• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दिल्लीको विडो कोलोनी : अर्थात् जहाँ विधवा मात्र बस्छन्

दिल्लीमा एक बस्ती छ जसको नाम हो ‘विडो काेलोनी’ । अर्थात् विधवाहरूको बसोवास स्थल । यस विधवास्थलमा, दिल्लीमा सन् १९८४ मा भएको सिखविरुद्ध खुनी दङ्गामा मारिने पुरुषहरूका पत्नी एवम् उनका परिवारहरूको बसोबास छ । यो विडो काेलोनीले भारतको कालो इतिहास बोकेको छ । कुनै समयमा आफ्नै देशभित्र एक जातीय समूह अर्को जातीय समूहको शत्रु भएको तस्बिर बोकेको छ । यो विडो कोलोनीको नाम हो– ‘विद्या कलोनी’ । तर, स्थानीय विडो कोलाेनी भन्ने गर्छन् । 

किन र कसरी भएको थियो सिखविरोधी दङ्गा ? 

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि दिल्लीमा मच्चिएको जातीय हिंसा कम डरलाग्दो थिएन । इन्दिरा गान्धीको हत्या उनकै सिख अङ्गरक्षकहरू– सतवन्त सिंह र बेयन्त सिंहद्वारा ३१ अक्टोबर १९८४ मा गरिएछि मच्चिएको सिखविरोधी दङ्गामा इन्दिरा गान्धीको मृत्युपछिको केवल ७२ घण्टाभित्रमा, दिल्लीभित्र र बाहिर गरी ११ हजार सिखहरूको निर्मम किसिमले हत्या गरिएको थियो । यसरी मारिनेहरूमध्ये दिल्लीमा तीन हजार र दिल्लीबाहिर (उत्तरी भारतमा) आठ हजार सिखहरू थिए । केही स्वतन्त्र सूत्रहरूले उक्त सिखविरोधी दङ्गामा १७ हजार सिखहरूको ज्यान गएको उल्लेख गरेका थिए । केहीले दिल्लीमा मारिनेहरूको संख्या चार हजारभन्दा बढी रहेको बताएका थिए । तर, सरकारले भने केवल दुई हजार आठ सय सिखहरूको ज्यान गएको उल्लेख गरेको थियो । भारतका ४० भन्दा बढी सहरहरूमा विस्तारित त्यो जातीय सफाया वा सिखविरोधी हिंसामा ५० हजारभन्दा बढी सिख बेघरबार भएका थिए । धेरै सिखहरूको आँखामा त्यो घटनाको त्रासदी अहिले पनि कायम छ । 

इन्दिरा गान्धीको हत्यापछि र प्रहरीले दिल्लीलाई नियन्त्रणमा लिनुपूर्व अर्थात् ७२ घण्टाभरि, दिल्ली पूर्णरूपमा अराजक हुन पुगेको थियो । दिल्ली, प्रहरीको नियन्त्रणमा थिएन । उल्टो केही प्रहरीले सिखविरोधीलाई सहयोग गरेका थिए । केही प्रहरीको सहयोगमा पनि जातीय हिंसा मच्चाउनेहरूले धेरै सिखहरूको ज्यान लिएका थिए । सम्पूर्ण दिल्ली अराजक हुन पुगेको थियो र स्थिति यस्तो थियो कि अतिवादीहरूले कुनै सिखको ज्यान लिइरहेको छ भने त्यो सिखलाई बचाउने कोही हुँदैनथ्यो । पुलिसले नै देखे पनि पुलिस निस्क्रिय भएर बसिदिन्थ्यो । ७२ घण्टासम्म चलेको त्यो अति हिंसापूर्ण जातीय दङ्गामा, दिल्लीमा, सिखविरोधी हिंस्रक समूहहरू ‘रगतको बदलामा रगत’ भन्दै कराएर हिँडेको देख्न सकिन्थ्यो । रगतको बदलामा रगतको आसय के थियो भने इन्दिरा गान्धीको रगत सिखहरूले बगाए (हत्या गरे) अब त्यस हत्याको बदला सिखहरू रगत बगाएर (सिखहरूको हत्या गरेर) लिने । 

केही प्रत्यक्षदर्शीका अनुसार केही प्रहरी नै ‘धाराको पानी नखानू, धाराको पानीमा सिखहरूले विष मिसाएका छन्’ भन्दै हिँडेका थिए । केहीले, सिखविरोधी दङ्गा मच्चाउनमा काङ्ग्रेसका नेता जिम्मेवार रहेको भनेका थिए । इन्दिरा गान्धीको हत्या हुँदा भारतमा काङ्ग्रेसको सरकार थियो । काङ्ग्रेसका केही वरिष्ठ नेताहरूको निर्देशनमा विभिन्न जेल, अस्थायी जेल, बन्दीगृहबाट कैदीहरूलाई तीन दिनका लागि मुक्त गरिएको थियो र उनीहरूलाई ‘सिखहरूलाई पाठ पढाउनू (उनीहरूको हत्या गर्नु) भन्ने निर्देशन दिइएको थियो । त्यसरी जेलबाट मुक्त भएका कैदीहरू गम्भीर अपराध गर्ने व्यक्तिहरू थिए र उनीहरूलाई सिखहरूको हत्या गर्न ती नेताहरूले नै हातहतियार उपलब्ध गराएका थिए । उनीहरूलाई रक्सी खुवाएर मताएका पनि थिए । 

किन भएको थियो इन्दिरा गान्धीको हत्या ? 

१९८० को दशकमा हतियारधारी पृथकतावादी सिखहरू (एक समूह) ले भरतबाट टुक्रिएर एक छुट्टै ‘खालिस्तान’ (अर्थ– पवित्रहरूको भूमि) देशको माग गर्दै भारत र मुख्य गरी भारतको पन्जाब राज्यमा आन्दोलन प्रारम्भ गरेका थिए । त्यो आन्दोलन सन् १९७१ देखि नै, तर सानो आकारमा प्रारम्भ भएको थियो । भारतको पन्जाब राज्यलगायत पाकिस्तानको पन्जाब क्षेत्र, हरियाणा, हिमाञ्चल प्रदेश, जम्मु र कश्मीर तथा राजस्थान राज्यको केही भूभाग गाभेर एउटा छुट्टै खालिस्तान देश निर्माण गर्ने भनी ती पृथकतावादीले उद्देश्य राखेका थिए र सो उद्देश्य सार्वजनिक गरेका थिए । उनीहरूले भारत सरकारको विरोधमा धेरै सशस्त्र आन्दोलन पनि गरेका थिए । पृथकतावादी आन्दोलनमा लागेका हतियारीधारी समूहलाई सक्रिय सहयोग गर्ने एक व्यक्ति थिए– जर्नेल सिंह भिन्ड्रानवाले । कसैकसैले भारतबाट पन्जाबलाई टुक्र्याउने आन्दोलनको नेतृत्वसमेत पनि भिन्ड्रानवालेले गरेको आरोप लगाएका थिए । भिन्ड्रानवाले एक धर्मगुरु थिए र उनलाई सन्त पनि भन्ने गरिन्थ्यो । 

सन् १९८२ जुलाईमा पन्जाबस्थित सिखहरूको राजनीतिक दल, अकाली दलका तत्कालीन अध्यक्ष (वा सभापति) हरचन्द सिंह लोंगोवालले भिन्ड्रानवालेलाई पक्राउ पर्नदेखि जोगिन अमृतसरस्थित स्वर्ण मन्दिर (गुरद्वारा– जसलाई दरबार साहिब, गोल्डेन टेम्पल पनि भन्ने गरिन्छ) मा आश्रय लिन आमन्त्रित गरेका थिए । उता, भारत सरकारले भिन्ड्रानवालेलाई पक्राउ गर्ने आदेश जारी गरेको थियो । भिन्ड्रानवाले अमृतसर आए । उनले गिरफ्तारी छल्न त्यो स्वर्ण मन्दिरमा आश्रय लिए । 

भिन्ड्रानवाले लगायत उनका हतियारधारी सहयोगीहरूलाई स्वर्ण मन्दिरबाट बाहिर निकाल्न भारतीय सेनाले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको आदेशमा एक भीषण सैनिक कारबाही ग¥यो । त्यो सैनिक कारबाही १९८४ को जुन १ देखि जुन ८ सम्म चलेको थियो र त्यो सैनिक कारबाहीलाई ‘अपरेसन ब्लु स्टार’ को नाम दिइएको थियो । 

जर्नेल सिंह भिन्ड्रानवाले र उनका केही हतियारधारी सहयोगीहरूको त्यो अपरेसन ब्लु स्टारमा स्वर्ण मन्दिरभित्र मृत्यु भयो । आफ्नो पवित्र तीर्थस्थलभित्र भएको भीषण सैनिक कारबाही जुन प्रधानमन्त्री इन्दिरा गान्धीको आदेशमा भएको थियो, को भारतलगायत विश्वभरका सिख समुदायले आलोचना गरे । सिख समुदायले भारत सरकारले उनीहरूको धर्मको बेइज्जती गरेको ठाने । इन्दिरा गान्धीको त्यो कठोर कारबाही जसमा अनावश्यक रूपमा धेरे बल प्रयोग गरिएको थियो र हतियारधारीलाई मन्दिरबाट बाहिर ल्याउने अन्य प्रभावकारी विकल्पकहरूको खोजी पनि गहन किसिमले गरिएको थिएन, को गैरसिख समुदायले पनि आलोचना गरेका थिए । इन्दिरा गान्धीको कडा मिजासको पनि आलोचना गरेका थिए । 
स्वर्ण मन्दिरमा गरिएको अपरेसन ब्लु स्टार अपरेसनको चार महिनापछि ३१ अक्टोबर १९८४ मा इन्दिरा गान्धीको हत्या उनकै निवासमा, उनका दुई अङ्गरक्षक– सतवन्त सिंह र बेयन्त सिह, जो सिख थिए, द्वारा भयो । मानिसहरूले ती दुई अङ्गरक्षकहरूले इन्दिरा गान्धीको हत्या गरेर आफ्नो धर्मको भएको बेइज्जती (स्वर्ण मन्दिरमा भएको सैनिक कारबाही) को बदला लिएको विश्वास गरे । यसरी, सिखहरूले इन्दिरा गान्धीको हत्या गरेकोमा सिखहरूसँग त्यसको बदला लिन सिख (पुरुष) हरूको सफाया गर्न इन्दिरा गान्धीको मृत्युपछि सिखविरोधी जातीय दङ्गा फैलिएको थियो । केही विश्लेषकहरूको विचारमा इन्दिरा गान्धीको हत्या उनकै अङ्गरक्षकद्वारा हुनुको कारण इन्दिरा गान्धीको तानाशाही स्वभाव पनि थियो । भारतमा इन्दिरा गान्धीद्वारा लागू गरिएको ‘आपतकाल’मा धेरै भारतीयले दुःख पाएका थिए । 

 

के–कस्ता क्रूर कार्य भए त्यो जातीय दङ्गामा ? 

सिखविरुद्ध दङ्गा गर्नेहरू, जसलाई रक्सी ख्वाइएको र प्रशस्त पैसा दिएको भन्ने विश्वास गरिएको थियो, सिखहरूको बसोबास भएको क्षेत्रमा जान्थे । दङ्गा गर्नेहरूले सिख पुरुषहरूलाई घरबाट बाहिर आउन आदेश दिन्थे र बाहिर आएपछि उनीहरूको खुट्टा भाँचेर शरीरमा मट्टीतेल खन्याएर जिउँदै जलाइदिन्थे । सिख पुरुषहरू जलेको उनका पत्नी एवम् छोराछोरीलाई हेर्न बाध्य पनि पारिन्थ्यो । केही दङ्गा गर्नेहरूले सिखहरूको घरमा लुटपाट पनि गर्थे । केहीले सिख महिलाको बलात्कार पनि गर्थे । केही सिख महिलामाथि एसिड पनि फालेका थिए । 

दिल्लीका त्रिलोकपुरी, कल्याणपुरी, सुल्तानपुरी, मङ्गोलपुरी र यमुना नदीको छेउछाउ, जहाँ सिखहरूको बाक्लो बसोबास थियो, मा धेरै सिखहरूको ज्यान गएको थियो । लुटेरा, जो केवल लुटपाट मात्र गर्न आएका थिए, ले ठूलो मात्रामा सिखहरूको सम्पत्ति (पैसा, सुन, चाँदी, रेडियो, टिभी आदि) लुटेका थिए । 

सिखहरूलाई मार्न हिँडेकाहरू सङ्गठित समूह बनेर हिँड्थे र उनीहरूको साथमा फलामको डण्डी, चक्कु, सलाई, लाइटर, मट्टीतेल, पेट्रोल हुन्थ्यो । उनीहरू सिख बस्तीभित्र पसेर सिखहरूको हत्या गर्थे । दिल्लीभित्र र बाहिरका बस वा रेलमा यात्रा गरिरहेका सिखहरूलाई जातीय दङ्गा गर्नेहरूले बस र रेलबाट बाहिर निकालेर उनीहरूको हत्या गरेका थिए । कतिपय सिख महिलाको ‘ग्याङ रेप’ पनि भएको थियो । 
त्यो जातीय दङ्गामा हराएका तीन सय सिख युवती कहाँ छन् भनेर अहिलेसम्म पत्ता लागेको छैन । उनीहरू कुन किसिमले मारिए भन्ने जानकारी सरकारसँग छैन । 

जातीय दङ्गापछिका दिनहरू

जातीय दङ्गापछिका दिनहरूमा र अहिलेसम्म पनि धेरै सिख महिला मानसिक विषाद, चिन्ताजस्ता रोगले पीडित भएको पाइएको छ । धेरै सिख विधवाहरू, जसका पुरुषहरू त्यो जातीय दङ्गामा मारिएका थिए, लाई पुनःस्थापन गरियो र त्यो स्थानलाई अहिले विडो कोलोनी पनि भन्ने गरिन्छ । पतिको हृदयविदारक हत्याको दृश्य झलझली र घरिघरि याद आउने भएर, त्यो चिन्ता खप्न नसकेर धेरै सिख विधवाको अकालमै मृत्यु भयो । केही विधवा अहिले पनि स्वास्थ्य संस्था गइरहन्छन् । आफ्ना पिता वा घरका सदस्य गुमाउने धेरै सिख पुरुषहरू मदिरा एवम् लागू पदार्थको लतमा परेका छन् । कोही सानातिना अपराधमा संलग्न भएका छन् भने केहीले त्यो विषादको कारण आत्महत्यासमेत गरेका छन् । अहिलेसम्म पनि सिख समुदायमा त्यो त्रासदीको असर बाँकी छ । सिखहरूले त्यो कहालीलाग्दो घटना अद्यापि बिर्सन सकेका छैनन् । 

सिखविरोधी दङ्गामा मनोमानी ढङ्गले सिखहरूको हत्या गर्नेहरू अहिले पनि खुलेआम सडकमा घुम्ने गरेको र सरकारले ती अपराधीलाई सजाय दिन नसकेकोमा यो स्वतन्त्र र आधुनिक भारतमा त्यस्तै अर्को जातीय सफाया गर्ने दङ्गा कुनै पनि बेला हुन सक्ने भय मानव अधिकारवादी र स्वतन्त्रतावादीहरूले व्यक्त गर्ने गरेका छन् । 

धेरै विश्लेषकहरूको भनाइ छ, ‘सिखविरोधी त्यो जातीय हिंसा केन्द्रीय र दिल्ली सरकारले गराएको थियो ।’ सिखविरोधी त्यो जातीय दङ्गामा आधारित भएर एउटा फिल्म नै बनेको छ । The Widow Colony : India's Unsettled Settlement नामको यो फिल्म युट्युबमा हेर्न सकिन्छ । 

(एजेन्सीहरूकाे सहयाेगमा)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर