• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रधानमन्त्रीको सपना साकार पार्न जुटे दमकबासी

  • दमकमा ग्रिन बेल्ट सुरु
  • बाँधसँगै बगैंचा र फलैँचा
  • पर्यटकीय गन्तव्यका लागि याेजना बन्दै

 

झापा । नेपाल सरकारले चिनियाँ निर्माण टोलीको प्राविधिक सहयोगमा झापाका ९ वटा नदीमा ग्रिन बेल्टसहितको बाँध निर्माण गर्ने चर्चा पुनः ब्यूँतिएको छ । चिनियाँ निर्माण टोली झापाका नदीहरूको स्थलगत अवलोकनका लागि पटक–पटक झापासमेत आएका छन् । तर, उनीहरूले काम कहिले गर्ने हुन् त्यसको टुंगो लागिसकेको छैन । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भने स्थानीय सरकार र जनताको तटबन्धमार्फत काम सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित रतुवा खोलाको पुल भएको ठाउँबाट दक्षिणतर्फ ग्रिन बेल्टसहितको बाँध निर्माण गरिएको छ, जसले गर्दा यहाँ स्थायी तटबन्ध साथै हरित पेटिकासमेत बन्न थालेको छ ।

बाँधको दायाँबायाँ विभिन्न बिरुवा रोपिएको छ । फूलहरू फुलाउने क्रम सुरु भएको छ भने ठाउँठाउँमा आराम गर्नका लागि आल्मुनियमकका फलैँचासमेत निर्माण गरिएको छ । ‘हरित नगर समृद्ध नगर’ अभियानअन्तर्गत पनि यो काम गरिएको दमक नगरपालिका–८ का अध्यक्ष पशुपति गौतमले बताए ।

दमक–८ स्थित रतुवा खोलाको डिलमा पाँचवटा फलैँचा राखिएको छ । अगाडि खोला रहेकाले शीतल हावा र हरियाली वातावरणसँगै रतुवा पुलमा गुडेका सवारीसाधनको दृश्य देख्दा यस क्षेत्रमा आएर बस्ने जो–कोहीलाई पनि आनन्द हुने स्थानीय प्रेमप्रसाद मैनाली सुनाउछन् । 

‘दमकमा हरियाली सकिँदै गयो, त्यसमा पनि सडकमै जोडिएका ठाउँ उच्च अतिक्रमणमा पनि रहेका छन् । चाहे त्यस्ता ठाउँ नदीले कटान गरेर बिलीन भएका हुन् या त मानव बस्ती बसेर, तर दमकमा हरियालीसहितको खुला स्थान छैन,’ मैनालीले भने, ‘रतुवा खोलामा लगाइएको बाँधमाथि नै वृक्षरोपण, फुलको बगैंचा अनि आराम गर्ने फलैँचा भए पनि स्वच्छ हावा लिन किन टाढा जानुपर्यो ?’

जिल्लामै पहिलोपटक ग्रिन बेल्टको अवधारणाअनुसार यो कामको सुरुवात गरिएको नगरपालिकाको दाबी छ । नगरपालिकाले गत विश्व वातावरण दिवसको अवसरमा करिब ५० हजार रुपैयाँबराबरको बिरुवा रोपेर यो कामको थालनी गरेको जनाएको छ । वडाध्यक्ष गौतम भन्छन्, ‘यो अवधारणा प्रधानमन्त्री केपी शर्मा ओलीको हो, हामीले उहाँको सपना साकार गर्नका साथै नगरको सौन्दर्य बढाउन पनि यो कामको सुरुवात गरेका हौं ।’

स्थानीय यामप्रसाद चौलागाईंको घर रतुवा खोलाको किनारैमा छ । रतुवामा बनेको तटबन्धको ढिस्को नै उनको घरको आँगन हो । यो ठाउँमा ग्रिन बेल्टसहितको बाँध निर्मांण भएपछि अब रतुवाको बाढी र डुबानमा पर्नुनपर्ने उनको विश्वास छ । ग्रिन बेल्ट निर्माण भएपछि यहाँ आन्तरिक पर्यटनको सम्भावना रहेकाले स्थानीय स्तरमा रोजगारको अवसर सिर्जना हुन सक्ने समेत उनले आशा गरेका छन् ।

वडाध्यक्ष गौतमले रतुवालाई अलिक पूर्वतिर बग्ने बनाउन सकेमा त्यहाँबाट निस्कने खाली ठाउँमा खेल मैदान तथा पार्क निर्माण गर्न सकिने बताए । ‘विदेशमा समुद्रलाई बाँधेर जसरी पर्यटकीय र घुम्नलायक ठाउँ बनाउँछन्, त्यसैगरी हामी पनि रतुवामा त्यस्तै बनाउने योजनामा छौं,’ गौतमले भने, ‘त्यसका लागि केही समय लाग्ला, तर कामको सुरुवात भएको छ ।’

नगरको र वडाको मात्र बजेटले यो कामको सम्भव नभएकाले प्रदेश र केन्द्रीय सरकारसँग यो कामका लागि बजेट माग गर्ने काम गरिने वडाध्यक्ष गौतमले बताए । ‘केही समयमा प्रधानमन्त्री केपी शर्मा ओली दमकको नेकपा पार्टी कार्यालयको उद्घाटन गर्न आउँदै हुनुहुन्छ, त्यसै बेला यो कामको योजना पेस गर्ने योजनामा छौं,’ गौतमले भने, ‘अहिले सुरुमा पाँच सय मिटरमा ग्रिन बेल्ट सुरु गरेका छौं । यसै आर्थिक वर्षमा वडाको बजेटले भ्याएसम्म काम अगाडि बढाउँछाैं । वडाको सिमाना राजमार्गबाट करिब ३ किलोमिटर दक्षिणसम्म पर्ने भएकाले हामी यो कामलाई सम्पन्न नभएसम्म निरन्तरता दिइरहेनछौं ।’

अहिले दमक नगरपालिका, ८ नम्बर वडा कार्यालय र जनताको तटबन्ध कार्यक्रमअन्र्तगत आठ लाख रुपैयाँ लागतका यहाँ ग्रिन बेल्ट बनाउने कामको सुरुवात भएको वडा नम्बर ८ का सचिव निधिनारायण ढुंगेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर