• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘जिन्दगी सोचेभन्दा नसोचेको ज्यादा’

जिन्दगी लुगा भए
फुकालेर झुन्ड्याउनु हुन्थ्यो–
कोठाको कीलामा
र एकछिन हेरिरहनु हुन्थ्यो–
आफू झुन्डिएको आफ्नै कोठाको कीलामा !

जिन्दगीबारे यी हरफ लेख्ने कविले जिन्दगीको ‘डायमन्ड जुब्ली’ अर्थात् हीरक जयन्ती मनाइसकेका छन् । उनले जिन्दगीको धेरै आरोह–अवरोह व्यतीत गरिसकेका छन् । जिन्दगीबारे उनी बृहत् व्याख्या गर्छन् । जिन्दगीबारे यस्तो कविता लेख्ने कवि हुन्– तुलसीप्रसाद जोशी, अर्थात् तुलसी दिवस । 

१९९७ सालमा धनकुटा ठाडोबजारको गणेशस्थान टोलमा जन्मिएका हुन् तुलसीप्रसाद जोशी । महाप्रसाद र चण्डिका दम्पतीको पहिलो सन्तान हुन् उनी । तुलसी रोप्ने दिन अर्थात् ठूली एकादशीको छेक पारेर जन्मिएका रहेछन् उनी । त्यसैले बाजे कृष्णमानसिंह जोशीले उनको नाम तुलसीप्रसाद राखिदिएका रहेछन् । अलिक बुझ्ने भएपछि या सिर्जनातर्फ लागेपछि तुलसी नाम अलिक ‘कमन’ लागेछ उनलाई । अनि आफ्नो न्वारान आफैँ गरेछन्– तुलसीमा ‘दिवस’ जोडेर तुलसी दिवस । 

जिन्दगीमा भोलि के हुन्छ कोही भन्न सक्ने स्थितिमा नभएको बताउँछन् उनी । जिन्दगीमा जति बेला पनि जे पनि हुन सक्छ भनेर त्यसका लागि तयारी भएर हर मान्छे रहनुपर्छ भन्ने पक्षमा छन् उनी । भन्छन्– ‘त्यसैले हामी जिन्दगीलाई आआफ्नो ढंगले अगाडि बढ्ने क्रममा सुरक्षित हुन चाहन्छौँ । हरेक मान्छेको योजना पूर्ण हुन जरुरी छैन । र भएको पनि म देख्निनँ ।’ हरेक मान्छे केही न केही असन्तुष्टि लिएर जान्छ भन्ने पक्षमा छन् उनी । 

जिन्दगीमा अनेकौँ अनुभव छन् उनीसँग । भन्छन्– ‘जिन्दगीलाई परिभाषित गरेर थाहा पाउनु र जान्नु भन्दा बाँचेर जान्नुपर्छ भन्ने मलाई लाग्छ । जिन्दगीलाई एउटा उत्सवको रूपमा हर व्यक्तिले ग्रहण गर्नुपर्छ । जिन्दगीमा उकालो पनि छ, ओरालो पनि छ । दुःख पनि छ, सुख पनि छ । अँध्यारो पनि छ, उज्यालो पनि छ । जिन्दगीलाई एउटा पाटाबाट हेर्ने दृष्टिकोणबाट आजको समयमा हर स्रष्टाले अमलेख पाउनुपर्छ र जिन्दगीलाई भरसक सगोलमा हेर्ने दृष्टिकोण विकसित गर्नुपर्छ ।’ 

०००

दिवस बाल्यकालदेखि नै साहित्य तथा चित्रकारितातिर झुकाव राख्थे । धनकुटाको जोशी परिवार कला, संस्कृति, नाचगान, भजनकीर्तन र चित्रकलामा सक्रिय थियो । तर त्यहाँ कुनै साहित्यिकार वा कवि भने निस्किसकेको थिएन । त्यो स्थितिमा उनले लेख्न थाले । स्कुलमा पढ्दादेखि नै चित्रकलामा रुचि थियो उनमा । त्यसबेला स्कुल लेभलमा ड्रइङ विषय थिएन । त्यसैले नौ कक्षामा पढ्दा चित्र बनाउन पाउने लोभले उनले ऐच्छिक विषय बायोलोजी लिएर पढेछन् । 

धनकुटाको गोकुण्डेश्वर माविबाट २०१३ सालमा एसएलसी पास गरे उनले । अनि आइएस्सी पढ्न काठमाडौं आए । पाठ्यपुस्तक सँगसँगै साहित्य पढ्न थाले उनी । बायोलोजी लिएर डाक्टर पढ्न काठमाडौं आएका दिवस आइएस्सी पढेपछि बिए पढ्न थाले । विज्ञान विषय आफ्नो कपको चिया नभएको ठहर गरी मावविकीमा भर्ना भए उनी । 

चित्रकलामार्फत रङ, ब्रस र क्यानभासद्वारा आफूलाई अभिव्यक्त गर्न चाहन्थे दिवस । तर उपयुक्त ढंगले त्यो विकसित नभएकाले पछि अभिव्यक्तिको माध्यम बदलेर रङ र ब्रसबाट उनी शब्द वा भाषामा आए । अर्थात् उनी कथा–कविता लेख्न थाले । सुरुसुरुमा कथा लेख्ने दिवस बिस्तारै कवितातर्फ मोडिए ।

०००

दिवस शब्द भन्दा पनि ध्वनिका कवि हुन् । उनको वाचन शैलीको धेरैले प्रशंसा गर्छन् । उनका अनुसार कविता मुद्रणका लागि मात्र होइन, वाचनमा आउनुपर्छ । भन्छन्– ‘मुद्रणमा आउँदासम्म कविता ओछ्यानमै सुतिरहेको हुन्छ, त्यसलाई ध्वनिमा उच्चरित गरेपछि मात्र कविता हिँड्डुल गर्छ । कविले लेखेको कुरा वाचन गर्दा मात्र उसले अभिव्यक्त गर्न खोजेको कुरा प्रस्टिन्छ ।’

दिवसको मान्यता छ, कविता वाचन गर्दा थ्री–भी आवश्यक पर्छ– भोकल, भाइब्रेन्ट र भिजुअल । उनका अनुसार कविता वाचन गर्दा भोकल बोल्ड हुनुपर्छ, अनि भाइब्रेन्ट अर्थात् जीवन्त र भिजुअल हुनुपर्छ । भन्छन्– ‘कविता वाचन गर्दा वाचित शब्दहरूको माध्यमद्वारा चित्रहरू प्रस्तुत गर्न सक्ने क्षमता र सामथ्र्य भएको कविताले श्रोताहरूलाई आवश्यक ढंगले प्रभाव दिन सक्दछ भन्ने कुरामा विश्वास भएका कारणले कवितालाई मुद्रणमा मात्र नभएर भिजुअल अर्थात् सिडीमा पनि ल्याउनुपर्छ ।’ 

धेरै लेख्दैमा चर्चित हुने मान्यताका कट्टर विरोधी हुन् उनी । जति लेखिन्छ उत्कृष्ट लेख्नुपर्ने धारणा छ उनको । पाँच दशकअघि लेखेका कविता अहिले पनि विभिन्न कविगोष्ठीहरूमा सुनाउँदै हिँड्छन् उनी ।

दिवस कवितालाई सिद्धान्तमा राखेर परिभाषा गर्दैनन् । आजका कविता हेरेर–पढेर र सिद्धान्त बनाएर मूल्यांकन गरिनुपर्ने पक्षमा छन् उनी । मान्छेले अहिलेसम्म आर्जन गरेको सबैभन्दा माथिल्लो तहको भाषिक कलात्मक अभिव्यक्ति नै कविता हो भन्ने मान्यता छ उनको । 

दिवस भन्छन्– ‘कविताको व्याख्या र वकालत स्वयम् कविले गर्नुपर्छ । कविले नै आफ्नो कविताको वकालत गरेर स्पष्ट पार्ने प्रयत्न र कोसिस गर्नुपर्छ । कुन बेला, कहिले, कुन मुडमा मैले लेखेँ भनेर अनुत्तरदायी कुरा गर्ने अधिकार स्वयम् कविलाई छैन । हर कविले यो कविता यसकारण, यस्तो अवस्थामा, यो भन्नका निम्ति मैले यस्ता बिम्बहरूको संयोजन गरेर लेखेको हुँ भनेर सचेत जानकारी राख्नुपर्छ ।’ 

उनको विचारमा यस अवस्थामा कविता संख्यात्मक रूपमा कम लेखिन्छ । उनका विचारमा सिर्जनशील लेखनमा कसले कति संख्यामा लेख्यो, कति बढी लेख्यो त्यो महŒवपूर्ण हुँदैन । कसले कति महŒवपूर्ण लेख्यो, कति विशेष ढंगले लेख्यो त्यो महŒवपूर्ण हुन्छ । त्यसै आधारबाट स्रष्टाको मूल्यांकन गरिनुपर्छ र हेरिनुपर्छ । 

०००

उनी पछिल्लो समय कविताभन्दा पनि लोकवार्ता अनुसन्धानमा क्रियाशील छन् । लोकवार्ता भन्ने शब्दको पहिलो प्रयोग २०२४ सालमा उनले नै गरेका हुन् । ‘नेपाली लोकवार्ता गतिशील वैज्ञानिक शास्त्र’ शीर्षक लेख लेखेर ‘हाम्रो संस्कृति’ पत्रिकामा छापेपछि लोकवार्ता एउटा प्राज्ञिक विषयका रूपमा देखा प¥यो । पछि लोकवार्ता संस्कृति समाज स्थापना भयो र उनी त्यसैमा क्रियाशील भए । 

लोकवार्तातर्फ लाग्नुको कारणबारे उनी भन्छन्– ‘नेपाललाई चिनाउँदा मृत संस्कृतिको उल्लेख र बढी प्रशंसा गरियो । जीवन्त संस्कृतिलाई त्यति ध्यानमा राखिएन । जीवित संस्कृतिको रूपमा लोकवार्ता र लोकसंस्कृति आउँछ । त्यो मान्छेसँगसँगै रहन्छ ।’ उनले लोककविता पनि लेखे । र अहिले पनि लेख्दै छन् । लोकवार्ता, लोकसाहित्य र लोकसंस्कृतिबाट नै कवितालाई आवश्यक बिम्ब र तŒवहरू उनी ग्रहण र उपयोग गर्छन् । 

दिवसको कविताको पहिलो संग्रह २०३९ सालमा प्रज्ञा प्रतिष्ठानबाट निस्कियो । त्योभन्दा अगाडि उनका लोककथा, लोकसंस्कृति विषयका केही कृति प्रकाशित भइसकेका छन् । डेढ दर्जनजति कृति लेखन÷सम्पादन गरिसकेका दिवसका सात–आठवटा कृति प्रकाशोन्मुख अवस्थामा छन् । अहिले तिनैको संकलन र सम्पादन कार्यमा लागिरहेका छन् उनी । ‘नेपाली लोककथा’– ‘नेपाली लोककथा केही अध्ययन’– ‘धिमाल प्रदर्शनकारी लोकसंस्कृति’– ‘नेपाली लोकसंस्कृति संगोष्ठी’– ‘धिमाल लोकधर्म र संस्कृति’– ‘तुलसी दिवसका कविता’लगायतका कृति लेखेका दिवस अंग्रेजी भाषामा पनि कलम चलाउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब डेढ दर्जनजति पुरस्कार पाएका छन् उनले । त्यसबाहेक विभिन्न कवि गोष्ठी तथा विभिन्न कार्यक्रममा सम्मानित पनि भएका छन् । 

०००

जिन्दगीबारे अलिक खुलेर बोल्छन् उनी । भन्छन्– ‘जिन्दगीको अर्थ दिने त स्वयम् व्यक्तिको कर्म हो । जिन्दगी आफैँ अर्थपूर्ण हुँदैन, जिन्दगीलाई अर्थपूर्ण बनाउँछ मान्छेले कर्म गरेर बाँचेर । जीवनलाई स्वीकार गर्दा यसको उज्यालो पक्षलाई मात्र सोचेर हुँदैन, जिन्दगीलाई ग्रहण गर्दा यसका दुःख, कष्ट, पीडा सबैलाई ग्रहण गर्नुपर्छ । यी सबैलाई मान्छेको जिन्दगीमा छ र ती सबैलाई भोगेर नै हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरालाई ग्रहण गर्नुपर्छ ।’ 

एक दशकअघि जोशी परिवारले ठूलो दुर्घटना सामना गर्नु पर्यो । उनका परिवारका पाँचजना सदस्यलाई धनकुटाबाट काठमाडौं फर्कने क्रममा तराईको धन्सार खोलाको पुल भत्किएका कारण खोलाबाट गाडी तर्ने क्रमा खोलाले बगाएर एक चिहान बनायो । दुर्घटनामा दिवसका बहिनीहरू समी, जयन्ती, कान्छा भाइ जीवन, बहिनीज्वाइँ नरोत्तम राजभण्डारी र दिदी इन्द्रायणी प्रसाई परेछन् ।

भोलिपल्ट बिहानै बुबालाई घटनाबारे सुनाउँदा बुबाले एक शब्द नबोलेको बताए उनले । उनी भन्छन्, मेरा पो भाइ–बहिनी थिए त, बुबाका त आफ्नै छोराछोरी हुन् । त्यसको पीडा त उहाँलाई नै धेरै थियो ।’

त्यसको डेढ वर्षपछि बुबाको निधन भयो । एक दशकअघि आमाको निधन भइसकेको थियो । बुबाको निधन भएपछि कपडा खोल्ने क्रममा कोटको देब्रेपटिको खल्तीमा कागजले बेरेको अवस्थामा केही सामान रहेछ । खोलेर हेर्दा तिनै दुर्घटनामा परेका कान्छा छोरा जीवनको तस्बिर रहेछ । 

त्यो दुर्घटनापछि दिवसका बुबाछोराबीच त्यस घटनाबारे कहिल्यै कुरा भएन । उनी भन्छन्– ‘बुबालाई लाग्दो रहेछ यो कुराले मलाई पिर पर्छ भन्ने, तर मचाहिँ यसले बुबालाई पिर्ला भनेर कहिल्यै कुरा कोट्याउँदिनथेँ ।’ 

त्यसैले उनी भन्छन्– ‘जीवन अनिश्चित नै छ बढी, त्यसको निम्ति हामी तयारी भएर बस्नुपर्छ । मान्छेले सबैभन्दा बढ्दा आफ्नो भावनालाई आफ्नो संवेदना र अनुभूतिलाई व्यवस्था गर्न जान्नुपर्छ । व्यवस्थापन गरेन र असन्तुलित भयो भने जिन्दगी असफल मात्र होइन, जिन्दगी बाँच्नै गाह्रो हुने स्थिति हुँदोरहेछ ।’

जिन्दगी कस्तो हुनुपर्छ भन्ने जिज्ञासा यसरी मेटाउँछन् उनी– ‘जीवन कहिल्यै सोचेजस्तो हुँदैन । हामीले खोजेजस्तो हुँदैन । हामीले चाहेजस्तो हुँदैन । हामीले इच्छा गरेजस्तो हुँदैन । त्यस्तो भइदिए त हुन्थ्यो तर त्यस्तो हुँदैन । जिन्दगी के हुन्छ के हुँदैन भनेर हामी प्रस्टसँग तोकेर बताउन सक्ने स्थितिमा छैनौँ । जिन्दगी कुनै पनि बेला केही पनि हुन सक्छ ।’ 

उनी अझ प्रस्ट्याउँछन्– ‘जिन्दगी सोचेभन्दा नसोचेको ज्यादा । भोगेको भन्दा नभोगेको ज्यादा । बुझेको भन्दा नबुझेको ज्यादा । देखेको भन्दा नदेखेको ज्यादा ।’ 

०००

दिवसले स्नातक पढिसकेलगत्तै धनकुटा क्याम्पसमा पढाउन सुरु गरे । पछि काठमाडौंमा पद्मकन्या र त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गरे । २०२० प्राध्यापन गर्न सुरु गरेका उनी २०५६ सालसम्म निरन्तर लागिरहे । यसबीचमा उनले जापान र अमेरिकाका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरमा रूपमा प्राध्यापन गरे । यस्तै जापान, कोरिया, मलेसिया, अमेरिका र बेलायतमा दर्जनौँ गोष्ठी तथा भेलाहरूमा लोकवार्तासम्बन्धी कैयौँ कार्यपत्र प्रस्तुत गरेका छन् । 

प्रज्ञा प्रतिष्ठानमा दुई कार्यकाल प्रज्ञा सदस्य भएर उल्लेख्य काम गरे उनले । प्रज्ञा प्रतिष्ठानका उनी कान्छा सदस्य हुन् । २९ वर्षको उमेरमा प्रज्ञा प्रतिष्ठानका सदस्य भए । उनी प्रज्ञा गएपछि बहुल जाति, बहुल संस्कृति, बहुल भाषा, बहुल धर्मको देश भएको हुनाले विविधि जातजातिको सांस्कृतिक अध्ययनअन्गर्तत उनीहरूका लोकजीवनको अध्ययन गर्ने परम्पराको थालनी गरे । त्यसअन्तर्गत धिमालहरूको लोकजीवनको अध्ययन गर्ने काम उनले सुरु गरे । 

त्यसैगरी, उनी प्रज्ञामा हुँदा पहिलोपल्ट राष्ट्रिय लोकसांस्कृतिक गोष्ठीको आयोजन गरियो । त्यसमा विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई कार्यपत्रहरू प्रस्तुत गराएर तीनदिने गोष्ठी आयोजना भयो । त्यहाँ प्रस्तुत भएका कार्यपत्रहरू समेटेर उनको सम्पादनमा पुस्तक पनि प्रकाशित भयो । त्यस्तै, नेपालमा विविध क्षेत्र र विविध जातजातिमा छरिएर रहेका एक सय पच्चीसवटा जति कथा संकलन गरी उनको सम्पादनमा ‘नेपाली लोककथासंग्रह’ शीर्षकमा प्रकाशन भयो । त्यसैगरी, उनको सक्रियतामा नेपालमा पहिलोपल्ट नेपालका विभिन्न क्षेत्रमा, विभिन्न अवसरमा बजाइने लोकबाजाहरूलाई एकत्रित संकलन गरेर त्यसको प्रदर्शनी गरियो । 

दिवस कल्चरल काउन्सिलर भएर दिल्ली पनि गए । त्यहाँ रहँदा उनले नेपालका विशिष्ट साहित्यकारहरूको जन्मदिनमा विभिन्न कार्यक्रम पनि गरे । नेपाली र भारतीय लेखक–साहित्यकारलाई एक ठाउँ भेला गराएर उनले अनेकौँ साहित्यिक–सांस्कृतिक कार्यक्रम सम्पन्न गराए । 

०००

जिन्दगीलाई कहिल्यै अंकगणितका रूपमा लिएनन् उनले । जिन्दगीमा आफू कति सन्तुष्ट छन् त्यसको हरहिसाब पनि गरेका छैनन् उनले । त्यसको हरहिसाब गरेर नसकिने बताउँछन् उनी । भन्छन्– ‘जिन्दगी हरहिसाबबाट निस्किने कुरा पनि होइन । हर क्षण जो बितिरहेको छ, त्यो फर्केर आउँदैन, तैपनि त्यति संवेदनशील भएर हर क्षणलाई उपयोग गर्ने चेतनाको सदुपयोग गर्न सकिरहेका छैनौँ हामी ।’

जिन्दगीमा असन्तुष्टि बोकेर हिँड्न नहुने धारणा राख्छन् उनी । ‘हिजो त बितिसक्यो, तब फर्केर त्यहाँ पुग्न सकिँदैन, अगाडि बढ्न मात्र सकिन्छ । भोलि आउँछ–आउँदैन भन्ने टुंगो पनि छैन । अहिले एकैछिनमा जे पनि हुन सक्छ । तर त्यसो भन्दैमा वैराग्य बोकेर घरपरिवार, इष्टमित्र र संसारलाई परित्याग गर्ने पनि हुँदैन । र जीवनलाई सार्थक बनाउनका निमित्त हरेक मान्छेले आफ्नो सीमाबाट प्रयत्न र कोसिस गर्नुपर्छ र गरिरहेकै हुन्छन् । त्यसमा कोही सफल हुन्छन् त कोही असफल । तर असफलतामा हामीले रोइकराइ गर्नु र पश्चात्ताप गर्नु पनि छैन, सफलतामा बढ्दा फुर्किनुपर्ने पनि हुँदैन ।’

बेलुका अलिक ढिलो सुत्ने र बिहानी पनि ढिलै उठ्छन् उनी । बिहान उठेर दूधसँग हल्का खाजा खाएपछि दिनभरिका कामको योजना बनाउँछन् । यात्राका लागि उनीसँग चिटिक्कको कार छ । ड्राइभिङ आफैँ गर्छन् । यसरी नै बाँकी जिन्दगीलाई गति दिइरहेका छन् उनी । 

०००

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर