भब्य भयो विराटनगरको श्रीराधाकृष्ण रथयात्रा 

विराटनगर । एशियाका ठूला रथयात्राहरु मध्येमा गनिने विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यस पटक पनि भब्य र उत्साहपूर्णरुपमा मनाइएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा भगवान राधाकृणको मुर्तीसहितको सुन्दर र झकिझाउ रथलाई नगरपरिक्रमा गराउने प्रचलन छ । 

विराटनगरको सांस्कृतिक पहिचानको रुपमा स्थापित श्रीराधाकृष्ण रथयात्रामा यस पटक विगतको तुलनामा अधिक भक्तजनहरुको सहभागिता थियो । चुस्त सुरक्षा व्यवस्था मिलाएकै कारण रथयात्रामा विराटनगर आसपासका क्षेत्रबाट धेरै भक्तजनहरु आएका थिए भने सीमावर्ती भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु रथयात्रा अवलोकनकालागि आएका थिए । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले करिव ५ लाख भक्तजनहरु उपस्थित भएको दावी गर्दै आएको छ । 

विक्रम सम्वत १९८८ सालमा खटयात्राबाट सुरु भएको भगवान राधाकृष्णको तस्बिर परिक्रमा गर्ने परिपाटी २०२५ सालबाट रथयात्राको रुपमा प्रचलित छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकायबाट रथयात्राको सुरक्षाकालागि सत्र सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । यो ८९ औं खटयात्राको निरन्तरता हो भने आधुनिक रथयात्राको ५२ औं श्रृङ्खला हो । 

विराटनगर १ तीनपैनी स्थित श्रीराधाकृष्ण मन्दिरबाट अपरान्ह साढें ३ बजे सुरु भएको रथयात्रा प्रदेश प्रमुख गोविन्द तुम्वाहाङ, संघीय सरकारका मन्त्री लालबाबु पण्डित लगायतले बेलुन उडाएर शुुभारम्भ गरेका थिए । 

विराटनगरका करिव ८ किलोमिटर दुरीमा रथको परिक्रमा गर्ने प्रचलन छ । नगरका विभिन्न ४० स्थानमा रथ रोकेर पूजाअर्चना गर्ने व्यवस्था पनि समितिले मिलाएको छ । रथयात्रालाई भब्यता प्रदान गर्न हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । रथारोहणको मार्गमा हेलिकप्टरले तीन फन्का लगाएर पुष्पवृष्टि गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर