आर्थिक कारोबारको पहिचान गरेर मात्र बैँकमार्फत कारोबार गर्नुस् : गभर्नर नेपाल

पाल्पा । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक कारोबारको पहिचान गरेर मात्र बैँकमार्फत कारोबार गर्न आग्रह गरेका छन । 

नेपाल बैँक लिमिटेडको तानसेनस्थित भुसलडाँडामा एक्स्टेन्सन काउण्टरको उद्घाटन गर्दै गभर्नर नेपालले आर्थिक लाभ हुने कार्य गर्न र आर्थिक रुपमा सम्पन्न हुनका लागि बैँकसँग कारोबार गर्न सबैलाई आग्रह गरे ।

उनले बैंकमार्फत ऋण लिदा बैँकको नीति र प्रावधान बुझेर मात्र ऋण लिनुपर्ने बताए । कसैले नबुझी ऋण लिएको भनेर बैँकले छुट नदिने बताउदै बैँकले पनि कसैसँग पैसा लिएर अर्कालाई दिने भएको हुदाँ अनुदान सम्झेर होइन की ऋण लिएको पैसा लगानी गर्ने स्पष्ट भएर ऋण लिन सुझाव दिए । 

नेपाल बैँक लि. देशकै पुरानो बैँक भए पनि अहिले बजारमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम बैँकको रुपमा स्थापित भएको उनको भनाई छ । 

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बैँकले युवा, महिला, दलितहरूलाई स्वरोजगार बन्न सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए । बैंकले व्याज र ऋण घटबढ् हुने बेलामा सेवाग्रहीले थाहा नपाउने गुनासो बढिरहेकोतर्फ सचेत गराउँदै बैँकले ऋण र व्याज घट्बढ्का बारेमा सेवाग्रहीलाई जानकारी दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल राष्ट्र बैँक भैरहवाका निर्देशक राजेन्द्र भट्टराई, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, नेपाल बैँक लिमिटेडका ५ नं प्रदेश प्रमुख पाशाङ् दोर्जे शेर्पा लगायतले भुसलडाँडा क्षेत्रमा सुरु भएको एक्स्टेन्सन काउण्टरले मिसन अस्पतालमा आउने बिरामी, अस्पतालका कर्मचारी र बगनासकाली गाउँपालिकाका जनताले समेत सेवा पाउने बताए । बैंकको शाखा विस्तार भन्दापनि सेवालाई प्रभावकारिता बनाउनुपर्नेमा सहभागिहरुको जोड रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर