लगानीको 'भर्जिन' क्षेत्र हाइड्रो : १७ कम्पनीमा कसले कति कमाए ?

काठमाडौं । जलविद्युत क्षेत्र लगानीका लागि 'भर्जिन' क्षेत्र मानिन्छ । जलविद्युतमा स्वदेश तथा विदेशी लगानीकर्ताबाट ठूलो लगानी भित्र्याउने कसरतमा सरकार लागेको छ । त्यसो त अहिले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले जनताको जलविद्युत कार्यक्रममार्फत ऊर्जा क्षेत्रमा लगानीका लागि आकर्षित गरिरहेका छन् । 

विगतमा सेयर बजारप्रति खासै चासो नराख्ने उच्च पदस्थ व्यक्तिहरुलाई समेत जलविद्युत क्षेत्रका कम्पनीहरुको सेयर खरिद गराउन सक्नु ऊर्जा मन्त्री पुनको सफलताका रुपमा लिन सकिन्छ । जनताको जलविद्युत कार्यक्रममार्फत स्वयंम मन्त्री पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, पूर्वसभामुख ओनुसरी घर्ती लगायतले लगानी गरिसकेका छन् ।

केही समय अगाडि गरिएको लगानीसम्मेलनमा विदेशी लगानीकर्ताहरुको समेत नेपालको पानीमा आँखा परिसकेको छ । नेपालमा लगानीको अपार संभावना रहेको साथै विदेशीको आकर्षणका रुपमा रहेको जलविद्युत क्षेत्रका कम्पनीहरुले के कस्तो प्रगति गरेका छन् त ? आर्थिक वर्ष २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा अधिकांश जलविद्युत कम्पनीको प्रगति सुधारोन्नोमुख देखिन्छ ।

१७ जलविद्युत कम्पनीहरुमध्ये दश कम्पनी पूर्णतया मुनाफामा देखिन्छ भने चार कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो नोक्सानीलाई घटाउँदै लगेका छन् अर्थात सुधारको क्रममा रहेका छन् । त्यस्तै दुई कम्पनीको मात्रै नोक्सानी बढेको देखिन्छ ।

यी कम्पनी मुनाफामा

अपि पावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ७ करोड ७३ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत अर्थात १ करोड ९५ लाख रुपैयाँले बढी हो । कम्पनीले आव २०७४/७५ मा ५ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । विद्युत बिक्री मार्फतको आम्दानी बढेसँगै समिक्षा अवधिमा अपिको खुद नाफामा बढोत्तरी भएको हो । खुद आम्दानीमा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अपिले प्रतिसेयर आन्दानी १ रुपैयाँ ४० पैसाले बढाएर ६ रुपैयाँ ४९ पैसा पुर्याएको छ ।

यता, बुटवल पावर कम्पनीले यो अवधिमा २७ करोड बढी खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ५३ करोड खुद नाफा गरेकोमा आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ८० करोड रुपैयाँ खुद नाफा आर्जन पुर्याएको छ । यो अवधिमा बुटवल पावरको बिजुली बिक्रीबाट गरेको आम्दानी स्थिर देखिए पनि अन्य स्रोतबाट आम्दानी वृद्धि हुँदा खुुद मुनाफा बढेको हो ।

युनाइटेड मोदी कम्पनीले ९ करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले मुनाफा ३६ प्रतिशतले बढाएको हो । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, रिडी हाइड्रो कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ४६ लाख ६५ हजार खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३१ द्यशमलव ५२ प्रतिशतले बढी हो । विद्युत बिक्री तथा अन्य आम्दानी समेत बढाउँदा खुद नाफा बढेको हो ।

हाइड्रोको खुद आम्दानीसँगै प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसाले बढेर ३ रुपैयाँ ५१ पैसा पुगेको छ । सिनर्जी पावर डेभलपमेन्टले गत वर्षको चौथो त्रैमासमा ६५ दशमलव ७३ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको असार मसान्तसम्म कम्पनीले २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । 

यो अवधिमा अरुण भ्याली हाइड्रोपावर कम्पनीले भने ५ करोड ३२ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३ करोड १९ लाख रुपैयाँले बढी हो । 

राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ११ दशमलव ३० प्रतिशतले बढाएको हो ।

अघिल्लो आर्थिक वर्षकोे चौथो त्रैमासमा कम्पनीले ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा राधीकोे खुद नाफा मा वृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । 

अरुण काबेली पावरले पनि यो अवधिमा नाफामा गएको छ । अघिल्लो आर्थिक वर्षमा १६ लाख १४ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको कम्पनी यो अवधिमा २८ हजार ५ सय ९२ रुपैयाँ नाफामा पुगेको हो ।

नेपाल हाइड्रो कम्पनीले समिक्षा अवधिमा १ करोड ९१ लाख नाफा कमाएको छ । अघिल्लो वर्षमा कम्पनीको नाफा १ करोड ९६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा नाफा स्थिर राखेको नेपाल हाइड्रोको प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ६४ पैसाबाट ७ रुपैयाँ ३७ पैसामा झरेको छ ।

यी कम्पनीले घटाए नोक्सानी

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीले २०७६ को असार मसान्तसम्ममा ५ करोड ३९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनी अघिल्लो आवमा १० करोड २९ लाख रुपैयाँ नोक्सानी थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना निर्माणमा ढिलाई हुँदा नोक्सानी देखिएको हो । निर्माण अवधि लम्बिदै जाँदा तामाकोशीले विद्युत बिक्री गरेर आम्दानी बढाउन सकेको छैन । कम्पनीले यसअवधिमा अन्य स्रोतमार्फत ५ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । खानी खोला हाइड्रोपावर कम्पनीले अघिल्लो वर्षको तुलनामा घाटामा केही कमी ल्याएको छ ।

अघिल्लो वर्ष कम्पनी १५ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको कम्पनी गतआर्थिक वर्षमा १४ करोड ६९ लाख रुपैयाँ घाटामा रहेको छ ।  युनियन हाइड्रोपावर कम्पनी समिक्षा अवधिमा एक करोड ७५ लाख रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्ष २०७४/७५ को असार मसान्तमा कम्पनी ४ करोड २६ लाख रुपैयाँ घाटामा थियो । २ करोड ५० लाखभन्दा बढीले घटाएको हो । दिव्यश्वरी हाइड्रो पावर यो अवधिमा पनि घाटामै रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ५७ लाख रुपैयाँ नोक्सानीमा रहेको दिव्यश्वरीको गतआवमा ३ करोड ३३ लाख रुपैयाँ नोक्सानी रहेको देखिन्छ । यसरी हेर्दा यो हाइड्रो पावर पनि क्रमश नोक्सानी कम गराउने दिशामा रहेको थाहा पाउन देखिन्छ ।

हिमालयन उर्जा विकास कम्पनीले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा नोक्सानी २० लाख रुपैयाँले नोक्सानी घटाएको छ । अघिल्लो आवमा २५ लाख १९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले गत आवमा ५ लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको  वित्तीय विवरण उल्लेख छ ।

यी कम्पनीको नोक्सानीको ग्राफ माथि चढ्दै

आँखुखोला हाइड्रोपावर कम्पनी भने अघिल्लो वर्षको तुलनामा थप घाटामा पर्दै गएको छ । समिक्षा अवधिमा कम्पनीको नोक्सानी ३ करोड ३४ लाख रुपैयाँ पुगेकोे विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को असार मसान्तमा कम्पनी २ करोड ६ लाख नोक्सानीमा थियो । यता, पाँचथर पावर कम्पनी लिमिटेड ७ करोड ८६ लाख रुपैयाँ घाटा रहेको छ । अघिल्लो आव २०७४/७५ मा कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ घाटा बेहोरेको थियो । समिक्षा अवधिमा कम्पनीको घाटाको ग्राफ अघिल्लो वर्षको तुलनामा २ करोड १३ लाख रुपैयाँले बढी हो ।

हिमालयन पावर पार्टनरको प्रतिसेयर आम्दानी शुन्य

एनआरएनको लगानी रहेको हिमालयन पावर पार्टनरको भने आइपिओ बिक्री गरेको दुई वर्ष बितिसक्दा समेत प्रतिसेयर आम्दानी शुन्य नै रहेको छ । एक अर्ब ६ करोड चुुक्ता पूँजी रहेको कम्पनीले लमजुङ्गको दोर्दी खोलामा २७ मेगावाटको आयोजना निमार्णको क्रममै छ ।

कम्पनीले आयोजना निर्माणकै क्रममा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु नभएकोले आम्दानी र खर्च नरहेकोले प्रतिसेयर आम्दानी र पिइ रेसियो गणना गनए नसकिएको जनाएको छ ।

एचआइडिसीएलको नाफा अर्ब माथि

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले असार मसान्तसम्म १ अर्ब १२ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३८ लशमव ७७ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा कम्पनीले ८० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । विभिन्न जलविद्युत आयोजनामा ३४ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।

एचआईडिसीएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा १४ अर्ब ६० करोड टम डिपोजिटमा राखेको छ भने ३६ करोड ६९ लाख रुपैयाँ बैंकमा मौज्दात राखेको छ । एचआइडिसीएलले टर्म डिपोजिटबाट मात्रै १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ ब्याज प्राप्त गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसाले बढेर १० रुपैयाँ १९ पैसा पुगेको छ । ११ अर्ब रुपैयाँ रहेको एचआइडिसीएल एक बराबर एक को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको छ ।

कम्पनीले ११ अर्बको हकप्रद निष्काशन गर्ने अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर