• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मनको गति

जब फेसबुकमा देख्छु 
तिम्राे ठूलो तस्बिर
एकाएक झसंग हुन्छु म
ढक्क फुल्छ मुटु 
कतै..... !

आशंकाले घेरिन्छ मन
व्यक्त गर्न सक्दिनँ
केवल सोच्छु मात्र
कति छिटो उठ्छ तरंग
पढ्नुअघि फोटोमाथि 
लेखिएका शब्द
जहाँ हुनसक्छन्
तिम्रा लागि दिइएका 
जन्मदिन वा
‘म्यारिज एनिभर्सरी’का शुभकामना
जब अखबारमा देख्छु तिम्रो बडेमानको तस्बिर
किन–किन आत्तिन्छु म
सोहोरिन्छ मन
सेलाउँछ स्फूर्ति
कतै.... !


निसासिन्छ मन
फेरि पनि अव्यक्त नै हुन्छु
तर, रोक्न सकिँदो रहेनछ मनको वेग
जबसम्म आँखामा पर्दैनन्
तिमीलाई दिइएका बधाई सन्देश 
ढुक्क हुन सक्दिनँ म ।

ओ मेरा प्रिय मान्छेहरू !
यसरी नछपाउनु अखबारमा तस्बिर
हत्तपत्त उठाउन डर लाग्छ मलाई
अपरिचित नम्बरबाट आएको फोन
अशुभ समाचारको भयले 
फत्रक्क गल्छ आङनारी ।
परिचित नम्बरले पनि
ढुक्क हुन त कहाँ दिन्छ र !

काममा व्यस्त रहेका बेला
जब एकाएक आउँछ 
श्रीमतीको नम्बरबाट फोन
उठाउनुअघि सम्झन्छु 
स्कुल गएको छोरो
कलेज गएकी छोरी
बूढा बा–आमा
घरमाथिको पहिरो
बौलाहा खहरे
यस्तै के–के हो, के–के
अनिष्ट सन्देशको भयले 
किन यसरी लेखेटिन्छु म ?

फोनमा सुन्नुअघि तिम्रो स्वर
हुँदैन मेरै काबुमा मेरो मन
थाम्नै सक्दिनँ अनन्त शृंखला सोचाइका
के–केसम्म सोच्न सक्छ यो मन !


प्रश्न गर्न मन लाग्छ
ओ वैज्ञानिक !
विद्युत्को गति पत्ता लगाएजस्तै
प्रकाशको गति नापेजस्तै
अहिलेसम्म किन आविष्कार गरेनौ
मनको गति नाप्ने कुनै यन्त्र ?
०००
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर