• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

तीजमा सारी र गहनाभित्र लुकेका पीडा

हिजो–आज जापानका रेलहरूका डिब्बामा रातो सारीमा सजिएका नेपाली महिला साथै पार्क, रेस्टुरेन्टमा हुने नाचगान देख्दा जापानमा तीज दैलोमै आएजस्तो लाग्छ । 

हिन्दू नेपाली महिलाको महान् चाड तीजमा जापानका महिला पनि आफन्त जमघट नाचगान गरेर रमाइलो गर्छन् । विभिन्न समूह तथा संघसंस्थाले निःशुल्क दर खुवाउने तथा नेपालका कलाकारसँगै रमाइलो गराउने पनि गर्छन् । जापानको शिनओकुबोलाई ‘मिनी नेपाल’ समेत भनिन्छ । शिनओकुवो सेरोफेरोमा विशेषगरी तीजमा रातो सारीमा सजिएका महिला बाक्लै भेटिन्छन् ।

हिजोआज टोकियो, योकोहामा, नागोया, ओशाका, फुकोउका, लगाएतका शहरमा तीजका कार्यक्रम हुने गर्छन् । यसपालि तीजका लागि पशुपति शर्मा, मन्जु पौडेल, सम्झना भण्डारी, बद्री पंगेनीलगायतका कलाकार जापान आइसकेका छन् । जापान टोकियोमा ठूलो पार्कमा जम्मा भएर गर्न लागिएको तीज फेस्टिवल भने यसपालि पहिलो हो । डेस्टिनी क्रियसन र एनआरएनए जापानले आयोजना गरेको तीज फेस्टिवल भव्य हुने आशमा छन् आयोजक । 

त्यस्तै, खानागावा नेपाली कम्युनिटी जापानले पनि तीज फेस्टिवल राखेको छ । विभिन्न जिल्ला गाउँ–प्रदेशका समूहले पनि तीजको अवसरमा दर खुवाउने नाचगानका कार्यक्रम राखिरहेका छन् । आफ्ना परिवारबाट टाढा रहेर तीज मनाउन नपाएकाहरू आपसमा जमघट भएर दर खाने तथा रमाइलो गर्ने चलन छ । तर, काममा व्यस्तताका कारण राति ढिलोसम्म नाचगानका कारण होहल्ला हुँदा घरबेटीले घरबाट निकाल्ने डर पनि उत्तिकै हुन्छ । 

पछिल्लो समय जापानमा धेरै नेपाली महिला विद्यार्थी, डिपेन्डेन्ड, कामदारको रूपमा काम गरिरहेका छन् । नेपालीको संख्या बढेसँगै जापानमा दसैं, तिहार, तीजबारे पनि जापानी चासो राख्ने सहभागी हुने जापानीसँगै विदेशी पनि थुप्रै छन् । यहाँ तीजमा फेसबुक, टिकटक र ट्विटरमा देखिएको भिडियोले पर्वको रौनकतालाई भने देखावटी र भिन्न तथा भड्किलो बनाइदिएको छ । 

सँगै रेलहरूमा बाटो र पार्कहरूमा अरूलाई अप्ठ्यारो पर्ने गरी फोटो खिच्ने, टिकटक बनाउने र लाइभ गर्नेहरू पनि थुप्रै छन् । हाम्रो पहिरन, बोली, काम र प्रभावले देशको नाम जोडिने हँुदा अरूलाई समस्या नहुने गरी चाडपर्वमा रमाउन सिक्नुपर्छ । 

तीजका गीतमा देवताका नाममा गरिने आराधना, दुःखका समय, अधिकारका कुरा तीजको भाकामा गाएर नाच्ने चलन छ । प्रेमका भावना, समय र परिस्थितिका शिवको पूजा गरी श्रीमान्को दीर्घायुको कामना गरी व्रत बस्ने चलन छ । तीज व्रतको दुई–तीन दिन घरको कामको तयारी छोडेर नेपाली महिला खुसी भएर निस्कन्छन् । नेपालमा तीजका गीतमा महिला अधिकार तथा दुःख, वेदनाका कुरा समेटिएका हुन्छन् । यसले महिलालाई बोल्न र पीडा व्यक्त गर्ने शक्ति दिन्छ । 

जापानमा बस्दै आएकी पत्रकार पवनवर्षा शाह भन्छिन्, ‘विदेशमा बस्ने नेपालीहरू जापान होस वा अन्य मुलुकm हिन्दू महिलाहरूको एक मात्र ठूलो पर्व हो तीज । त्यसैले तीज आफ्नै मौलिकतामा रीतिरिवाज र परम्पराअनुसार मनाउँदा राम्रो हुन्छ । विदेसिएका नेपालीका बालबालिका पनि आमाबाबुसँग हुन्छन्, त्यसैले उनीहरूलाई आफ्नो मौलिक परम्पराअनुसार तीज मनाउन हौसला बढ्छ । नत्र भने मौलिकता र सांस्कृतिक परम्परा हराउँदै जान्छ ।’

हिजोआज तीजमा वेदनाका भन्दा आधुनिक र रमाइला गीतहरू धेरै बज्ने गरेका छन् । अरूबेला सामाजिक कार्यक्रममा पनि खासै ननिस्किने महिला तीजमा भने बाक्लै देखिन्छन् । पर्वमा संस्कारलाई निरन्तरता दिनु घरभन्दा बाहिर निस्किनु राम्रो पक्ष हो । गहना र महँगा साडीको प्रतिस्पर्धा नेपालमा भन्दा बढी विदेशमा देखिन थालेको छ । महँगा साडी र गहनाले छोपिएका महिलाका पीडा भने डरलाग्दा छन् । 

जापानमा बसोवास गरिरहेका गुल्मीका प्रकाश केसी जापानमा महिलालाई बाहिर निस्कन सहयोगी पुरुष हुनुपर्ने र महिला स्वयं पनि सिक्न जान्न उत्सुक हुनुपर्ने बताउँछन् । जापानमा सन्तान र परिवारबाट छुट्टिनुपर्ने बाध्यता, भाषाको समस्या, कामको व्यस्तता, जानकारीको अभावजस्ता समस्या नेपाली महिलामा छन् । धेरैले पीडा लुकाउँछन् । जापानमा विश्वविद्यालय सकेर काम गरिरहेकी जानुका खतिवडा भन्छिन्, ‘पढे–बुझेका महिला पनि बाहिर आउन डराउनुहुन्छ । सिक्ने र जान्न खोज्नेका लागी जापान अवसर हो । तीजको बेला राम्रा देखिने महिला अरू बेला पनि बोल्नुपर्यो ।’ लगातारको कामको थकान, अनिद्रा, एक्लोपनका कारण महिलामा बाँझोपन, स्वास्थ्य समस्या, गर्भपात, मानसिक पीडा जस्ता समस्या बढी देखिन थालेका छन् । 

जापानमा विशेषगरी महिलाहरू बिरामी भएको बेला अस्पतालमा भाषाका कारण सही समस्या राख्न नसक्दा बढी मानसिक रूपमा पनि पीडा हुने गरेको छ । तथ्यांक विभाग जापानका अनुसार सन् २०१८ को डिसेम्बरसम्ममा विदेशीको संख्या २४ लाखभन्दा बढी पुगिसकेको छ । सबैभन्दा धेरै चिनियाँ त्यसपछि कोरियन, भियतनाम, फिलिपिनो, र ब्राजिलियन छन् भने छैटौंमा नेपालीको संख्या छ । 

सन् २०११ मा २० हजार १ सय ३ जना नेपाली रहेको जापानको तथ्यांक छ । सन् २०१८ को अन्तिमसम्ममा नेपालीको संख्या ८८ हजार ९ सय ५१ पुगेको छ । सयभन्दा धेरै संघसंस्था नेपालीको सहयोगीका नाममा क्रियाशील छन् । तर ती संघसंस्थाहरूमा महिलाको नेतृत्व तथा सहभागिता न्यून छ । 

नेपालमा पढेका र सक्रिय बनेका महिला पनि जापानमा गुपचुप रहेका छन् । तीजमा महिनौंअघि देखि दर र नचाउनका लागि गरिने संघसंस्थाका कार्यक्रमभन्दा समस्यामा बोल्ने पीडा पोख्ने र समाधानका लागि सहयोग गर्न आकर्षित पार्ने तीज गीत प्रतियोगिता, अन्तक्र्रिया, बहस गरिदिने हो भने नेपाली महिलाका समस्या पनि कम हुन्छन् र महिलाको वैदेशिक बसाइ सहज बनाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर