भदौ ११ भित्र मुख्यमन्त्री लिगको खर्च विवरण बुझाउन निर्देशन

विराटनगर । प्रदेश सभाको सार्वजनिक लेखा समितिले मुख्यमन्त्री लिग फुटबल  प्रतियोगितामा भएको खर्चको सम्पूर्ण विवरण सात दिन भित्र उपलव्ध गराउन प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई निर्देशन दिएको छ । 

प्रतियोगितामा आर्थिक अनियमितता भएको भएको भन्ने विषयमा अध्ययन गरिरहेको समितिको बैठकमा बुधबार लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी अन्तिमकुमार आचार्य र अधिकृत गुरुप्रसाद दाहाललाई बोलाएर लेखा सम्बन्धी जानकारी लिएको थियो । 

असार अन्तिम साता सम्पन्न मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता सञ्चालनका क्रममा प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता गरेर १ करोड रुपैंया उपलब्ध गराएको थियो । एन्फाले ३० लाख रुपैयाँ लगानी गर्नुपर्ने सम्झौता भएपनि एन्फाले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरेको थियो । त्यसबाहेक प्रतियोगितामा त्यति रकम खर्च नभएको आशंका गर्दै लेखा समितिमा उजुरी परेको थियो । 

प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले भन्ने–‘हामीले प्रतियोगितामा भएको सम्पूर्ण खर्च विवरण र बिल भर्पाई सबै भदौ ११ गतेसम्ममा बुझाइसक्न भनेका छौं ।’ उनले एन्फाको तर्फबाट गर्ने भनिएको खर्चको विवरण पनि माग गरेको र दुवै विवरण प्राप्त भएपछि छानविन प्रकृया थप अघि बढ्ने बताए ।

बैठकमा विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट मैदानको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लगेर छानविन गरिरहेको र समितिमा औपचारिक उजुरी पनि नपरेको भन्दै त्यसलाई अघि नबढाउने समझदारी बनेको थियो । सभापति गन्गाईले भने–‘क्रिकेट मैदानको विषयमा मन्त्रीले सदनमा जवाफ दिइसक्नु भएको छ, अख्तियारले पनि छानविन गरिरहेको छ र समितिमा पनि उजुरी पनि परेको छैन त्यसैले अहिले हामी त्यसको छानविन गरिरहेका छैनौं ।’

लेखा समितिले खेलकुद प्रतियोगिताको प्राविधिक पाटोको अनुसन्धान र छानविनकालागिसबै विवरणसहित सामाजिक विकास समितिमा पठाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर