• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

क्रान्तिकारी नेता फिडेल कास्त्रो, जसलाई मार्न अमेरिकाले ६३८ पटक षड्यन्त्र रच्यो !

एजेन्सी । क्युबाका पूर्वराष्ट्रपति फिडेल कास्त्रोले एक पटक भनेका थिए, यदि कुनै पनि व्यक्किो हत्याको प्रयासका लागि कुनै ओलम्पिक आयोजना हुँदो हो त त्यसमा आफूले स्वर्ण पदक जित्थे । फिदेल कास्त्रोलाई मार्न अमेरिकाले ६ सय ३८ पटक षड्यन्त्र रचेको थियो । तर, हरेक पटक फिडेल आफूलाई बचाउन सफल बने । 

फिडेल कास्त्रोको हत्याका लागि रचिएको ६३८ षड्यन्त्रको आंकडा आधिकारिक मानिन्छ र सायद यो भन्दा पनि बढी पटक प्रयास गरिएको हुनसक्ने बताइन्छ । 

फिडेलको हत्या गर्न विषालु चुरोट, कलम र विस्फोटक चुरोटको प्रयोग गरिएको बताइन्छ । यसमा सबैभन्दा बढी षड्यन्त्र अमेरिकी गुप्तचर एजेन्सी(सिआईए)ले रचेको थियो । यी हत्या षड्यन्त्रमा क्युबाबाट भागेर अमेरिका बसेका फिडेल कास्त्रोका विरोधी पनि सहभागी थिए । 

आफ्नो ८०औँ जन्मदिनमा फिडेल कास्त्रोले भनेका थिए – अस्सीको उमेरमा म निक्कै खुशी छु । मैले कहिल्यै यस्तो खुशीको बारेमा सोचेको थिइन । विश्वको सबैभन्दा शक्तिशाली देशको छेउमै छु, जो प्रत्येक दिन मलाई मार्ने नयाँ योजना बनाउँछ । 

प्रेमिकाद्वारा हत्याको षड्यन्त्र – फिडेल कास्त्रोलाई मार्ने षड्यन्त्रमा उनकी प्रेमिका पनि संलग्न रहेको बताइन्छ । फिडेललाई मार्नका लागि विषालु कोल्ड क्रिम उनीसम्म पुर्याउने जिम्मा प्रेमिकालाई दिइएको थियो । फिडेल कास्त्रोकी पूर्वप्रेमिका मारिटा लोरन्स यस षड्यन्त्रका लागि मानिन् । तर, फिडेलले यसको संकेत पाइसकेका थिए । त्यसैले उनले आफ्नी पूर्वप्रेमिका मारिटालाई पेस्तोल दिएर गोली हान्न भने, तर उनले यसो गरिनन् । 

सन् १९२६ अगस्ट १३ मा क्युबामा फिडेल कास्त्रोको जन्म भएको थियो । सन् १९४० मा क्युबाको राष्ट्रपतिमा फुल्गेन्सियो बाटिस्टा निर्वाचित बने, उनी कट्टर अमेरिकी समर्थक थिए । त्यस समय क्युबामा भ्रष्टाचार र अत्याचार चरम अवस्थामा थियो । बाटिस्टामाथि अमेरिकी हितको रक्षाका लागि क्युबाका जनतालाई अन्याय गरेको आरोप लाग्यो ।

सन् १९५२ मा क्युबा क्रान्ति सुरु हुनअघि तानाशाही राष्ट्रपति फुल्गेन्सियो बाटिस्टा विरुद्ध कास्त्रोले चुनाव लडे । तर, षड्यन्त्रका कारण उनले हार बेहोर्नु पर्यो । 

एक सय जना सहकर्मीका साथ क्रान्ति सुरु गरे – क्युबाको बिग्रदो स्थिति र सत्ता विरुद्ध जनताको आक्रोश बढ्दै गयो । सन् १९५३, जुलाई २६ का दिन फिदेल कास्त्रोले क्रान्तिको बिगुल फुके ।

जम्मा एक सय जनाको साथमा क्युबाको स्याटियागो डीमा एक सैनिक ब्यारेकमा आक्रमण गरे । तर, यो आक्रमण असफल बन्यो । उनलाई १५ वर्षको जेल सजाय सुनाइयो र उनका सहयोगसँगै जेल पठाइयो । दुई वर्षपछि सन् १९५५ मा एक सम्झौँताको माध्यमबाट फिडेल कास्त्रो रिहा भए । 

जेलबाट छुटेपछि उनी मेक्सिको गए । मेक्सिकोमा फिडेल र उनको भाई राउल कास्त्रोले चेग्वेभारासँग मिलेर बाटिस्टा शासन विरुद्ध गुरिल्ला युद्धको सुरुवात गरे । फिडेलको क्रान्तिकारी विचार र आदर्शलाई क्युबाको जनताको भरपुर समर्थन मिल्यो । सन् १९५९ मा राष्ट्रपति फुल्गेन्सियो बाटिस्टालाई सत्ताच्युत गरेर कास्त्रो सत्ता हासिल गर्न सफल बने । 

कुनै पनि देशमा लामो समयसम्म शासन गर्ने विश्वको तेश्रो व्यक्ति हुन् फिडेल कास्त्रो । उनले सन् १९५९ मा क्युबाको सत्ता सम्हालेका थिए र सन् २००८ सम्म उनले लगातार शासन गरे । 

फिडेल कास्त्रोले आफ्नो पुरा जीवन विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकालाई चुनौती दिनमा बिताए । उनले अमेरिकी राष्ट्रपतिहरुको मजाक उडाए । 

अमेरिकी विरोधी फिदेल कास्त्रो – फिडेल कास्त्रोलाई लिएर विश्वमा थुप्रै रोचक तथ्यहरु फैलिएका छन् । यद्यपि, तीमध्ये धेरैजसो अमेरिकी प्रोपागान्डाका कारण फैलिएका छन् ।

भनिन्छ, उनको विशेषता रोमान्चक थियो, तर उनले करिब आधा शताब्दीसम्म क्युबामा निक्कै सख्त शासन चलाए । 

कास्त्रोले क्युबा क्रान्तिलाई गरिबहरुको हकको लडाई बताएका थिए र यस दौरान उनको नेतृत्वले अमेरिकालाई पनि मुठ्ठीमा लिएको थियो । क्युबामा रहेको अमेरिकी फ्याक्ट्री र प्लान्टेशनमाथि उनको नेतृत्वले कब्जा जमायो । 

पछि गएर क्युबाले सोभियन युनियन (हालको रुस)सँग हात मिलायो र अमेरिकाद्धारा आक्रमणको खतरालाई महशुस गर्दै सोभियतले क्युबामा एक परमाणु मिसाइल बेस पनि बनायो, जसको जोडतोड विरोध अमेरिकाले गर्यो ।

फिडेल कास्त्रोले क्युबाको अर्थव्यस्थालाई बाँकी विश्वका लागि कहिल्यै बाटो खेलेनन् । उनले देशमा खद्यान्न प्रणाली सख्त रुपले लागू गरेका थिए । क्युबामा रहेका कुनै पनि चीजलाई खराब बनाउने प्रश्नै उठ्दैन थियो । 

क्युबाले पनि अमेरिकी प्रतिबन्धको सामाना गर्नुपर्यो । यद्यपि, प्रतिबन्धका बाबजुद पनि क्युबाका जनता खुशी थिए । 

आफ्नो अन्तिम दिनहरुमा कास्त्रो अखबारहरुमा स्तम्भकारको रुपमा काम गरे । उनले देश तथा विदेश नीतिहरुमाथि आफ्नो राय राख्थे । धेरै क्युबाका नागरिकले फिडेलकास्त्रोलाई महान् क्रान्तीकारी बताउँछन् ।

सन् २००८ मा फिदेलले क्युबाको सत्ता आफ्नो भाई राउल कास्त्रोलाई सुम्पिए । सन् २०१६, नोभेम्बर २५ का दिन ९० वर्षको उमेरमा उनको निधन भयो । 

–एजेन्सीहरूकाे सहयाेगमा ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर