• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चितवन कोशेली घर : चितवनमा बढे महिला उद्यमी

चितवन । हरेक दिन बिहान उठ्नेबित्तिकै बिस किलो पिठो मुस्ने । खुर्मा, फिना रोटी, अर्सा, निम्किन वा सेलरोटी आदी दैनिक बनाउनपर्ने खानेकुराका मेनु हुन् । तीनै सामानका लागि आवश्यक सामान जोहो गर्ने ।

अडरका सामान बनाएर घर–घरमा पुर्याउने हो की पसलको माग पूरा गर्ने वा कोशेली घरमा कुरेर बसेका ग्राहकलाई लगिदिने । यसरी नै दिन बित्ने गरेको छ आशा अधिकरी (राममाया) को दैनिक । 

विगत आठ वर्षदेखि दैनिकी फेरीएको छ, राममायाको । विभिन्न सात प्रकारका परिकार खुर्मा, फिनी रोटी, अर्सा, निम्कीन, चिनी रोटी, खजुरी र सेल रोटी कोही कसैलाई आवश्यक परेमा अहिले भरतपुरमा सम्झने नाम हो ‘राममाया’ । 

उनको विगतको आफ्नै कथा छ ।

बिवाह गरेको केही समयमा नै श्रीमान गुमाइन राममायाले । अहिले उनको साथमा एक ‘छोरी’ मात्र छिन् । 

अन्तरजातीय विवाह गरेका कारण माइतिमा आउजाउ थिएन । श्रीमान त बितेर गए, तर काखे छोरीको मायाले उनलाई जिउन प्रेरणा दियो । छोरीको मायाले तान्यो । 

त्यतिबेला उनको हातमा  कपडा सिनउने सिप मात्र थियो । आफ्नो सानो भाडाको कोठामा दिदी बिहीनीको सहयोगमा एउटा कपडा सिनउने मेशिन किनेर लुगा सिलाउन थालिन् ।

तर, हुर्कदैँ गएकी छोरीको पढाई खर्च कोठा भाडा र खान लगाउन गाह्रो भयो । राममाया विगत सम्झँदै भन्छीन््, ‘नेवारको छोरी रोटी बनाउन आउँथ्यो । वल्लो घर पल्लो घर बिवाह ब्रतबन्ध हुँदा रोटी बनाउन थालेँ ।  सबैले मेरो रोटी मन पराई दिनुभयो । केही समयमा नै मैले अरु पनि बनाउन थाले पछी त धेरै ठाँउ बाट माग भयो । अहिले हरेक चाडपर्व  र विदेशमा समेत मेरो सामानको माग हुन थालेको छ ।’ 

उद्योग  वाणिज्य संघ चितवनको महिला समितिले सञ्चालन गरेको कोशेली घरमा निकै फुर्ति र हसिलो मुहारमा भेटिएकी राममायालाई अहिले कोशेली घरका ग्राहकले पनि मन पराउन थालेका छन् । 

अहिले उनको आम्दानी राम्रो छ । केही रकम बचत पनि गरेकी छिन् । 

राममायालाई चाडपर्वको समय सुरु भएपछि भ्याई नभ्याई हुन्छ । उनी भन्छिन्–‘दुःख गर्ने हो भने विदेश जानु पर्दैन ।’ 

राममाया जस्तै अर्की उद्यमी हुन ‘मुना श्रेष्ठ’ ।

उनी आफ्नै घरमा विभिन्न प्रकारका अचार बनाउँछिन् । कोशेली घर संचालनमा आएपछि केही दिनको तालिम लिएर अहिले उनले आफ्नै अचार बनाउने उद्योग खोलेकी छिन् । 

दुई बच्चाकी आमा मुना बच्चाहरु स्कुल गएपछी खाली समयको सदूपयोग गर्दा अहिले कसैसंग पैसाका लागि हात फैलाउन नपरेको उनी बताउँछिन् । कोशेली नामको मेथी, लसुनको अचार बनाउदै आएकी उनी बजारले आफूलाई गरेको मायाले दंग छिन् ।

उनको अचार अहिले चितवनका विभिन्न पसल, नवलपुर र काठमाडौंमा बिक्री हुने गरेको छ । 

यी त केही प्रतिनिधि पात्र मात्र हुन् ।

उद्योग वाणिज्य संघ चितवनको महिला समितिले चितवन कोशेली घर सञ्चालनमा ल्याएसंगै अहिले धेरै महिलाहरुले रोजगारी संगै आफूलाई उद्यमी बनाउदै लगेका छन् । 

महिला उद्यमीका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवनको महिला उद्यमी समिति संयोजक रजनी मास्केको संयोजकत्वमा चितवन कोशेली घर सञ्चालनमा ल्याइएको हो । यो घर सञ्चालनमा ल्याएसंगै उद्यमी महिलाहरुलाई आफूले उत्पादन गरेको सामग्री बिक्रिमा सहज भएको छ । 

गत पुसमा सम्पन्न १२ औं चितवन महोत्सव–२०७५ मा संघले महिला उद्यमी भेला गराएको थियो । भेलामा २ सय बढी महिला उद्यमी सहभागी थिए । 

सहभागी महिलाहरुको उद्यम क्षेत्र, उनीहरुको उत्पादन र सम्भाव्यता अध्ययन गरी कोशेली घर सञ्चालन गर्ने योजना अनुसार कोशेली घर सञ्चालनमा आएको संयोजक मास्केले समाचार दैनिकसंग बताइन् । 

संघमा ४ सय ५८ जना महिला  दर्ता भएका छन् त्यसमध्य पनि २ सय ४९ जना आफैंले उद्योग संचालन गर्दै आएका छन् । संघमा दर्ता नभएका तर घरेलु तथा साना उद्यममा दर्ता भएका महिलाको संख्या हेर्दा चितवनमा महिला उद्यमीको संख्या दिनदिनै बढ्दै गएको छ । यस कोशेली घरमा महिलाहरुले उत्पादन गरेका अचार, मह, कुचो, दुना, टपरी, सेल, गुन्द्रुक लसुन, चामल, पिठो, हस्तकलाका सामग्री, लगायत भान्छामा चाहिने सम्पूर्ण सामाग्री पाइन्छन् । 

केही गरौं भन्ने भावना भएका तर विभिन्न प्रकारका समस्यामा परे बजारको चिन्ता गरिरहेका महिलाहरुका लागि कोशेली घर एक नयाँ विकल्प भएको संयोजक मास्के बताउँछिन् । 

यस कोशेली घरमा चितवनको सिदी, कोराकका महिलाहरुले उत्पादन गरेका मह, लसुन लगायतका सामाग्रीहरु पनि बिक्रीका लागि  राखिएको भन्दै मास्के भन्छिन्–‘चितवनको पहाडी क्षेत्रका महिलाहरुलाई आफुले उत्पादन गरेको सामाग्री विभिन्न कारणले बजारमा ल्याएर बेच्न गाह्रोे छ । त्यसका लागि अब कोशेली घर बनेको छ ।’

उद्योग वाणिज्य संघको गेट अगाडी सटरमा सञ्चालनमा आएको यस घर सञ्चालनमा आउन दश वर्ष लागेको मास्के बताउँछीन् ।

संघको इतिहासमा नै अहिले तिन जना महिला कार्यसमिति  सदस्य भएका छन् । महिलाको संख्या बढेसंगै उनको दश वर्षको सपना साकार भएको छ । योगिता, पिया र लक्ष्मी रिमाल पौडेलसहितको महिला समितिको पहलमा उद्योग वाणिज्य संघ चितवनको संरक्षकत्व रहने गरी कोशेली घर सञ्चालनमा ल्याईएको छ । व्यवस्थापकीय पाटो उद्योग वाणिज्य संघले सहयोग गरेको भन्दै कार्यक्रम अधिकृत नीलबहादुर केसी हातमा सिप भएका, घरमा नै रहेका र कम लागतमा नै स्तरीय सामान बनाउन सक्ने महिला उद्यमीहका लािग यो अवसर भएको बताउँछन् ।उद्योग वाणिज्य संघकै शाखा भ्रमण तथा अन्य विविध उद्देश्यले बाह्य जिल्लाबाट चितवन भ्रमणमा आउने टोलीलाई कोशेली घरसम्म पुर्याउने तथा चितवनको चिनो लिएर जाने वातावरण बनाउने अभियानमा उद्योग वाणिज्य संघ चितवन रहेको उनले बताए । 

नेपालमा महिला उद्यमशीलताको इतिहास लामो छैन र ठूलो संख्यामा महिला उद्यमीहरू क्रियाशील रहेको अवस्था पनि छैन । साना र घरेलु उद्योगमा महिलाको उपस्थिति पछिल्लो समय सुधारोन्मुख र आशालाग्दो हुँदै गएको अवस्थामा यस चितवन केशेली घरले सानासाना महिला उद्यमीहरुलाई प्रोत्साहन मिलेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर