• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गाैरा सुरु

घर–घरमा ‘बिरुडा’ राखेर गाैरा मनाइँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा सोमबारदेखि गौरा पर्व सुरु भएको छ । यस पर्वको पहिलो दिन मंगलबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर–घरमा बिरुडा राखेका छन्। 

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पित्तलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दूबो लगाई टीका र अक्षताले सिँगारेर धूपबत्ती बालेर पञ्चान्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर भगवान् महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ।

त्यस दिन महिलाले मांगलिक गीतहरू गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति धान, साँउ, तिल, बेल र पातीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मंगल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन्। विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजनग्रहण गर्ने प्रचलन छ।

त्यसैगरी, सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ ।

सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ। अष्टमीका दिन रंगीचंगी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिँगारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन्। यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ।

गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिन्छ ।

गौरा पूजा गरिसकेपछि पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने प्रचलन छ । गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पीठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ ।
बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा बनाई घरमा गौरा भित्र्याउने गरेका छन् । 

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरीको पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैत, धमारी आदि खेल खेल्ने गर्छन् ।

अनुकूल तिथि हेरेर विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर