन मन पर्दैन ?

देवकी बैनी 
पुरुषहरूले निर्माण गरेको बाटो हिडेर
तिम्रो स्वतन्त्रता दिवस आउला त ?
आयो नै भने पनि कुनै दिवस
त्यो तिम्रो दिवस होला त ?

दिवसै दिवसको भिडमा मैले
तिम्रो स्वतन्त्रता दिवस देखिन 
देवकी बैनी ,
तिमीले स्वतन्त्रता दिवस मनाइसक्यौ र ?


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर