• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मध्यपहाडी लोकमार्ग मंगलबारदेखि खुल्ने

बागलुङ । बाढीले क्षति पुर्रयाउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मंगलबारदेखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पु¥याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ ।

तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २ सय मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो । पहिलेको भन्दा १० मिटर माथिबाट अस्थायी मार्ग खोल्ने काम भइरहेको आयोजना व्यवस्थापनले जनाएको छ । 

‘ग्रेड मिलाउने र फिलिङ गर्ने काम भइरहेको छ, भदौ ३ गतेदेखि लोकमार्ग नियमित सञ्चालनमा आउँछ,’ लोकमार्गका इन्जिनियर अर्जुन गौतमले भने । शुक्रबार साँझदेखि एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन मात्र एकतर्फी रूपमा चल्न दिइएको उनले बताए । 

निर्माणको काम बाँकी नै रहेको र वर्षात्का कारण जोखिम भएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको जनाइएको छ । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निशीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । 

पश्चिमको व्यापारिक केन्द्र बुर्तिबाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका छैनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात ठप्प छ । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडिगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । 

बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् । अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रु बोक्ने सवारीसाधन वारिपारि भएर चले पनि खाद्यान्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ ।

गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो ।    सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर