• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

काश्मिरमा टेलिफोन र टु–जी इन्टरनेट सेवा पुनः सुरु

तस्विर : वेब

एजेन्सी । झण्डै दुई साता लामो समय कर्फ्यु र प्रतिबन्धमा रहेको काश्मिर उपत्यकामा शनिवारबाट विस्तारै खुकुलो पार्न थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सुरक्षा व्यवस्था कडाई गर्दै भारत सरकारले जम्मू–काश्मिर क्षेत्रमा विगत झण्डै दुई सातादेखि टेलिफोन तथा इन्टरनेट सेवा बन्द गराएको थियो । 

भारतको संविधानबाट जम्मू–काश्मिरलाई दिइदै आएको विशेषाधिकार खारेज गरेपछि सम्भावित हिंसालाई भड्किन नदिन केन्द्र सरकारले कडा सुरक्षा व्यवस्था अपनाएको छ । 

पिटिआईको रिपोर्टअनुसार, एक सयबढी टेलिफोन एक्सचेन्जमध्ये १७ वटालाई पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरुले बताएका छन् । यी एक्सचेन्ज अधिकतर सिभिल लाइन्स क्षेत्र, छावनी क्षेत्र, श्रीनगर जिल्ला विमानस्थल नजिकै छ । मध्य काश्मिरको बडगाम, सोनमर्ग र मनिगममा ल्याण्डलाइन सेवा पुन सञ्चालन गरिएको बताइएको छ । 

त्यस्तै, उत्तर काश्मिरको गुरेज, तंगमार्ग, उरी केरन करनाह र तंगधार क्षेत्रमा तथा दक्षिण काश्मिरको काजीगुन्ड र पहलगाम क्षेत्रमा सेवाहरु पुन सञ्चालनमा ल्याइएको छ । 

त्यस्तै, एएनआईको रिपोर्ट मान्ने हो भने जम्मू संभागको जम्मू, रियासी, साम्बा, कठुआ र उधमपुर जिल्लामा टु–जी सेवा पुन सञ्चालन गरिएको छ । 

जम्मू–काश्मिरमा धेरै जस्तो फोनको नेटवर्क यस साताभित्र पुन सञ्चालनमा आउने र विद्यालय अर्को साताबाट खुल्ने बताइएको छ । त्यस्तै, शुक्रबार राज्य सरकारको कार्यालयहरुमा सामान्य ढंगले कामकाज भएको र केही कार्यलयहरुमा उपस्थिति पनि राम्रो रहेको बताइएको छ । 

स्वायत्त राज्यको अधिकार खोसेर केन्द्रीय सरकार मातहत नै ल्याउने निर्णय केन्द्रीय सरकारले गरेपछि हिंसा भड्कीन सक्ने आशंका गरेर कश्मीरमा संचार सेवादेखि प्रदर्शन गर्न नपाईने लगायतका कानुनहरु लागु गरेको थियो ।

काश्मिरमा अहिले दशौँ हजार थप सुरक्षाकर्मीहरु खटाइएको छ । पाँच लाखभन्दा बढी सुरक्षाकर्मी यसअघि नै रहेका थिए ।  

हिन्दुहरुको बाहुल्यता रहेको जम्मुमा भने तुलनात्मक रुपमा धेरै शान्त रहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले निषेधात्मक कानुनहरु विस्तारै खुकुलो पारिदै लगिने र जनजीवन सामान्य हुने अपेक्षा गरिएको बताएका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर