• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कैलाली जिल्ला कारागार : पालको टहरामुनि बस्न बाध्य छन् कैदीबन्दी

धनगढी । जिल्ला कारागार कैलालीलाई कारागारभित्र रहेका कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि कारागार परिसरमा अस्थायी टेन्ट निर्माण गरेर उनीहरूको व्यवस्थापनगरिएको छ ।

वर्षौंअघि बनेको कारागार भवनको एक सय ५० जना कैदीबन्दी राख्ने क्षमता हो । तर, हाल कारागारमा चार सय ९७ जना कैदीबन्दी छन् । सुत्ने ठाउँ नभएपछि त्रिपालले अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको जेलर महेन्द्रबहादुर खड्काले बताए । 

कारागारको भवन परिसरमा त्रिपाल राखेर १० वटा अस्थायी टहरा निर्माण गरिएको खड्काले जानकारी दिए । कैदीबन्दी थपिँदै गएपछि कारागार प्रशासनलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । 

‘एक सय ५० जना अट्ने क्षमताको कारागारमा झन्डै पाँच सय कैदीबन्दी छन्,’ जेलर खड्काले भने, ‘क्षमताभन्दा निकै बढी संख्या भएकाले उनीहरूलाई कसरी राख्ने भन्ने समस्या छ ।’

एक सयजना भन्दा बढी कैदीबन्दीलाई त्रिपाल लगाएर बनाइएका अस्थायी टहरामा राखिएको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र चार सय ५० जना पुरुष र ४१ महिला कैदीबन्दी तथा ६ जना आश्रित नाबालक छन् । यीमध्ये एक सय ९५ जना पुर्पक्षका लागि तथा अदालतले तोकेको धरौटी तिर्न नसकेर कारागार चलान गरिएका थुनुवा रहेका जेलर खड्काले जानकारी दिए ।

ठाउँ अभावमा खानपिन, सुत्न र शौचालयको निकै समस्या रहेको कैदीबन्दीले बताएका छन् । एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको एक कैदीले बताए । गर्मीमा अधिक गर्मी, जाडोमा अति जाडो र वर्षातमा भिज्नुपर्ने भएकाले कारागार सुधारगृह नभई यातनागृह बनेको कैदीबन्दी बताउँछन् ।

कैदीबन्दी बढी भएपछि सुरक्षा व्यवस्थापनमा समेत समस्या भएको बताइएको छ । महिला कैदीबन्दी व्यवस्थापनमा भने समस्या नरहेको जेलर खड्काले बताए । 

एउटै हलभित्र धेरै कैदीबन्दी कोचिएर बस्नु पर्दा रोगहरूको संक्रमणको खतरा रहने कारागारका कैदीबन्दीको उपचार गर्दै आएका सिनियर अहेव भक्त विष्टले जनाए । ‘छाला, श्वासप्रश्वासजस्ता सर्ने खालका रोग संक्रमण बढ्ने खतरा छ,’ उनले भने, ‘कैदीबन्दीहरू कोचिएर बस्ने गरेका छन् ।’ 

करिब सात दशकअघि बनेको कारागार हाल जीर्ण अवस्थामा छ । कैदीबन्दीको संख्या दिनानुदिन बढ्दै गए पनि कारागारमा नयाँ संरचना थपिन सकेको छैन । ठाउँको अभावमा कारागार प्रशासनको कार्यालय व्यवस्थापनमा पनि समस्या छ । कारागार प्रशासन रहेको भवन पनि वर्षामा चुहिने गरेको कर्मचारी बताउँछन् । 

क्षमताभन्दा कैदीबन्दीको संख्या बढ्दै गएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको भनेर कारागार विभागसहित सम्बन्धित पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको जेलर खड्काले बताए । उनका अनुसार केन्द्रीय कारागार विभागले कारागारभित्र भौतिक संरचना निर्माणको इस्टिमेट माग गरेपछि गत वर्ष भदौमा स्टिमेट पठाइएको थियो । ‘स्टिमेट पठायौँ तर अहिलेसम्म त्यसको सुनुवाइ भएन । संरचना थप गर्नेबारे जानकारी आएको छैन,’ खड्काले भने ।

बन्दीगृह, एकवटा गाडी, ब्यारेक, चेकपोस्ट, सेफ्टी ट्यांकीसहित महिला पुरुष शौचालय, कार्यालय भवनसहितका संरचनामा १२ करोड, ८२ लाख, ८४ हजार रुपैयाँ बराबरको लागत स्टिमेट पठाइएको कारागार प्रशासनले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैदीबन्दीको संख्या दिन प्रतिदिन बढ्दै गएकाले कारागारको भौतिक संरचनाले धान्न सक्ने अवस्था नरहेको बताए । ‘अपराध बढेका बढ्यै छन् । नयाँ भौतिक संरचना नबनाई हुँदैन,’ उनले भने, ‘यसबारे केन्द्रमा पनि कुरा राखेका छौं ।’ कारागार विभागको प्रमुख आउँदा पनि जिल्ला कारागारमा भौतिक संरचना थप गर्नेबारे छलफल गरिएको उनले बताए ।

कैलाली जिल्ला अदालतमा सुदूरपश्चिममा सबैभन्दा बढी मुद्दाको चाप हुने गर्छ । अदालतमा मुद्दाको चाप बढेसँगै कारागारमा कैदी बन्दीको संख्या पनि बढ्न थालेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर