प्रदेश १ का सबै मन्त्रालयमा सचिवहरुको सरुवा 

विराटनगर । प्रदेश सरकारका सबै मन्त्रालयका सचिवहरुको सरुवा भएको छ । प्रदेश नं. १ का मन्त्रालयहरुमा कार्यरत सचिवहरु संघीय सरकारको सम्बन्धित मन्त्रालयमा गएका छन् भने वरिष्ठ उपसचिवहरु मन्त्रालयको सचिवको जिम्मेवारीमा आउने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली उपचारकालागि सिंगापुर जानु अघि बसेको मन्त्रिपरिषद्को बैठकले सिनियर सहसचिवहरुलाई प्रदेशका मन्त्रालयहरुमा सरुवा गर्ने निर्णय गरेको थियो । सरकारले सातैवटा प्रदेश सरकारका मन्त्रालयहरुकालागि ३५ जना सिनियर सहसचिव सरुवा गरेको हो ।
 
प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हरिप्रसाद मैनाली सचिवको रुपमा आउने भएका छन् । मन्त्रालयका तात्कालिन सचिव गोपाल पराजुलीले राजिनामा गरेपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव विहीन थियो । गृहमन्त्रालयको सिनियर सहसचिव मैनाली कारागार व्यवस्था विभागको महानिर्देशकबाट मन्त्रालयको सचिवको रुपमा सरुवा भएका हुन् । उनी बहुचर्तित निर्मला हत्याकाण्ड छानविन समितिका संयोजक पनि थिए ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा दामोदर रेग्मी सरुवा भई आउने भएका छन् । वरिष्ठ सहसचिव रेग्मी संघीय सरकारको अर्थ मन्त्रालय अन्तरगत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको रुपमा कार्यरत थिए ।

प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा इन्जिनियरिङ सेवाका सुशिलचन्द्र तिवारी सरुवा भएका छन् । पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सचिव मनोज घिमिरेको साउन दोश्रो साता अचानक सरुवा भएको थियो । मन्त्रालयमा राजेश घिमिरे कार्यवहाक सचिवकोरुपमा कार्यरत थिए । उर्जामन्त्रालयबाट उहाँलाई १ नं. प्रदेश पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको हो । 

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशुपंक्षी तथा मत्स्य विकास महाशाखाका प्रमुखको रुपमा रहेका डा. विमलकुमार निर्मललाई सचिवको रुपमा सरुवा गरिएको छ । 

सामाजिक विकास मन्त्रालयमा सिनियर सहसचिव वीरबहादुर राईलाई पठाइएको छ । महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत राईको वैशाख अघि नै सचिवमा बढुवा हुने सम्भावना रहेको बताइएको छ । 

प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सन्जिवकुमार राईलाई सरुवा गरी पठाइएको छ । यस अघि उहाँ वनस्पति विभागका महानिर्देशकको रुपमा कार्यरत थिए । 

यसैगरी प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुकुन्द घिमिरेलाई सरुवा गरिएको छ । यस अघि उहाँ पुनर्निमाण प्राधिकरणमा कार्यरत थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना सहसचिवको दरबन्दी छ । 

प्रदेशमा सरुवा भई आएका सबै ५ वर्ष भन्दा बढी समयदेखि सहसचिवको रुपमा कार्यरत सिनियर व्यक्तिहरु भएको प्रमुख सचिव सुरेश अघिकारीले जानकारी दिएका छन् । ‘अहिले सरुवा भएर आउनुभएका सबै सहसचिवहरु अनुभवी र योग्य हुनुहुन्छ,’ प्रमुख सचिव अधिकारीले भने –‘सरुवा भई आउनुहरु सबै जुझारु र सहयोगी भएकोले प्रदेश सरकारको कामलाई व्यवस्थित बनाउन सहज हुनेछ ।’ प्रदेशमा सरुवा भएर आएका नयाँ सचिवहरुमध्ये वीरबहादुर राईको आर्थिक वर्षको बीच अवधिमा बढुवा भएर उपल्लो तहमा जाने सम्भावना छ भने बाँकीको तत्काल बढुवा हुने र अवकास हुने सम्भावना छैन । यसले प्रदेश सरकारका मन्त्रालयहरुमा सचिवहरु छिटोछिटो परिवर्तन भइरहने समस्यालाई पनि समाधान गर्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर