थारू समुदायमा मनाइयो हरेरी महोत्सव [फोटो/भिडियो]

कैलाली । खेतबारीमा कीरा नलागोस् र धान उत्पादन राम्रो होस् भन्ने उद्देश्यले थारू समुदायले यो महोत्सव मनाउने गर्छन् । प्रचलित हरेरी पूजालाई धनगढीका थारु समुदायले महोत्सवकै रुपमा मनाउन थालेका छन् ।

धान रोपाइँको काम सकिएर खेतबारी हरियाली भएका बेला धानमा विषालु कीरा नलागोस् र धान राम्रो उत्पादन होस् भन्ने उद्देश्यका साथ वर्षको एक पटक अनिवार्य रुपमा हरेरी पूजा मनाउने धनगढीका थारू जातिले महोत्सवकै रुपमा मनाउन थालेका हुन् ।

भदौ ५ गतेसम्म चल्ने महोत्सवको सङ्घीय संसद्का सांसद नारदमुनी रानाले उद्घाटन गरे । बरघर (भलमन्सा) तथा हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीका अनुसार उहिले भगवान शिव पार्वतीले पनि खेती किसानीको काम गर्थे । खेतको हरियाली धान देखेर मोहित भएका शिव भगवान घर आउन पत्तो पाउँदैनथे ।

त्यस्तो भएपछि पार्वती घरमा कुर्दा कुर्दै हैरान हुन्थिन् । शिव छिटै खेतबाट घर आऊन् भनेर पार्वतीले खेतमा कीरा लगाएर शिवलाई निराश बनाएकी थिइन् ।

गाउँको देशबन्ध्या गुरुवा (ठूला गुरुवा) को सहयोगमा गरिने सो पूजापछि खेतबारीमा कीरा नलाग्ने र धान राम्रो उत्पादन हुने विश्वास रहेको धनगढी उपमहानगरपालिका – ५ जाईका बिनय चौधरीले बताए । धानबाली राम्रो फल्ने कामनाका साथै लोपोन्मुख अवस्थामा पुगेका थारू जातीका मौलिक लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले पछिल्लो चार वर्षयता मनाउँदै आएको हरेरी महोत्सव यस वर्ष सोमबार सुरु भएको छ ।

खेतमा लाग्ने पानीको मुहानमा शुद्ध गाईको दूधको धार चढाउनाले खेतका कीराहरू नष्ट हुने र खेती पुनः हरियाली हुने उपाय पार्वतीले सुझाएपछि शिवले त्यसै गरे ।

खेत नराम्रो भएपछि शिव भगवान छिटै खेतबाट घर आउने गर्थे। तर शिवको निराशा देखेर पार्वतीले छिटै खेतबाट घर आउने वाचा गराएर खेतलाई पुनः हरियाली बनाइदिने बताएकी थिइन्  र त्यसपछि फेरि खेतमा हरियाली कायम भएको किम्वदन्ती छ ।

यही किम्वदन्तीअनुसार थारू गाउँमा गुरुवाको सहयोगमा शिव पार्वतीलाई सम्झेर पूजापाठ गर्ने र खेतबारीमा कीरा फट्याङ्ग्रा नलागून् भन्ने कामना गरिन्छ ।
 
महोत्सवमा मुख्य आकर्षणका रुपमा थारू समुदायको लोपोन्मुख मग्राहा नाच, लाठी नाच, सखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहेका छन् ।

त्यसैगरी, महोत्सवमा राखिएका विभिन्न स्टलमा विभिन्न थारू समुदायका खानाका परिकार जस्तै ढिक्री, अन्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोँगी तरकारी, राना थारू समुदायको खाना, डोटेली समुदायको खानाका परिकार आकर्षणका रुपमा राखिएका छन् ।

संस्कृतिका धनी आदिवासी थारूको सामूहिक रुपमा गरिने चार पूजा (धुरिया पूजा, हरेरी पूजा, लवाङ्गी पूजा, निकासी पूजा) मध्ये हरेरी पूजा एक महत्वपूर्ण पूजा मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर