प्रदेश २ : प्रस्तावित नाममध्ये कुनै एक पारित हुने सम्भावना न्युन

जनकपुरधाम । प्रदेश दुईको प्रदेशसभामा दलहरु तथा केही बागी प्रदेशसभा सदस्यहरुले नाम र राजधानीका लागि प्रस्तावहरु बिहीबार दर्ता गराई सकेका छन् । प्रस्तावित नामहरु प्रदेशसभाबाट पारित हुने सम्भावना न्यून त छ नै त्यसमाथि प्रदेशको नामाकरण झन पेचिलो बनेको छ । यति मात्र नभई प्रस्ताव दर्ता हुनु अगाडी राजधानी जनकपुरधाम हुने प्रबल सम्भावना रहेपनि यसमा समेत अस्पष्टता बढेको छ । 

प्रदेशको नामका लागि ४ वटा प्रस्ताव दर्ता भएको छ भने राजधानीका लागि ५ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयमा संगै मधेश आन्दोलन गरिसकेका सत्ताधारी दलहरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव दर्ता गराए । सत्तधारी दलहरु मधेश आन्दोलनको पृष्ठभूमिबाट आएका कारण प्रदेशको नाम मधेशबाट पछाडी हट्ने कुनै समभावना नै नरहेकोले आफूहरुले प्रस्ताव दर्ता गराएको राजपा प्रदेश दुईका प्रमुख सचेतक परमेश्वर शाहले बताए । 

सत्ताधारी दलले प्रस्ताव दर्ता गराएपनि पारित गराउनका लागि कुल १ सय ७ सदस्यीय प्रदेशसभामा ७२ मत आवश्यक पर्छ । जबकि यी दुई दल मिलाए पनि ५५ मत मात्रै आउँछ । 

यस अघि मिथिला भोजपुरा मधेश नामका लागि लबिंग गर्दै आएको प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले जानकी प्रस्ताव दर्ता गराएको हो । जबकि नेकपा संग ३२ मत मात्रै पुग्छ । 

प्रदेशसभामा १९ मत रहेको कांग्रेसले आफ्नो पुरानो अडानलाई यथावत राख्दै प्रदेशको नामका लागि मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको छ ।

मिथिला भोजपुरा नाम पारित हुने सम्भावना नभए आफूहरु सहमतिका लागि अन्य नाममा समेत विचार गर्न सक्ने नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुश्वाहाले बताए । 

राजधानीमा झनै अस्पष्टता
प्रदेशसभामा प्रदेश दुईको राजधानीका लागि सबै दलले जनकपुरलाई नै प्रस्ताव गरेको छ । तर ती दलहरुको प्रस्तावलाई केलाउँदा राजधानीको विषयमा धेरै नै अस्पष्टता देखिएको छ । 
दलहरुको प्रस्तावमध्ये कांग्रेसको प्रस्ताव मात्रै स्पष्ट देखिन्छ । नेपाली कांग्रेसले राजधानीका लागि जनकपुरधाम उपमहानगरपालिकाका लागि प्रस्ताव दर्ता गराएको छ । यी बाहेक दलहरुको प्रस्तावमा अस्पष्टता छ । 

दलहरुले भविश्यमा जनकपुरधामलाई बृहत हिसाबल विकास गर्ने सोचका साथ प्रस्ताव दर्ता गराएको बताएको छ ।

सत्ताधारी दलहरु समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा दर्ता गराएको प्रस्तावमा जनकपुरधामलाई त छोएको छ तर क्षेत्रलाई विस्तार गर्दै प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ । राजधानीको सीमामा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग छुनेगरी, पूर्वमा कमला नदि सम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ ।
नेकपाले जनकपुरधाम सहित पूरै धनुषा जिल्लालाई राजधानीको रुपमा प्रस्ताव दर्ता गराई  सकेको छ । 

राजनीतिक दलहरुमा अदुरदर्शिता : राजनीतिक विश्लेषकहरु
दलहरुले नाम र राजधानीका लागि दर्ता गराएको प्रस्तावबाट ती दलका नेताहरुको अदुरदर्शिता स्पष्ट देखिएको राजनीतिक विश्लेषकहरु बचाउँछन् । राजनीतिक विश्लेषकहरु यसले प्रदेशसभामा दर्ता गराइएका प्रस्तावहरुमध्ये कुनै प्रस्ताव पारित हुने सम्भावना नरहेको बताउँछन् । 

राजनीतिक विश्लेषक सुरेन्द्र लाभ राजनीतिक अदुरदर्शिताका कारण दलहरुले यहाँको ऐतिहासिकता, संस्कृतिको हिसाबले नाम प्रसताव गर्न नसकेको बताउँछन् भने वाम राजनीतिकको अनुभव संगालि सकेका रोशन जनकपुरीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिज्ञहरुमा समाजशास्त्र, राजनीतिशास्त्र तथा नेपालको इतिहासको बारेमा ज्ञान नभएकै कारण यस्तो अवस्थाको श्रृजना भएको बताए ।

जनकपुरले यहाँको ऐतिहासिकता तथा संस्कृति तथा राजनीतिक परिदृश्यको हिसाबले मिथिला भोजपुरा मधेश नाम सबैभन्दा उपयुक्त हुन सक्थ्यो तर त्यसमा राजनीतिक दलहरु त्यसमा चुकेको बताए । 

यही स्थिति रहे कुनै पनि नाम पारित नहुने निश्चित रहेको उनीहरु बताउँछन् । 

जनकपुरीका अनुसार सहमति भएर यी कुनै नाम पारित भए पनि पछि गएर द्वन्द्व श्रृजना हुने सम्भावना प्रबल रहेको बताए । 
राजनीतिक विश्लेषक लाभ पनि जनकपुरीको तर्कसंग सहमति जनाउँदै जनभावना अनुसार नाम वा राजधानीको प्रस्ताव कुनै पनि दलले ल्याउन नसकेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर