• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेकपाको राजनीति : प्रचण्ड ‘पावर’मा कि ‘पेलान’मा ?

काठमाडौं । राजनीतिमा सधैं उस्तै हुँदैन । अझ हाम्रोजस्तो तरंगित भइरहने भूराजनीतिक अवस्था भएको देशमा राजनीतिका समीकरणहरू छिटो–छिटो बन्ने गर्छन् । छिटो–छिटो भत्कने गर्दछन् । कुनै समय वारि भएका नेताहरू केही समयपछि पारि पुग्छन् । त्यसैले राजनीतिक विश्लेषणहरू पनि क्षणिक सत्य हुन पुग्दछन् । 

राजनीतिमा नेताहरूले भनेजस्तो पनि सधैं हुँदैन । त्यसैले उनीहरू आफू सधैं माथि परिरहनका लागि नयाँ–नयाँ ट्याक्टिकल चाल चालिरहन्छन् । बाघचालमा जस्तै कहिले बाघले सबै बाख्रा सखाप पारिदिन्छ, कहिले बाख्रा मिलेर बाघलाई नै थुनिदिन्छन् । 

राजनीतिको अर्को सत्य के हो भने, कहिले राजनीतिक दल वा नेताले उठाएको मुद्दाले जित्छ, मुद्दा स्थापित हुन्छ, पार्टी वा नेता रसातलमा पुग्छ । कहिले नेता र मुद्दा दुवैले जित्छ  । कहिले मुद्दा र नेता दुवै हार्दछन् । 

पहिलो संविधानसभाको चुनावमा माओवादीका एजेन्डाले पनि जिते, माओवादीले पनि जिते । कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले चुनाव गराए, तर उनको पार्टीले सर्मनाक हार खायो ।

दोस्रो संविधानसभाको चुनावमा माओवादीले हारको नराम्रो स्वाद चाख्यो, माओवादीका संविधानसभाबाट संविधान, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र भन्नेजस्ता एजेण्डाले जिते । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीतिक र संगठनात्मक समीकरण नियाल्ने हो भने यतिबेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई ध्रुवमा छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा वा नारायणकाजी श्रेष्ठहरूका उपधु्रव पनि छन् । तर, ती मुख्य दुई ध्रुवकै पूरक मात्र हुन् ।

नेकपाको एकताका सुरुवाती कामदेखि शुक्रबार सम्पन्न सचिवालय बैठक, त्यसले गरेका केही निर्णयसम्म पुगेर हेर्ने हो भने एकता प्रक्रिया लगभग टुंगिएको छ । टुंगिन बाँकी विषय पनि सजिलै टुंगिने छनक शुक्रबारको बैठकले दिएको छ । 

पूर्वएमाले धार र पूर्वमाओवादी धारका बीचमा हुने भागबन्डामा तलमाथि हुँदा एकताको विषय लम्बिएको थियो । तर, प्रचण्ड–ओली पक्षले नेकपाभित्रको पछिल्लो अवस्थालाई आ–आफ्नै अनुकूलतामा व्याख्या गरेर पकड लिएको व्याख्या गर्ने गरेका छन्, जसले विवाद टुंगो लगाउन सजिलो भएको छ । 

प्रचण्ड मनोविज्ञानको विश्लेषण

अध्यक्ष प्रचण्डले सार्वजनिक भाषणहरूमा समेत पटक–पटक भनेका छन्, ‘नेपालका कम्युनिस्टहरूलाई एकै झन्डामुनि गोलबन्द गराउनु मेरो उहिलेदेखिको योजना हो ।’ दुई ठूला कम्युनिस्ट घटक एमाले र माओवादी मिलेर नेकपा बन्नुलाई प्रचण्डले आफ्नो सोही लक्षको जित भएको ठानेका छन् । 

एमाले–माओवादी एकता गर्दाताका पनि एकताको रंग एमाले घटकभन्दा माओवादी घटकलाई बढी चढेको थियो । अथवा एकताको आवश्यकता माओवादी घटकले बढी गरेको थियो । खुम्चिँदै गएको संगठनात्मक संरचना, जनसमर्थन र एकपछि अर्को विभाजनको सिकार हुनु पर्दा तत्कालीन माओवादी र त्यसका सुप्रिमो अब नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने परिभाषा भित्रबाट एमालेसँग एकता गर्ने निचोडमा पुगेका थिए ।

बलियो कम्युनिस्ट पार्टीले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न सक्ने र अन्तत सो एजेन्डामा नै माओवादीको जितको एजेन्डा हुने ठहर प्रचण्डको थियो । त्यसैले उनी आफू हारे पनि एजेन्डा जिताउनु चाहन्थे ।

पार्टी एकीकरणका आन्तरिक समीकरणमा आफूले ठूलो त्याग गरेर भए पनि एकताको काम सम्पन्न गर्न तयार हुनुमा प्रचण्डको यही मानसिकताले काम गरेको देखिन्छ । उनी आफू हारेर भए पनि पार्टी एकताको एजेन्डा जिताएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता मुद्दा बचाउन चाहन्छन् ।

रस्साकस्सी परेको स्कुल विभाग पार्टीभित्रका आफ्ना कटु आलोचक सचिवालय सदस्य ईश्वर पोखरेललाई दिन प्रचण्ड तयार भए । वामदेव गौतमलाई उपाध्यक्ष बनाउन प्रचण्ड सजिलै तयार भए । जबकि गौतम पछिल्लो समीकरणमा अर्का अध्यक्ष ओली कित्तामा पुगेको नेकपामा चर्चा थियो । 

पार्टी एकताका बाँकी काममा पनि प्रचण्डले पूर्वमाओवादी खेमालाई ३५ देखी ४०, कतिपय स्थानमा ४५ प्रतिशतसम्म हिस्सा लिएर एकताका काम टुंग्याउन सहयोग गरेका छन् । 

जुन कुरालाई शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए पनि ठिकै हुने रहेछ भन्ने अनुभूति हुन थालेको छ,’ शनिबार काटमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको छ।’

प्रचण्डको यो व्यवहारले उनको राजनीतिक एजेन्डाप्रतिको संवेदनशीलता झल्काउने गरेको छ । तर, कतिपय सन्दर्भमा प्रचण्ड आश्वासन र समझदारीमा पनि छिट्टै सहमत हुने गरेका छन् । जसको परिणाम केही समयपछि उनले फुट र आक्रोश अभिव्यक्त गर्ने गरेका छन् । 

राजनीतिक मुद्दाको कोणबाट हेर्दा नेकपाभित्रको राजनीतिमा समेत प्रचण्डले जित हात परेका छन् । एकताको काम छिटो टुंग्याउनुपर्छ भन्नुमा प्रचण्डको हात नै सबैभन्दा माथि छ । एकतापाछि पूर्वएमाले धारका केही नेतालाई साथमा लिन सक्नु उनको अर्को सफलताको कारक हो । 

स्थायी समिति, केन्द्रीय तथा संसदहरूमा निर्णायक बिन्दुमा भने अध्यक्ष केपी शर्मा ओली छन् । उनले प्रधानमन्त्रीमार्फत राज्यसञ्चालन र संगठनात्मक हिसाबले समेत आफूलाई बलियो बनाइरहेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर