• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रभावकारी बन्दै ‘बेटी बचाऔँ बेटी पढाऔँ’

वीरगन्ज । सातवर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो । तर, प्रदेश २ सरकारले ‘बेटी बचाऔँ  बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनी पनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् ।

प्रदेश २ को सरकारको यो महत्त्वपूर्ण  योजना आठवटै जिल्लामा लागू गर्नाका साथै टाढाटाढा रहेका छात्रालाई विद्यालयमा आकर्षित गर्न साइकल वितरण गर्न थालेपछि यो अभियानमाथि झन सुनमा सुगन्ध थपिएको अभिभावकहरूको ठम्याइ  छ । 

 छोरी पढाउँदा विवाहमा धेरै दाइजो दिनुपर्ने भनी छोरीलाई चुलोचौकामा सीमित राख्ने गरेका अभिभावक यो अभियान सञ्चालनमा आएपछि अहिले छोरीलाई पढाइतर्फ हौस्याउन थालेका छन् । 

वीरगन्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्द्रलाल कर्णले भने, ‘साइकल वितरण हुँदा विद्यालयभन्दा टाढा रहेका छात्राको अध्ययनतर्फ आकर्षण बढ्नाका साथै उनीहरूलाई विद्यालय आउन पनि सजिलो भएको छ । 

सोही अभियानलाई निरन्तरता दिन अहिले पुनः छात्राहरूलाई साइकल वितरण कार्यक्रम सुरु गरिएको छ । यसै क्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाका ४०  छात्रा र  बारास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (मदरसा) का ९२ छात्रालाई साइकल वितरण गरेका छन् । यसैगरी, विश्रामपुर गाउँपालिकाले सात लाख मूल्यबराबरको साइकल कक्षा ८ र ९ का ९५  छात्रालाई वितरण गरेको उद्योगपति अजय प्रजापति जानकारी दिएका छन् । 

प्रदेश २ का १ सय ३६ स्थानीय तहले यो अभियानलाई सार्थक पार्न प्रत्येक दिन साइकल वितरण कार्यक्रम गर्न थालेपछि विद्यालयभन्दा बाहिर रहेका छोरीहरूको विद्यालयप्रति आकर्षण बढ्दै गएको अभिभावक विजय पण्डितले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर